धुलिखेल – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अङ्ग्रेजी भाषा फरर बोल्दैमा गुणस्तरीय शिक्षा दियौँ भनेर गर्व गर्न नमिल्ने बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शिक्षालाई सरल र सर्वसाधारणलाई समेट्ने गरी सेवामूलक ढङ्गले लाग्नुपर्छ, शैक्षिक व्यापार बन्द गर्न जरुरी रहेको बाँस्कोटाले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भर्ना अभियानका क्रममा तीन लाख बालबालिकालाई विद्यालय पठाउन सफल भएकामा खुशी व्यक्त गर्दै ग्रामीण भेगमा जाने निजी विद्यालयले स्थानीयस्तरमा आर्थिक विश्लेषण गरी अभिभावकको बहन क्षमता हेरेर मात्रै जान आग्रह गर्नुभयो । निजी विद्यालयमा धेरै बेथिति छन् यसलाई सच्याएर अघि बढ्नुपर्छ । अभिभावक गरीब छन् भनेर निजी विद्यालयले सित्तैमा पढाउन नसक्ने उहाँको भनाइ थियो ।

सामुदायिक विद्यालयको गुणस्तर बढाउन योजनाबद्ध ढङ्गले लागेको मन्त्री बाँस्कोटाले बताउनुभयो । उहाँले भन्नुभयो “निजी विद्यालयबाट बोर्ड फष्ट भएका विद्यार्थी आइएससीमा फेल पनि भएका छन्, त्यसैले घोकन्ते हैन, व्यावहारिक शिक्षा आजको आवश्यकता हो ।”


तपाईको प्रतिक्रिया