धुलिखेल – स्थानीय सरकार र खानी विभागको नाम देखाउँदै जिल्लामा क्रसर र खानी उद्योगका बिषयमा भाग्दै आएको जिल्ला समन्वय समितिले अवैधानिक रुपमा दर्ता भएका क्रसर र खानी उद्योगका सम्बन्धमा कस्तो रणनीतिमा उत्रिएला आम काभ्रेली जनताको चासो त्यसमा केन्द्रीत भएको छ ।

यसअघि क्रसर र खानीहरुले उपलब्ध गराउने गाडीमा चढेर उनीहरुले खुवाएको खाजा खाएर जिल्ला स्तरिय अनुगमन हुने भएपनि यो पटक भने जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा बनेको उपसमितिले गरेको अनुगमनमा व्यवसायीको ‘सौजन्य’ नघुसेकै कारण जिल्ला समन्वय समितिले यसलाई कसरी अघि बढाउला भन्ने चासो क्रसर र खानी पिडितहरुले गर्नु स्वभाविकनै हो ।

काभ्रेपलाञ्चोक जिल्लामा दर्ता रहेका क्रसर उद्योगहरुले मापदण्ड पुरा नगरेको जिल्ला समन्वय समितिले गठन गरेको प्राविधिक समितिले प्रतिवेदन बुझाएको छ । प्राविधिक समितिले बुझाएको प्रतिवेदनमा काभ्रेमा खानी तथा पानी एकै ठाँउमा हुन नसक्ने अडान संघिय सांसद एंव सरकारका प्रवक्ता संञ्चार सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटा र गंगाबहादुर दोङले सार्वजनिक घोषणा गरे अनुसार मिल्न जान्छ ।

काभ्रेमा फिरफिरेमा दर्ता गरेर क्रसर चलाउने, अनुमती बिनानै ढुंगा खानी संचालन गर्ने काम भैरहेको गुनासो आएपनि जिल्ला समन्वय समिति निरिह बन्दै खानी र क्रसरको बिषयमा बोल्न सकेको थिएन । काभ्रे जिल्लामा सञ्चालन भएको सबै क्रसर उद्योगहरू मापदण्ड विपरीत रहेको जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उप–समितिले जनाए पनि प्रतिवेदन भने अझै सार्वजनिक हुन सकेको छैन । बैठकमा सहभागीहरुले सबै क्रसर उद्योगहरु रहेको प्रतिवेदन बुझाएको बताएका छन् ।

जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिले गठन गरेको प्राविधिक उपसमितिले काभ्रे जिल्लामा रहेका क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग मापदण्ड पुरा नगरेको प्रतिवेदन बुझाएसँगै यसले जिल्लामा नयाँ तरंङ्ग सृजना भएको छ ।

शुक्रवार जिल्ला समन्वय समिति बुझाएको प्रतिवेदनमा नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधीको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको जनाएको छ भने काभ्रे जिल्लाा २३ ओटा क्रसर उद्योगहरु संचालनमा रहेका छन् । जिल्ला समन्वय समितिले जिल्ला समन्वय अधिकारी कोमलप्रसाद धमला संयोजक तथा जिल्ला समन्वय समितिका सदस्य, स्थानीय प्रशासनका प्रशासकीय अधिकृत तथा डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, नापी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि रहेको प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित सबै क्रसर मापदण्डविपरीत सञ्चालनमा भएको प्रतिवेदन शुक्रवारको बैठकमा पेश गरेका थिए ।

प्रतिवेदनमा काभ्रेको मण्डन देउपुरमा एउटा र पनौती नगरपालिकाको कोलाँती क्षेत्रमा दुई वटा क्रसर बिना दर्ता सञ्चालनमा आइरहेका छन् । जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले वन, नदी÷खोलाको हकमा ‘जिपिएस’ प्रणालीको आधारमा दूरी मापन गरेर अघि बढ्ने बताए । संयोजक केसीका अनुसार ‘बिनाअनुमति सञ्चालित दुई वटा क्रसर तत्काल बन्द गर्छौ, अन्यको हकमा कानूनी व्यवस्था हेरी थप कागजात मागेर बन्द गर्ने प्रक्रियामा लाग्छौँ ।’ उनका अनुसार प्रतिवेदनमा अधिकांश क्रसर नदीसँगै, विद्यालय र जङ्गल नजीक सञ्चालित भएको, चार वटा क्रसरको खानी दर्ता नभएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको पनि उल्लेख गरिएको छ ।

शुक्रवार भएको बैठकमा संघिय सांसद गङ्गाबहादुर दोङले कानूनसम्मत सञ्चालन नगरेका क्रसरलाई माया गर्ने ठाउँ नभएको बताए । उनले भने, ‘कानून विपरीत सञ्चालितलाई निर्मम निर्णय गर्नुस्, बन्द गर्नुपर्ने भए खुट्टा नकमाउनुस्, तपाईंहरुको साथमा हामी छौँ ।’ उनले क्रसरका कारण साना ठूला नदीहरु प्रदूषण भएको बताए । तर केही दिनअघि व्यवसायीहरुले रोशी,कोशी र इन्द्रावतीमा क्रसर उद्योग बाहेक केही पनि उद्योग संचालन गर्न नसक्ने भन्दै पैसाले हरेक बस्तु किन्न सक्ने दावी गरेका थिए ।

शुक्रवार जिल्ला समन्वय समितिको बैठकमा प्रदेश सांसद रत्न ढकाल र चन्द्र लामाले प्रदेश सरकारको मापदण्डअनुसार नचलेका क्रसरलाई तत्काल बन्द गर्नुपर्ने बताए । ढकालले भने, ‘क्रसरलाई अब स्थानान्तरण मात्रै गर्न दिन सकिन्छ, मापदण्ड सच्याउन सकिन्न ।’ काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले अवैधानिक रुपमा सञ्चालित क्रसरले नदी दोहन भइरहेको, नदीजन्य पदार्थ राती चोरी–निकासी भइरहेकाले मापदण्ड पूरा गर्न समयसीमा दिएर नियमन गर्न सकिने बताए ।

स्थानीय बासिन्दाले उद्योगको कारण थाकथलो छोड्ने अवस्थान सृजना भएको बताए । घाटमा मरेपछि सतगती गर्ने ठाँउ समेत क्रसरले छाँडेका छैनन् । मापदण्ड विपरितका उद्योगलाई समन्वयले रोक्न सक्ला की नसक्ला भन्ने प्रश्न गम्भिर रुपमा उब्जिएको छ । अनुगमनलाई आर्थिक कुराले असर पार्ने भएकाले समन्वय समितिले केही गर्न नसक्ने स्थानीयले आरोप लगाउने गरेका छन् ।


तपाईको प्रतिक्रिया