काठमाडौं – लामो समयदेखि अध्यक्ष केपी ओलीलाई साथ दिँदै आएका नेता वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पछिल्लो स्थायी समितिको तेस्रो बैठक (२९ मंसिर–१२ पुस) सँगै उनीसँग ‘सम्बन्ध विच्छेद’ गरेका छन् ।

तत्कालीन एमालेको सातौँ महाधिवेशनयता ‘निर्णायक घडी’मा गौतमले ओलीलाई नै साथ दिँदै आएका थिए । गौतमले यसपटक भने बैठकमा ओली सरकार र पार्टी नेतृत्व दुवै मोर्चामा असफल भइसकेको निष्कर्षसहित फरक विचार पेस गरे । तीन महिनायता उनले ओलीलाई धोकेबाज पनि भने  । ओलीसँग आफ्नो मोहभंग भइसकेको बताउँदै आएका गौतमले अन्ततः फरक मत मार्फत राजनीतिक लाइनमा ‘सम्बन्ध विच्छेद’कै घोषणा गरेको चर्चा चलेको हो । गौतम स्वयंले सार्वजनिक र औपचारिक रूपमा यसबारे केही नबताए पनि पार्टी बैठकमा बाहेक अहिले ओलीसँग उनको संवाद टुटिसकेको छ ।

पछिल्लोपटक उनले ‘एक व्यक्तिः एक पद’ को विचार अघि सारे । दुई अध्यक्षमध्ये एकले सरकार सञ्चालन गरे, अर्कोले पार्टी चलाउनु पर्ने उनको मत छ । गौतमले ओलीलाई दुईतिहाइको दम्भ हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाएर देखाउन र उनीसँगको माया–प्रीति जुग–जुगसम्म कायम राख्न पनि चुनौती दिए ।

गौतमनिकट केन्द्रीय सदस्य केशवलाल श्रेष्ठले भने गौतमले फरक मत भन्दा पनि पार्टी र सरकार सञ्चालनका कमजोरी सुधारका लागि विचार राखेकाले टिप्पणी गरे । श्रेष्ठले दुई नेताबीचको सम्बन्धबारे अहिल्यै थप प्रतिक्रिया दिनु हतारो हुने बताए । ‘अहिल्यै प्रतिक्रिया दिइहाल्न हतारो हुन्छ, उहाँ (गौतम) को विचारलाई सिंगो पार्टीले रचनात्मक रूपमा लिनुपर्छ, उहाँहरू (ओली–गौतम) बीचको सम्झौता सम्बन्धी आन्तरिक मामिला के हो ? मैले बुझेको छैन, त्यसकारण धोका हो कि होइन, थाहा हुने कुरा पनि भएन,’ श्रेष्ठले भने ।
नयाँ पत्रिकाबाट


तपाईको प्रतिक्रिया