बुटवल – प्रदेश ५ को छिमेकी जिल्ला सल्यानमा एक महिलाले प्रेमीसँग मिलेर आफ्नो नाबालक छोराको हत्या गरेको खुलासा भएको छ । गत पुस २८ गते आफ्नै ४ वर्षीय छोरालाई बिष सेवन गराई हत्या गर्ने एक महिलालाई जिल्ला अदालत सल्यानले पूर्पक्षका लागि  थुनामा राख्ने आदेश  दिएको हो ।

जिल्लाको छत्रदेव गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षीया यमुना केसीले ४ वर्षीय छोरा समिर खत्रीलाई पुस २८ गते बिहान ७ बजे सेल्फास नामक विषादी खुवाएर हत्या गरेको अभियोगमा अदालतले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको सल्यानका प्रहरी  प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

‘निजका श्रीमान भारतको रोजगारीमा थिए, यता श्रीमतीले ईमोमार्फत काठमाडौं तिरको केटासँग अविवाहित छु भन्दै प्रेम सम्बन्ध राखेकी रहिछन्’, डिएसपी शाहीले भने– ‘गत दुईचार महिनासम्म निरन्तर फोनमा कुरा हुँदै आएको रहेछ, त्यसैले छोराको त्यसरी हत्या गरेको उनले स्वीकार गरेकी छन् ।’ त्यसको एक हप्ताअघि मात्र उनका श्रीमान लिलाधर खत्री भारतबाट घर आई फर्केको डिएसपी शाहीले बताए ।

यसरी खुल्यो रहस्य 
ती बालकको मृत्युबारे सुरुमा अर्कै भ्रम फैलाइएको खुलासा भएको छ । ‘प्रेत लागरे वान्ता गर्दै मृत्यु भएको भन्दै सामुदायिक वनमा गाडिएको थियो ती बालकको शव’ डिएसपी शाही थप्छन्– ‘त्यस दिन बिहान ती महिलाले छोरालाई उक्त विषादी खुवाएपछि बालकले वान्ता गर्न थाले । घरमा सासु–ससुरा थिए ।  किन वान्ता गर्यो नातीले भनेर सासु–ससुराले सोधेपछि ती महिलाले केही लागेर होला क्यारे भनिन् ।’

उनका ससुराले अस्पताल जाउँ भनेर बुहारीसहित बालकलाई लिएर श्रीनगर भन्ने स्थानको अधिकारी बन्धु पोलिक्लिनिकमा जचाउँन पुगे । त्यहाँ पुग्दा डाक्टरले बालकलाई मृत्यु घोषणा गरे । उनीहरु बालकको शव लिएर घर आए ।

त्यसपछि गाउँवासीहरु जुटेर अलि तलको सामुदायिक वनमा लगेर बालकको शव गाडेर फर्किएको डिएसपी शाहीले बताए । त्यसदिन राती त्यहाँ आएका उनका माईती पक्षका मानिसहरु पनि त्यहीँ सुते । ती महिलाको कोठामा विषादीको दुर्घन्ध आएर हेर्दै जाँदा बालकलाई खुवाईएको आधा ट्यव्लेट फेला पारेका थिए ।

त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । खबर गरिएलगत्तै पुगेको प्रहरीले सोधपुछका लागि यमुनालाई नियन्त्रणमा लियो । पछि यमुनाकै ब्राभित्र लुकाएर राखेको सोही विषादीको डब्बासमेत फेला परेको प्रहरीको दाबी छ ।  यमुनाले यी सबै कर्तुत प्रहरीसामू बताएकी छन् । डिएसपी शाहीका अनुसार उक्त घटनादेखि यमुनाका प्रेमी भनिएका युवा बेखबर रहेका छन् ।


तपाईको प्रतिक्रिया