रत्न लामा, नेता नेपाल कम्युनिष्ट पाटी

सबैको भलो चाहने घरमा असल सन्तानलेमात्रै जन्म लिनेछ । आफ्नो समुदाय वर्ग र सँस्कृतीको लागि उसले निरन्तर सामाजिक सेवामा तन र मन लगाउने छ । काभ्रेका नेपाल कम्युनिष्ट पाटीका नेताहरुमा त्यो विवेकी गुण भएकै कारणले काभ्रेली जनताले नेपाल कम्युनिष्ट पाटीलाई निरन्तर माया गरिरहेका छन् ।

काभ्रेको कम्युनिष्ट आन्दोलनमा नमोबुद्ध नगरपालिका–८ छत्रेबाँझका रत्न लामाले गरेको योगदानको कदर हुनेमा काभ्रेली जनता आशावादी छन् । नमोबुद्ध नगरपालिकाका स्थानीय जनतालाई भरलाग्दो, आशालाग्दो र सबैले मन पराउने नेतृत्वको रुपमा रत्न लामालाई लिने गरेका छन् ।

सपनामा समेत रत्न लामालाई नमोबुद्धका जनतालाई खानेपानी र सिंचाई कसरी पु¥याउन सकिन्छ भनेर झस्काउने गरेको सुनाउँछन् । सामाजिक काम भनेपछि मरिहत्ते गर्ने उनको बानीले उनी काभ्रेमै धेरैको प्रिय छन् । उनको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । धेरै कुरामा उनले नेतृत्वदायी भुमिका निर्वाह गरेकै कारण नमोबुद्धका युवाहरुको आर्दश पिता बनिरहेका छन् रत्न ।

दाप्चाको छत्रेबाझ गाविसमा २०१८ साल माघ १ गते जन्मिएका लामा सानैदेखि समाजसेवामा रुची राख्थे । लामा परिवारमा जन्मिएकाले धर्म कर्म र सामाजिक सेवा बिनाको जीवननै राम्रो नहुने उनको परिवारले बुझेको थियो । जानेर कसैको पनि चित्त दुखाउनु हुन्न भन्ने उनको सोच थियो ।

उनका बुबा आफै बौद्ध धर्ममा अनुयायी थिए । छोईसाङ लामा रत्न लामाको पितालाई सबैले गुरुको रुपमा सम्मान गर्थे । त्यो घरमा जन्मनुनै रत्नको सामाजिक कार्यको एउटा ढोका थियो । ‘आमा सुर्यमाया लामाले उहाँहरुलाई संस्कार सिकाउनु भयो अनि सामाजिक भावनका धेरै कुरामा अग्रसर बनाउनु भयो ’ रत्न आमाप्रति सम्मान जाहेर गर्छन् ।

दुई दाजुभाई र एक बहिनीका रत्न ‘लामा’ परिवारमा जन्मिएकाले असल कर्म र संस्कार सिक्नमै बित्यो । निरन्तर कम्युनिष्ट आन्दोलनमा लागेको कारणले स्थानीय तहको निर्वाचनमा साविक नेकपा माओवादी केन्द्रवाट नमोबुद्ध नगरपालिकामा प्रमुख पदको उम्मेदवार बनायो । उनले काभ्रे जिल्लामै माओवादीका उम्मेदवारमध्ये धेरै मत ल्याए तर पनि जीतका लागि प्रर्याप्त भने भएन ।

साझा जीवन र उच्च विचारको महान वाणीवाट प्रभावित उनी अहिलेको सरकारले विकासको जग हालेर छाड्ने बताउँछन् । अहिले गर्न सकेन भने ईतिहासले समेत धिकार्ने भएकाले यो सरकारले घोषणापत्रमा उल्लेख गरेको कुराको कम्तिमा ४० प्रतिशत पुरा काम गर्ने अनुभव सुनाउँछन् । सामाजिक कार्य गर्नको लागि आफूपनि पेशा र व्यवसायमा आबद्ध रहनु पर्छ भन्ने बुझेका रत्न २०४४ सालदेखि निर्माणसँग सम्बन्धित भएर काम गरिरहेका छन् । उनी निर्माण व्यवसायी संघ काभ्रेका अग्रजमात्रै हैनन् पूर्व अध्यक्ष समेत हुन् । उनले प्रतिस्पर्धामा हैन मिलेर निर्माण व्यवसायी अघि बढ्नु पर्छ भनेर निर्माण व्यवसायीहरुलाई एकतामा बाँध्ने काम गरेका छन् । काभ्रेमा निर्माण व्यवसायीहरु रत्नलाई अनमोल हिराको रुपमा बर्णन गर्दछन् ।

