टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले कसिलो बलिङ गर्दै १९ औं ओभर भित्र नवौ सफलता हात पारेको छ। नेपालका लागि अभिनास बोहोराले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा युएईका सिपी अनवारलाई ४४ रनमा क्याच आउट गराए।

यसअघि बोहोरासँगै सोमपाल कामी र सन्दीप लामिछाने २-२ विकेट लिएका थिए। यस्तै करन केसीले एक विकेट हात पारे।

सोमपालले सुरूवाती दुई ओभरमा लगातार दुई विकेट लिए।

कामीले पहिलो ओभरको अन्तिम बलमा आस्फाक अहमदलाई ४ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए। अहमदलाई उपकप्तान  ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन्।

यस्तै आफ्नो व्यक्तिगत दोस्रो ओभरको तेस्रो बलमा युएईका गुलाम सहबर ६ रनमा आउट गराए। सहबर विकेट किपर प्रदीप ऐरीको हातबाट क्याच भए।

त्यसपछि छैठौं ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिए। उनले ओभरको पाँचौ र छैठौं बलमा विकेट लिएका हुन्। पाँचौ बलमा साइमन अनवारलाई १४ रनमा कप्तान पारस खड्काको हातबाट क्याच गराउँदा छैठौं बलमा मोहम्मद उसमानलाई पारसकै हातबाट शून्य रनमा आउट गराए।

पाँचौ सफलताको रूपमा करन केसीले ११ औं ओभरमा विकेट लिए।

उनले ११ औं ओभरको तेस्रो बलमा युएईका मोहम्मद बोतालाई आउट आउट गराए।

११ रन बनाएर खेलिरहेका बोता पवन सरार्फको हातबाट समातिए।

यस्तै छैठौं र सातौं विकेट अभिनास बोहोराको नाममा रह्यो। बोहोराले तेह्रौ ओभरको चौथो बलमा आमिर हायातलाई आउट गर्दै पहिलो विकेट लिए।

३ रन बनाएर खेलिरहेका हायात बोहोराको बलमा दीपेन्द्र सिंह ऐरीबाट समातिए।

यस्तै १५ औं ओभरको तेस्रो बलमा युएईका कप्तान मोहम्द नाभिद ७ रन बनाउँदै आउट भए। उनी उपकप्तान ज्ञानेन्द्र मल्लको हातबाट समातिए।

यस्तै आठौं विकेट नेपालले रन आउटबाट लियो। १७औं ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटले युएईका सुल्तान अहमद आउट भए। ललितनारायण राजबंशीको बलमा उनी ४ रन बनाउँदै आउट भएका हुन्।


तपाईको प्रतिक्रिया