मण्डनदेउपुर – काभ्रेको मण्डनदेउपुर–४ नयाँगाँउमा रहेको महाकाली माध्यामिक विद्यालयको प्राङ्गणमा आमाहरु टपरी गाँस्दै थिए । विद्यालयको चौरमा बिछ्याइएको सुकुलमाथि उनीहरुले टपरी सकेसम्म छिट्टो गाँस्नको लागि विद्यालयका विद्यार्थीहरुले हौसला प्रदान गरिरहेका देखिन्थे ।

केही आमाहरु कपासको धागो काटिरहेका थिए । उनीहरुको गतिविधी देख्दा विद्यालयमा ठूलै धार्मिक कार्य भैरहेको अनुभुती हुन्थ्यो । ‘त्यतीमात्रै कहाँ हो र केही आमाहरु लोकदोहोरी गितमा नाँचिरहेका थिए ।’ म्यूजिकल चेयर प्रतियोगितामा केही आमाहरु दौडिरहेका थिए । अघिपछि छोराछोरी र नातीनातीनाले गर्ने कार्य शुक्रवार महाकालीको प्राङ्गणमा आमाहरुले गरिरहेका थिए ।

प्रतियोगिताको प्रमुख अतिथी मण्डनदेउपुर नगपालिकाको उपप्रमुख निर्मला शाही रहेकी थिईन् । दुईसयभन्दा धेरै आमाहरु सहभागी रहेको कार्यक्रमको रोचक पक्ष के थियो भने उद्घोषक महिला,सभापति महिला, निर्णायक पनि महिला र प्रवचनपनि महिलावाटै रहेकाले कार्यक्रम रोचक थियो ।

आमा,हजुरआमा र दिदीहरुले गरेको कार्यलाई विद्यार्थीहरुले हौसला प्रदान गरिरहेका थिए । कार्यक्रम असाँध्यै रोचक थियो अनि कार्यक्रममा पुरस्कारको व्यवस्था विद्यालयले गरेको थियो भने आयोजना विद्यालयकै शिक्षिकाहरुले गरेका थिए । टपरी बुनाई प्रतियोगिताको नजिता आएपछि सबै अचम्मित बने । ८५ बर्षिया हजुरआमा मैया नेपालले प्रथम पुरस्कार हासिल गरिन् ।

घरको धार्मिक कार्यहरु, खाना खाजा खान टपरी गाँस्ने गर्दैै आएकोमा नातीको विद्यालयको प्रतियोगितामा प्रथम भएपछि प्रथम हुने हजुरआमा नेपालले भनिन् ‘ जीवनमा पहिलो पटक टपरी गाँसेर यो उमेरमा पुरस्कार थापे ।’ पछ्यौरा र काइयो पुरस्कार पाँउदा आमाहरु औधी खुसी देखिन्थे ।

अन्तराष्ट्रिय महिला दिवसमा महिला नेतृहरु भाषणसँगै प्रभातफेरीजस्ता परम्परागत कार्यक्रम गरिरहँदा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ४ मा रहेको महाकाली माध्यामिक विद्यालयमा भने विद्यालयका विद्यार्थीदेखि महिला अभिभावकहरु रचनात्मक कृयाकलापमा सकृयहुँदा जीवनमै पहिलो पटक यस्तो कार्यक्रममा सहभागी भएको सुनाउँदै थिए ।‘भाषण गरेर मात्रै हैन महिला दिवस पुरस्कार पाउने गरि पनि हुने रहेछ’ नृत्यमा प्रथम हुने शर्मिला ढकालले सुनाईन् ।

विद्यालयले हरेक छात्राहरुलाई आमालाई बोलाउने पत्र दिएको थियो । छोरीहरुले पत्र दिएसँगै आमाहरु विद्यालयमा आएको विद्यालयका प्राचार्य शिवकुमार पौडेलले सुनाए । ‘विद्यालयमा महिला हिंसाको प्रवचनसँगै आमा अभिभावकहरुको हौसला दिन प्रतियोगिता आयोजना गरेका हौ’ प्राचार्य पौडेलले भने । पुरस्कार समेत हामीले उहाँहरुलाई आवश्यक रहेको बस्तुमात्रै दिएका छौ उनले थपे ।

महाकाली माविले फरक ढंङ्गवाट सोच्ने भएकाले यो पृथक खालको कार्यक्रम गर्न सफल भएको विद्यालयका शिक्षक दीपक सापकोटाले सुनाए । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आफ्नो विद्यालयले फरक खालको कार्यक्रम आयोजना गरेको सापकोटाले बताए ।

विद्यालयले हरेक बर्ष अभिभावक दिवस गर्ने गरेपनि पुरुष अभिभावककै बाक्लो उपस्थिती रहने गरेकोमा नारी दिवसको अवसरमा महिला अभिभावकसँग छोराछोरीको अध्ययनको बिषयमा कुराकानी गर्ने अवसर समेत मिलेको सापकोटाले सुनाए । ‘हामीले यसलाई प्रतियोगितासँगै आमाहरुसँग छोराछोरीको पढाइको बिषयमा अन्तरंङ्ग कुराकानी गर्न पायौं ।’

विद्यालयको शिक्षिका अप्सरा हुँमागाईले विद्यालयका अभिभावकहरुसँग रहेको प्रतिभा बाहिर ल्याउन प्रतियोगिताको आयोजना गरेको बताइन् । प्रतियोगितमा पुरस्कार पाउने आमाहरुसँगै विद्यार्थीलाई समेत आफूहरुले सम्मान गरेको शिक्षिका हुँमागाईले बताईन् । एकातिर प्रतियोगिताको आयोजना अर्काेतिर आमा अभिभावकहरुसँग साक्षात्कार मौका नारी दिवसले प्रदान गरेकोमा शिक्षिका हुँमागाईले नारी दिवस सार्थक बनेको सुनाईन् ।

नारी दिवसको दिनमा नगरभरीका अरु विद्यालय बन्द भएपनि महाकाली माध्यामिक विद्यालयले भने फरक खालको कार्यक्रम आयोजना गरेकोमा अभिभावकसँगै विद्यार्थीहरु पनि औधी खुसी देखिन्थे । बत्ति काड्ने प्रतियोगितामा प्रथम भएकी अभिभावक बविता पौडेलले भनिन्‘ सामुदायिक विद्यालयले समेत यस्तो रचनात्मक कार्य गरेर हाम्रो मन जितेको छ ।’

सो अवसरमा विद्यालयमा अध्ययन गर्ने नौ जना शिक्षकशिक्षिकलाई सम्मान गरेको छ । त्यस्तै विद्यालय व्यवस्थापन समितिमा रहेर कार्य गरिरहनु भएका तीन जना महिला सदस्यसँगै चार ओटा प्रतियोगितामा १२ जना अभिभावकलाई सम्मान गरेको छ ।


तपाईको प्रतिक्रिया