उनै काभ्रेमा लोकप्रिय व्यक्तित्व नेकपा काभे्रका अग्रज नेता रत्न लामासँग राजनीतिक तथा सामाजिक जीवनमा आधारित रहेर कार्यकारी सम्पादक केशवराज पौडेलले गरेको कुराकानी ।

0 कम्युनिष्ट आन्दोलनमा किन प्रभावित हुनु भयो ?

हामी कुन वर्गमा हुर्किएका छौ । हाम्रो वर्गिय धरालत के हो । हामी दश नग्रा खियाएर समेत एक बर्षसम्म राम्रोसँग खाने अवस्थामा समेत किन रहेका छैनौ । बिहान उठेदेखि राती नसुतेसम्म खानको लागि काम गरेपनि किन खान पुगेको छैन ।

यो प्रश्नहरुको खोजीमा म २०३५ सालदेखिनै सकृय थिए । जब हामीमा चेतनाको विकास भयो । सत्य र असत्य के हो । राम्रो र नराम्रो के हो त्यो छुट्टाउन सक्ने अवस्था हामीले थाहा पायौ । त्यसपछि छिचोमिचो अन्यायका बिरुद्धमा हामी लाग्नु पर्छ । त्यसको नेतृत्व कम्युनिष्ट पाटीले मात्रै गर्न सक्ने रहेछ भनेर म त्यस समयमा कम्युनिष्ट पाटीमा आकर्षित भए ।

हामी यथास्थितीवाट समाजलाई विकासतर्फ अघि बढाउन सकिन्छ भनेर योजना बनाईरहेका थियौ । बिस २०३९ सालमा बहुदलको पक्षमा जनमत सृजना गराउनको लागि हामीले धेरै चेतनामूलक कार्यहरु गरिरहेका थियौ । हामीलाई कम्युनिष्ट भनेका अपराधी हुन् । राज्यद्रोही हुन् भन्ने हिसावले दुख दिने काम भयो । मलाई मात्रै दुख दिएको भए म कम्युनिष्टप्रति अझ धेरै झुकाव रहेर काम गर्दिन थिए होला । तर अभाव र गरिबीमा रहेका जनतालाई दुख दिने काम भएपछि मलाई अझ कम्युनिष्ट आन्दोलनमा केही गरौ भन्ने साहस पलायो अनि निरन्तर रुपमा म अघि बढिरहे । आजसम्म निरन्तर चलिरहेको छु ।

0 जनआन्दोलन २०४६ मा तपाईको उपस्थिती कस्तो रह्यो ?

यो आन्दोलनमा हामीलाई संयुक्त वाममोर्चाको तर्फवाट सहभागी भएका थियौ । हामीले २०३९ सालदेखिनै जागरण अभियान संचालन गरेका थियौ । गाँउ गाँउवाट उठ बस्ती बस्तीवाट उठ्न भनेर गित गाँउदै हामी हिड्ने गरेका थियौ । ५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरे । यस आन्दोलनमा सम्पुर्ण नेपालीहरुको ठूलो समर्पण थियो । ‘जनआन्दोलन २०४६’नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको शुरुआत गर्यो । त्यसमा म काठमाण्डौंमा रहेर संघर्षको मौका पाए । म जनमोर्चा नेपालवाट २०४९ सालमा जनमोर्चावाट वडाध्यक्ष बन्ने मौका मिल्यो ।

