रुकुम – रुकुम (पूर्व)को हिमाली तथा उच्च लेकाली क्षेत्रमा मङ्गलबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको हो ।

जिल्लाको हिमाली क्षेत्रमा यस वर्ष पटकपटक हिमपात भए पनि उच्च लेकाली क्षेत्र तथा अन्य ठाउँमा भने पाचौँ पटक हिमपात भएको हो । हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । गर्मी मौसम शुरु हुने यो समयमा हिमपात नरोकिँदा पशुचौपाया र मानिस चिसोमा कठ्याङ्ग्रिएर बसेका छन् ।

केही दिनयता मौसम पनि नखुलेकाले चिसो बढिरहेको थियो । मङ्गलबारदेखि जिल्लामा हावाहुरी, वर्षासँगै हिमपात हुँदा अत्यधिक चिसोको महसुस गरिएको छ । जिल्लाको तल्लो क्षेत्रमा सामान्य हिमपात भए पनि पुथा उत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ, दादिङलगायत क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

हिमपातका कारण हिमाली तथा माथिल्लो लेकाली क्षेत्रहरु सेताम्य भएका छन् भने हिमपात हुने क्रम पनि नराकिएको भूमे गाउँपालिका–९ का जनक वलीले बताउनुभयो । विगत नौ वर्षको अन्तरालमा यस वर्ष जिल्लाको विभिन्न ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् ।

जिल्लामा पहिलो र दोस्रो पटकसम्म हिमपात हुँदा खुशी भएका स्थानीयवासी भने बारबारको हिमपातले बालीनालीमा क्षति पु¥याएपछि चिन्तित बनेका छन् । चिसो बढेपछि स्थानीय बाहिर निस्कन नसकेको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का रामकुमार पुनले बताउनुभयो । जिल्लाको पुथा उत्तरगङ्गातिर पुरानै हिउँ पग्लिनसकेको अवस्थामा पुनः हिमपात भएपछि समस्या उत्पन्न भएको हो । हिमपातकै कारण भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकामा यातायातका साधन पनि चल्न सकेका छैनन् ।


तपाईको प्रतिक्रिया