धुलिखेल – एउटा घर किन बनाइन्छ । नक्सापास नगरपालिकामै गएर किन निकाल्निछ । घर सुरक्षित भयो भने शहर पुरै सुरक्षित हुने योजनाले हरेक नगरमा सेवा सुविधा प्रदान गरेर इञ्जिनियर समेत राखिएको हुन्छ ।

उसले नक्सापास हुने समयमा घर बनाउँदा सुरक्षाको उपायको बताएर पठाउनु पर्ने हुन्छ । तर काभ्रेको सदरमुकाम धुलिखेलमा निर्माण गरिरहेको घरको रड खसेर सडकमा यात्रा गरिरहेका पैदलयात्रुलाई लाग्दा उपचारको क्रममा उनको मृत्यु भएसँगै अब उनको मृत्युको जिम्मेवारी कसले लिने भन्ने गम्भिर प्रश्न उब्जिएको छ । घर बनाउन स्विकृत दिने नगरपालिका, घर बनाउन जिम्मेवारी लिने ठेकेदार वा घरको स्वामित्व रहेको घरधनीले त्यसको जिम्मेवारी लिने । यसको उत्तर कसैसँग छैन । घर निर्माणको स्विकृत स्थानीय सरकारहरुले दिने भएपनि प्रभावकारी ढंङ्गवाट अनुगमन हुन नसक्दा काभ्रेका अधिकाशं ठाँउहरुमा निर्माणाधिन घरहरुकै कारण जोखिम बढेको छ ।

काभ्रेमा आफू सबै कुरामा अब्बल रहेको दावी गरिरहेको धुलिखेल नगरपालिका आफ्नो नगरभित्र निर्माण भैरहेका घर बनाउँदा मजदुर तथा पैदल यात्रुहरुको लागि जोखिम बढिरहेको छ । तर नगरपालिकाले त्यसको सही रुपमा उत्तर दिन सकेको छैन । धुलिखेल नगरपालिकामा ईञ्जिनियर हरेराम हुँमागाईले निर्माण व्यवसायीहरुलाई बोलाएर सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको दावी गरेका छन् । तर उनले त्यो दावी गरिरहदा उनकै नगरपालिकाको गेट नजिकै बन्दै गरेको घरले सुरक्षा नअपनाउँदा एक पैदलयात्रीको मृत्यु भैसकेको छ । आईतवार काभ्रेको सदरमुकाम धुलिखेल–७ सरस्वती बजारस्थित सुवर्ण श्रेष्ठको घर बनाउने क्रममा माथि बाट फलामको रड खसी पैदल यात्री महाभारत गा.पा ४ घर भई हाल बनेपा डेरा गरी बस्ने बर्ष ५५ को देबी बहादुर ठाडामगरको टाउकोमा लागी घाईते भई उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ । मृतक महाभारत गा.पा.४ घर भएका बर्ष ५५को सोही वडाको वडा सदस्य समेत हुन् । प्रहरीले उनको मृत्यु भएपछि घरमा काम गर्ने कामदारहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बाँके जिल्ला रप्ती सुनारी गा.पा.४ घर भएका बर्ष १९को बिनोद कुमार थारु र दाङ गरुवा गा.पा.१ देउखुरी बस्ने श्रीकृष्ण चौधरीको छोरा बर्ष४०को भिम बहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भक्तपुर भक्तपुर न.पा.२ घर भएका बर्ष ४९को कृष्णराम अवाललाई भने नियन्त्रणमा लिएको छैन भने घरधनीलाई सोधपुछ समेत गरेको देखिदैन । धुलिखेलको घटनमा एकपक्षको मात्रै दोषी छैन । धुलिखेल नगरपालिकाले समेत नक्सापासको स्विकृती दिदा अनिवार्य रुपमा सुरक्षा अपनाउन घरधनीलाई निर्देशन दिन नसक्दा दुर्घटना भएको स्थानीयले बताएका छन् । घरधनीहरुले समेत सकेसम्म सस्तोमा निर्माण व्यवसायीलाई काममा लगाउन खोजेकै कारणले काभ्रेमा जोखिम बढेको हो ।

अत्याधिक प्रतिस्पर्धा हुने भएकाले सस्तोमा काम गर्ने निर्माण व्यवसायीहरुको संख्या धेरै भएकाले प्रतिस्पर्धामा उनीहरुले सुरक्षाको उपायको बारेमा सोचेका हुँदैनन । काम पाए भयो गर्ने बाहेक उनीहरुकै मजदुरको सुरक्षा र पैदलयात्रुको सुरक्षाको प्रवन्ध गरेका छैनन् । आईतवार काभ्रेको सबैभन्दा व्यस्त मानिने र जिल्ला प्रशासन कार्यालयमा जाने सडकमा रड खसेको घरमा समेत कुनै पनि सुरक्षा अपनाउनु ठेकेदारको दोषी देखिन्छ । त्यस्तै घरवेटीले पनि आफनो निर्माण भैरहेको घरको सुरक्षा अवस्थाको बारेमा जानकारी लिने गरेका छैनन् । तारजाली राख्दा खर्च हुने भनेर उनीहरुले त्यसमा चासो नदिदा जोखिम नराम्रोसँग बढेको हो । तर प्रशासन भने फितलो किसिमले अनुशन्धान गर्ने गरेकोछ । आईतवार मात्रै सोही घर निर्माणकै क्रममा रड खस्दै आएको थियो ।

स्थानीयहरुले पटक पटक दुर्घटना घट्न सक्ने संकेत गरेपनि घरधनीले त्यसको वास्ता गरेका थिएनन् । घरधनीको पेलाहा नितीको कारणले यस्तो घटना घटेको एक स्थानीयले बताए । घरधनी सुवर्णकाजी श्रेष्ठले खर्च हुने देखेरनै सुरक्षाको केही पनि उपाय नअपनाएको देखिन्छ । छतमा ढलान गरेपछि सोही घरमा पानी हाल्न लागेको समयमा समेत सडकमा हिडिरहेको यात्रुलाई भिजाउने तरिकाले पानी हालेको गुनासो गरेपनि घरधनीले चासो दिन सकेका थिएनन् ।


तपाईको प्रतिक्रिया