– आभा निरु, सिन्धुपाल्चोक /

“कविता”
जब अङ्कुराउदै गर्दा कोख भित्र
मेटिएको मेरो अस्तित्व अझै
समाजको असमानताबीच
कानुनको फन्दाले पनि उकास्न नसकेको
म उहि खाडाल भित्र पुरिरहेको छु,
आफ्नै पहिचान हराइरहँदा
खै कसरी मनाउ म नारी दिवस ?

मेरी आमाको बाह्र बर्षको उमेरमा
रङ्गिएका सिउँदोले
अझै जीवनमा कुनै खुशिको रङ्गहरुले
पोतीननपाउदै जीवनको आधा उमेर
मनमा पीडा र चोट लिएर
जीवन यात्रामा एकल यात्री भनेर्
गल्ती गर्नेलाई महसुस गर्नै नपाइ
बाचिरहँदा मुटु जलाई जलाई,
खै कसरी मनाउँ म नारी दिवस ?

पल्लो गाउकी दिदी अझै
पलपल मरी बाचिरहेकी छिन्
दाइजो को नाम मा
आफ्नै जीवनसाथी ले दिएको पीडाले,
खै कसरी मनाउँ म नारी दिवस ?

धैरै भएको छैन उनको अस्मिता लुटिएको
अस्मिता सङ्गै मेटाएको उनको अस्तित्व
नभेटिएका ति नरपशु हरु
उनको आत्माले शान्ती नपाउदा नपाउदै
न्यायका लागी लड्दालड्दै
बिचलित भएकी आमासङ्ग
कुन खुसी साट्दै समाजमा
मनाउँ म नारी दिवस ?

देख्दिनँ समाजमा कतै
जीवन यात्रामा उनि पनि सहयात्री हुन भन्ने,
सोचेर उनको साथमा खुसी साट्नेहरु,
समय र नारी उस्तै बुझेर
उनका मनसङ्ग अनेक सपना साटी,
जिन्दगी लाई मोलमोलाइमा बेच्नेहरु माझ्
खै कसरी मनाउँ म नारी दिवस ?


तपाईको प्रतिक्रिया