चौतारा – भूकम्पपीडित लाभग्राही सूचीमा परेर पहिलो किस्ता रु ५० हजार लिएका सिन्धुपाल्चोकका १२ जनाले रकम फिर्ता गरेका छन् ।

अन्यत्र घर भएका र तोकिएको समय सीमाभित्र निजी आवास निर्माण नगर्ने व्यक्तिले लगेको पहिलो किस्ताबापतको रकम फिर्ता बुझाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ अनुदान व्यवस्था तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । रकम फिर्ता गर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–५, सुनकोशी गाउँपालिका–३, बलेफी गाउँपालिका–२ र मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिका एक÷एक जना रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी जग्गा अभावमा भूकम्प गएको पाँच वर्षदेखि अस्थायी टहरामा विस्थापित जीवन बिताइरहेका बाह्रबिसे नगरपालिका–७ घुम्थाङका–१४ का परिवारलाई जग्गा खरीद गरी हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको रु दुई लाखका दरले २६ रोपनी जग्गा खरीद गरी मङ्गलबार संयुक्त जग्गा धनी पूर्जा वितरण गरिएको छ । जिल्लामा २०७२ वैशाख १२ गतेको भूकम्पबाट जमीन चिरा पर्नुका साथै पहिरोको उच्च जोखिममा परेका ८४७ परिवारमध्ये हालसम्म २२२ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिसकेको छ । त्यस्तै २४४ परिवारले जोखिमयुक्त ठाउँमै आवास निर्माण गरी दास्रो किस्ता अनुदानसमेत लगिसकेको कार्यालयका प्रमुख जयप्रकाश गुप्ताले बताउनुभयो ।


तपाईको प्रतिक्रिया