काठमाडौँ – भारत र पाकिस्तानबीच तत्काल युद्धको सम्भावना टरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने बताएका छन् । मंगलबार भारतीय विमानले पाकिस्तान नियन्त्रित कास्मिरमा बम वर्षा गरेको थियो । बुधबार पाकिस्तानले भारतीय विमान खसाएर वायुसेनाका विङ्स कमान्डर अभिनन्दन वर्तमानलाई पक्राउ गरेपछि दुई देशबीच युद्धको खतरा उत्पन्न भएको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीले बिहीबार शान्तिका लागि आह्वान गर्दै ती पाइलटलाई मुक्त गर्ने बताए । पाइलटलाई शुक्रबार पन्जाबको वागा सीमानाकाबाट मुक्त गरेर घर फर्काइनेछ ।

यससँगै युद्धको खतरा टरेको विश्लेषकहरूले बताएका छन् । ‘युद्धको सम्भावना टरेको छ । तर तनाव केही समय रहिरहन्छ,’ भारतीय रक्षा विश्लेषक राजीव शर्माले नयाँदिल्लीबाट टेलिफोनमा भने । नेपाली सेनाका पूर्वउपरथी एवं रक्षा विश्लेषक बिनोज बस्न्यातले पनि युद्धको सम्भावना टरेको प्रतिक्रिया दिए । सामरिक मामिला जानकार गेजा शर्मा वाग्लेले युद्धको सम्भावना टरे पनि भारतको आमचुनावसम्मै तनाव जारी रहन सक्ने बताए ।

कास्मिरको पुलवामामा २ फागुनमा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंककारी हमलापछि भारत–पाकिस्तानबीचको तनाव आक्रमण–प्रत्याक्रमणको तहमा पुगेको थियो । नयाँ पत्रिकाबाट


तपाईको प्रतिक्रिया