काठमाडौँ – बाग्लुङ जिल्ला जैमिनी नगरपालिका वडा नं ६ अर्जेवामा घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा घरबास सञ्चालन गर्ने प्रचलन बढ्दै गएका बेला अर्जेवामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ घरबास सञ्चालनका निन्ति चितवन र तनहुँलगायत जिल्लामा अध्ययन सम्पन्न भएको वडाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

मगर दिवसका अवसरमा आदिवासी जनजाति सञ्जाल जैमिनी – ६ अर्जेवाद्वारा आज अर्जेवामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष थापाले अर्जेवामा जतिसक्दो चाँडो घरबास सञ्चालनका लागि अन्य ठाउँका घरबासबारे अध्ययन भइसकेको बताउनुभयो ।
चार सय ८४ जनसङ्ख्या रहेको अर्जेवामा करीब ५० प्रतिशत आदिवासी जनजातिको बाहुल्य छ ।

अर्जेवामा विशेष गरी मगर समुदायको परम्परागत खानासँगै संस्कृति र कलाको प्रचारप्रसारका लागि पनि घरबास सञ्चालन गर्ने तयारी गरिएको छ । सोही अवसरमा वडा सदस्य बुद्धिबहादुर थापा, वडा सचिव कमला परियारलगायतले अर्जेवालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि वडाबाट सक्दो पहल भइरहेको बताउनुभयो । कार्यक्रममा मगर समुदायले कौडा र सालैजोलगायत समुदायको पहिचान झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


तपाईको प्रतिक्रिया