धुलिखेल – तेमालको पोखरी नारायाण स्थानमा आगामी फागुन ३ र ४ गते प्रदेशस्तरीय मुवा थाई प्रतियोगिता हुने भएको छ ।

मुवा थाई सङ्घ काभ्रे जिल्ला शाखाको आयोजनामा २ दिने मुवा थाई प्रतियोगिता हुने भएको छ । खेलमा पाँच जिल्लाका ६० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कठिन मार्सल आर्ट भएकाले यसमा खेल अवधिभरिका लागि प्रतिखेलाडी रु एक लाखसम्मको बीमा गरी प्रतियोगिता आयोजना गरेको काभ्रे शाखा अध्यक्ष बज्र लामाले बताउनु भयो ।

खेलको माध्यमबाट ग्रामीण भेगलाई चिनाउने र त्यहाँका युवालाई पनि यस खेलमा आकर्षित गरेर संस्थागत विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ ४८ केजीदेखि ५१ केजी तौल समूह र ५३ केजीदेखि ५७ केजी तौल समूहबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ५१ केजी तौल समूहको प्रतिस्पर्धा हुने जनाइएको छ ।

उक्त खेलमा प्रथम हुने खेलाडीलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले पहिलोपटक बीमाको व्यवस्था गरी गर्न लागिएको प्रतियोगिताले खेलाडीको मनोबल बढ्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया