धुलिखेल – एक साता नपुग्दै अर्को पश्चिमी वायू नेपाल प्रवेश गरेकाले देशको मौसममा बदली भएको छ । हिजो देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएको थियो भने आज पनि धुलिखेल सहित देशभर बिहान नै बाट बर्षा भईरहेको छ । हिउँदे बर्षा हिजोबाट सुरु भएको र यो क्रम आइतबार सम्म जारी रहने मौसमविद्हरुले बताएका छन् ।

‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू-भागमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘उपत्यकामा आज बिहानबाट पानी परिरहेको र दिउँसो पनि बादल लागिरहने छ । गत पुस २३ गतेयता हप्तैपिच्छेजसो पश्चिमी वायू आइरहेको छ। पश्चिमी वायूको प्रभावले पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो।

माघ पहिलो साता आएको अर्को पश्चिमी वायूको प्रणालीले देशभर कहीँ वर्षा र कहीँ भारी हिमपात भएको थियो। त्यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो। त्यसले माघ ११ र १२ गते वर्षा गराएको थियो। त्यसको प्रभाव नसकिँदै अर्को प्रणालीले गत बुधबारदेखि चिसो बढाएको थियो। महाशाखाका अनुसार यसपालि आएको पश्चिमी वायूको यो पाँचौं प्रणाली हो।

‘पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन। यसपालि लगालग आइरहेको छ,’ मौसमविद् सुवास रिमालले भने। नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ। ‘निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन। तर यसले उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बर्खा गराउँछ,’ रिमालले भने,‘मनसुन सकिनासाथ सुरू हुने यो प्रणाली मनसुन सुरू नभइउन्जेल आउन सक्छ। कुनै वर्ष धेरै आउँछ, कुनै वर्ष थोरै आउँछ। यसपालि धेरै आइरहेको छ।’


तपाईको प्रतिक्रिया