काठमाडौँ – एपिएफ क्लबका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाई मदन भण्डारी स्मृति पाँच किलोमिटर सडक दौडमा पहिलो भएका छन् । अजितले निर्धारित दूरी १५ मिनेट ४९.१ सेकेन्डमा पूरा गर्दै प्रथम भए । एपिएफकै सन्तोषविक्रम विष्ट १५ मिनेट ५९.८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र खिमबहादुर खत्री १६ मिनेट ३७.९ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए ।

महिलातर्फ राजपुराले १८ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै प्रथम भइन् । काठमाडौँकी सन्तोषी श्रेष्ठले १८ मिनेट २३.७ सेकेन्ड तथा एपिएफकी फूलमति रानाले १९ मिनेट २१.१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु २०, १५ र १० हजार नगद पुरस्कार पाए । मदन भण्डारी स्पोर्टस एकेडेमी र रन क्लबद्वारा संयुक्तरुपमा आयोजित दौडको स्कुलतर्फ छात्रमा सिग्मा प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोस्रो र श्री गणेशका नवीनकुमार कार्की तेस्रो भए । उक्त स्पर्धाको छात्रामा प्राइम ग्लोबलकी जुनिल सुनुवारले स्वर्ण, जेसिजकी श्रयस्का सिल्पकारले रजत र पञ्चकन्याकी सोनु घतामीले कास्य हात पारे । दुवै स्पर्धाका विजेतालाई रु १५ हजार, उपविजेतालाई रु १० हजार र तेस्रोलाई पाँच हजारका दरले नगद पुरस्कार प्रदान गरियो । दौड लैनचौरबाट शुरु भई पुनःत्यही आएर टुङ्गिएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक एकेडेमीका महासचिव वचन देउजा, प्रतियोगिता संयोजक सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसी र सागको म्याराथनमा लगातार तीन स्वर्ण जितेका पूर्वधावक वैकुण्ठ मानन्धरलाई जनही रु १० हजारसहित सदस्य–सचिव विष्टले सम्मान गर्नुभयो ।

कार्यक्रममा करातेका पर्शुराम बाँस्तोला, दीपक श्रेष्ठ र महेश रञ्जीत, डा खगेन्द्रबहादुर श्रेष्ठ, फुटबलका मुकेश शाही र अञ्जित बस्नेत, तेक्वान्दोका विधान लामा, भेट्रान धावक रामकृष्ण महर्जन तथा नेपाल भारोत्तोलन सङ्घका उपाध्यक्ष रामकृष्ण श्रेष्ठलाई पनि प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।


तपाईको प्रतिक्रिया