२०१७ सालमा राजा महेन्द्रले जन निर्वाचित प्रधानमन्त्रीलाई पदच्यूत गर्दै संसद समेत भंग गरेर निर्दलीय पञ्चायती व्यवस्था कायम गरेका थिए । त्यस व्यवस्थामा बहुलवाद थिएन । जनताका आधारभूत मौलिक हकहरू कुण्ठित पारिएका थिए । त्यसको विरूद्धमा विभिन्न राजनीतिक दलहरू र जनता पटक पटक आन्दोलनमा उत्रेका थिए । १८ सालको क्रान्ति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दवावका कारण २०३६ मा तत्कालीन राजा बीरेन्द्रले नेपालमा जनमत सँग्रह गराए । बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत सग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्षलाई जिताइयो । त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि कम्युनिष्ट पार्टीहरू आफ्नै किसिमले संघर्ष गरिरहेका थिए । त्यो समयमा हामीले एउटा निस्कर्ष निकाल्यौ । अब हामी सबै एकैठाउँमा आएर आन्दोलन गर्न नसकेका कारण पञ्चायत झन् शक्तिशाली हुँदै गैरहेको थियो । अब सबै मिलेर आन्दोलन गर्नुपर्छ नभन्दै आन्दोदन सफल पनि भयो ।

 0 कम्युनिष्ट पाटीमा कसरी निरन्तर काम गरिरहनु भयो ?

२०५१ साल फागुन १ गतेदेखि सुरु भएको माओवादीको जनयुद्धको एउटा भागको रुपमा काम गर्ने मौका मिल्यो । माओवादीको युद्धमा मैले विशेष सहयोगीको रुपमा काम गरे । २०६० सालमा जनयुद्धको सहयोगीको रुपमा काम गरे । बनेपामा बसेर मैले युद्धमा आवश्यक रहेको कुराहरुको सहयोग गर्दथे ।

हिजो सामन्ती,पुँजीवादीहरुले हामीलाई निरन्तर दमन गरिरहेका थिए । हाम्रा आवाजहरु कुण्ठित बनाउने प्रयास भैरहेका थिए । जनताहरु पुँजीवादवाट सिकार भएका थिए । ऋणले आम नागरिकहरुलाई थिचीरहेको देखेर अब यसलाई परिर्वतन गर्नुपर्छ भनेर म कम्युनिष्टका हरेक कृयाकलापमा सहभागी भए । एउटा सामान्य नागरिकले लिएको थोरै ऋण तिर्न नसक्दा उ मालिकको दासी भनेर बस्नु पर्ने भएकै कारण जनतालाई मालिक बनाउने काम कम्युनिष्टले गर्ने देखेर म यसमा प्रभावित भए ।

0 कम्युनिष्ट पाटीको कार्यकर्ता बन्नु जोगी बन्नु एकै हो भन्छन् घर परिवारको कस्तो सहयोग रह्यो ?

एउटा कम्युनिष्ट पाटीको सदस्यलाई जोगीसँग तुलना गर्ननै मिल्दैन । एउटाले घरवार छाँडेर हिडेको छ । अर्काे घर,समाज र राष्ट्र बनाउनको लागि हिडेको व्यक्ति छ । मलाई मेरो परिवारका सबै सदस्यहरुको विशेष सहयोग र योगदान नभएको भए सायद म यो अवस्थामा आउने थिइन होला ।

मलाई मेरो परिवारको निरन्तर सहयोग रहेको छ । हिजो परिर्वतनका लागि निरन्तर आवाज उठाएको व्यक्तिलाई अब हामीले अवरोध गर्न हुँदैन भने परिवारले आवश्यक परेको सहयोग समेत गर्नु भएको छ । हिजोदेखीनै राजनीतिमा कृयाशिल भएको व्यक्ति भएकाले कुनै पनि अवरोध छैन ।

म कम्युनिष्ट पाटीको सिपाही भएको कुरा मेरो परिवारले राम्रोसँग बुझेकै कारणले मलाई सहयोग गर्नु भएको छ । मैले मेरो परिवारलाई सम्झाउन सकिन भने मैले मेरो समाजलाई कसरी डो¥याउन सकुला । कम्युनिष्ट विचारधारामा कसरी ल्याउन सकुला । त्यस कारणले मेरो परिवारको सहयोग विना म यो अवस्थामा आउन सक्ने अवस्थानै थिएन ।

0 दुई तिहाइको सरकारले सोचेको जस्तो काम गरिरहेको छ ?

