मनकामना – राष्ट्रपति विद्यादेवी भण्डारी बिहिवार मनकामना आउने कार्यक्रम तय थियो । सुरक्षा निकाय, उच्च पदस्थ, कार्यक्रम आयोजक र स्थानीयलाई उक्त खबरको जानकारी थियो । बिहिवार पुगेका भक्तजनलाई भने जानकारी थिएन, आखिर थाहा हुने कुरा पनि रहेन ।

राष्ट्रपति आउने भएपछि मन्दिर दर्शन गर्न गएका भक्तजनलाई विद्यालय भएतिरबाट लाईन लगाइएको थियो । सुरक्षा र मन्दिर परिसरमा भएको कार्यक्रमको सहजताका लागि सुरक्षाकर्मी र आयोजकले त्यस्तो ब्यवस्था गरेका थिए । भक्तजनलाई उच्च पदस्त ब्यक्ती आउने कुरा मन्दिरमा दुई घण्टा सम्म लाईन अगाडी नबढेपछि बल्ल थाहा भयो । राष्ट्रपति भण्डारी पोखराबाट हेलिकप्टरमा उड्नु अघिदेखि भक्तजनलाई मन्दिर छिर्न रोकिएको थियो ।

कार्यक्रममा सहभागी हुन आउने मान्छे आउनु भन्दा धेरै समय अघिदेखि रोकिनुपरेको भन्दै लाईनमा कुरेर बसेका भक्तजन आक्रोशित भएका थिए । मन्दिर छिर्न पाउनुपर्छ पुजा गर्न पाउनुपर्छ भन्ने आवाज लाईनमा बस्नेहरुले उठाईरहे । तर त्यो भिडमा भक्तजनको आवाज सुन्ने कोही थिएन । नजिकै रहेका सुरक्षाकर्मी सुने नसुनेझैँ गरिरहे । केही उपाए नलागेपछि पहिलो पटक मनकामना पुगेका भक्तजन पनि पुजा गर्ने आश मारेर सुरक्षाकर्मीलाई फुल अक्षता दिएर मन खिन्न बनाउँदै फर्किए ।

काठमाण्डौँबाट मनकामना मन्दिर दर्शन गर्न पहिलो पटक आएकि ७६ वर्षिया कान्छी कार्कीले गुनासो गर्दै भनिन् ‘दुई घण्टा बसेँ, पालो आएन, म मात्रै होईन, एक सय ५० जना जेष्ठ नागरिक आएका छौँ, कति समय कुर्नु ? ’ पुजा गर्न नपाएपछि फर्कँदै गरेकी उनले भनिन् । उनी जस्तै धेरै भक्तजन निराश हुँदै मन्दिरमा पनि नपुगी बाहिरबाटै फर्किए । कारण थियो बिहिवार राष्ट्रपतिको सवारी मनकामनामा थियो ।
नागरिकबाट


तपाईको प्रतिक्रिया