यो सरकारले सोचेको जस्तो काम गरिरहेको छ । हामीले हिजो जसरी सर्वहारा जनताको मुक्तिको लागि आवाज उठाऔ । जनयुद्ध लडियो । हतियार उठ्यो । अब नेपाली जनताको समृद्धिको समय आएको छ । यो सरकारले गरेको छ भनेर सोध्ने हैन कुनैपनि हालतमा गर्नुपर्छ भन्ने कुरा हाम्रो हो ।

यो सरकारवाट समेत मुक्ति पाएन भने नेपाली जनताले धिर्काने छ । अब कुनै पनि हालतमा समृद्धि नेपालको खाका बनाएर काम गर्नैपर्छ । जनताले चाहेको समावेशी समानुपातिक वर्गको नेतृत्व यो सरकारले गरेको छ । त्यो वर्गका समस्यालाई अंगालोमा हालेर अब विकासको गती अघि यही सरकारलेनै बढाउनेछ । कम्युनिष्ट पाटीले जनताको विकासमा ग्यारेण्टीको साथ अघि बढ्नु पर्छ । बढ्दा पनि कतिपय कुरा कमी होला । अहिले कम्तिमा पनि ६० प्रतिशत काम गर्याे भने अर्काे पटक कम्युनिष्ट पाटीले शतप्रतिशत नजिता ल्याउने छ ।

0 तर तपाईले भनेको जस्तो काम भएको छैन नी ?

अहिलेको सरकारले गर्ने योजना रहेको छ । अहिले पाटी एकताको खाकाको दृष्टिकोणले समयमै एकता हुन सकेको छैन । यो एकता हुन नसक्दा दुबै पाटीका नेता तथा कार्यकर्ताहरुमा केही विचलन जस्तो देखिएको छ ।

हाम्रो जुन जुन गाँउपालिका र नगरपालिकाका मेयर÷उपमेयर, वडाध्यक्ष वडासदस्यहरु भक्तपुरको साँढेजस्तो भएर अघि बढेको छ । त्यो भनेको पाटीले निर्देशन दिने निकाय नभएर हो । हाम्रो एकता भएपछि पाटीको निर्देशन अनुसार काम हुने भएकाले सधैभरि भक्तपुरको साँढेजस्तो बन्ने अवस्था समेत रहन्न ।

पाटीको घोषणापत्र अनुरुपमा अघि बढ्न आवश्यक रहेको छ । घोषणापत्रमा गरेको कुरा अनुसार सबै कुरा नसके आधा मात्रै भएपनि त सक्नु पर्याे नी । त्यसका लागि अब पाटीले एक्सन लिनेछ । सोही आधारमा कामहरु हुनेछ । कम्तिमा ४० प्रतिशत काम यो नेतृत्वले गर्नुपर्छ । समृद्ध नेपालको खाका अहिलेको नेतृत्वले ल्याउनु पर्छ । यसपछि आउने नेतृत्वले त्यसको कार्यान्वयन गर्ने हो ।

0 विकासका लागि तल्लो तहवाटै कमिटि चाहिएको हो ?

हेर्नुस । कम्युनिष्ट पाटीका कार्यकर्ताहरु श्रममा विश्वास गर्छन् । उनीहरुले काम गरेर अघि बढ्न रुचाउँछन् । हाम्रो माथिल्लो कमिटिदेखि तल्लो तहका कमिटिहरुमा चलायमान भएनन् भने कम्युनिष्ट पाटीका कार्यकर्ताहरु अल्छी बन्छन् । त्यसका लागि अहिले कमिटि आवश्यक रहेको छ । वडादेखिनै नगर÷गाँउ, क्षेत्रीय, जिल्ला कमिटि, प्रदेशको, केन्द्रको पुरै कमिटि बनेको छैन । त्यो छिट्टोभन्दा छिट्टो कमिटि बनेर आयो भने काम अघि बढ्छ ।

0  जनयुद्धले गणतन्त्र स्थापना गरेको हो ?

माओवादी जनयुद्ध नेपाली लोकतान्त्रिक आन्दोलनको सम्भवत सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा हो । लखन थापा मगरको विद्रोहबाट सुरु भएको नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रिया १९९७ साल, २००७ साल, २०४६र४७ सालका संघर्षहरू हुँदै २०५२–०६२ सालको माओवादी जनयुद्ध र त्यसपछिको मधेस आन्दोलनपश्चात् नै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको जिउँदो यथार्थ हो । ६ हजार सहिद,चार हजार घाईते अपाङ, २ हजार वेपत्ता र त्यो रगतलाई सम्मानको साथ अघि बढाउनु पर्छ ।

0 युवाहरुले जिम्मेवारी पाएनन् त नेकपामा ?

पाटीभित्र सर्घष जारी रहेको छ । अब युवालाई अघि बढाउनु पर्छ । पुँजीवादलाई साहारा दिनु हुँदैन । युवालाई पाटीका काममा लगाउनु पर्छ । युवाहरु जो जहाँ भएपनी देशमा शान्ति, सुसासन, समृद्धिको लागि एक जुट भयर हाम्रा आवाज हरुलाइ बुलन्द पार्न सक्नु पर्छ । आफूले जिम्मेवारी किन पाएनौ भनेर युवाहरु बोल्ने बेला आएको छैन र । युवाले देशको अवस्था र परिस्थितिलाई दोष लगाउदै उम्किन खोज्यो भने भने तपाईं हाम्रा सन्तानले यो भन्दापनी गयगुज्रेको समाज देख्ने छन् । त्यसका लागि युवाहरुलाई सबै कुराको नेतृत्वमा अघि बढाउनु पर्छ । त्यसका लागि युवा अग्रसर बन्नु पर्याे । तर तपाईले भनेजस्तो नेकपामा युवाले अवसर पाएनन् हैन । उनीहरुलाई धेरै जिम्मेवारी दिइएको छ । तर त्यो जिम्मेवारी युवाहरुले पुरा गरेका छन् की छैनन् हेर्नु पर्छ ।

0 विकासको फड्को कसरी मार्छ ?

देशले अब पनि देशको फड्को मार्न सकेन भने । कसैको पनि भविष्य पनि छैन । यो नेतृत्वले ४० प्रतिशतमात्रै काम गर्नुपर्छ । गाँउमा अधिकार जाने कुराको प्रत्याभुती जनताले धेरै हदसम्म गरेका छन् । अब यो नेतृत्वले त्यो काम पुरा गर्छ ।

0 निर्माण व्यवसायमा कसरी आबद्ध हुनुभयो ?

निर्माण व्यवसायको क्षेत्रमा सामान्य कामवाट सुरु गरे । मेरो आफन्त र परिवारका सदस्यहरु त्यसमा आबद्ध भएकाले लाइसेन्स लिएर काम गरेको छु । आफ्नो पेशा जानेको हिसावले काम गरेको हो । म २०४४ सालदेखि बुद्ध एण्ड फुर्वा निर्माण सेवावाट काम गरिरहेको छु ।

0 अन्त्यमा पत्रिका मार्फत ?

हामी कम्युनिष्ट पाटीका कार्यकर्ताहरु सदैव सामाजिक जीवनमा कृयाशिल रहन आवश्यक छ । हामीले समाजसेवा र सामाजिक जीवनमा रहेर काम गर्न सकेनौ भने हामी कम्युनिष्ट पाटीका सदस्य हुँदैनौ । आम जनताले विश्वास गरेर नेकपालाई दुईतिहाई मतदान गरेका छन् । हामीले कम्तिमा घोषणापत्रमा उल्लेख भएको ६० प्रतिशत काम सम्पन्न गर्न अघि बढ्नु पर्छ । जनताको मायालाई हामीले मर्न दिनु हुँदैन । पत्रिकामा मेरो कुरा राख्न दिनु भएकोमा हृदयदेखिनै धन्यवाद व्यक्त गर्न चाहन्छु । खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया