काभ्रेपलान्चोक (पाँचखाल) – काभ्रेका शहरका संस्थागत विद्यालयसँग मज्जाले ग्रामीण भेगका विद्यालयले प्रतिस्पर्धा गर्ने गर्दछन् । न्यूनतम शूल्कमा उच्च स्तरिय शिक्षा प्रदान गर्दै हरेक बर्ष ग्रामीण भेगका विद्यालयले एसएलसी परिक्षामा जिल्ला तथा बोर्ड प्रथम हुने विद्यालय छन् ।

काभ्रेको विशेष बनेपा, धुलिखेल तथा पनौतीका विद्यालयहरुले समेत उत्कृष्ट खालको विज्ञान प्रर्दशनी गर्न नसकेको समयमा काभ्रेको पाँचखालमा रहेको गोल्डेन फ्यूर माविले जिल्लामै उत्कृष्ट विज्ञान प्रर्दशन गरेका छन् । गोल्डेनले तीनदिनसम्म बृहत बिज्ञान प्रर्दशनी गरेको हो । पाँचखालमा विगतका बर्षहरुमा अरु विद्यालयले समेत यस्तै प्रकृतीका प्रर्दशनी गरे पनि यो फरक र अभिभावकको मन जित्ने खालको रहेको थियो । आइतवार,सोमवार तथा मंगलवारसम्म चलेको बृहत बिज्ञान प्रर्दशनीमा अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई किताबी ज्ञानका साथै प्रयोगात्मक शिक्षा प्रदान गरेको भनदै औधी खुसी भएका छन् ।

पाँचखालमा विद्यालय प्राङ्गणमा चलेको प्रदर्शनी हेर्न छिमेकी जिल्ला सिन्धुपाल्चोक तथा काभ्रेका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु पाँचखाल पुगेका थिए । काभ्रेको गोल्डेन फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट ‘गोल्डेन गर्ल’ बनाएका छन् । कक्षा १२ मा अध्ययनरत सिर्जनले रोबोटले अङ्ग्रेजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । लसिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ दिएका थिए । उनले रोबोटको नाम ‘गोल्डेन गर्ल’ राखेका छन् ।

अवलोकनकर्ताले ‘ह्वाट इज योर नेम र ?’ भनेर सोध्दा रोबोटले ‘माइ नेम इज गोल्डेन गर्ल’ भन्ने गर्दछ । स्कुलले शैक्षिक प्रदर्शनी मेलाको आयोजना गर्ने भनेपछि आफूले रोबोट बनाएको उनले बताए । रोबोट बनाउने सामग्रीको जोरजाम भने उनी आफैँले गरेका हुन् । “रोबोट बनाउन एक महीना लाग्यो”, सिर्जनले भने, “मेरो रोबोट हिँड्न सक्छ, बोल्न सक्छ, हात मिलाउँछ, अङ्ग्रेजीमा सोधेको प्रश्नको जवाफ दिन सक्छ ।” अहिले विद्यालयले आयोजना गरेको तीनदिने शैक्षिक प्रदर्शनीमा सिर्जनले बनाएको रोबोर्टले आकर्षण बढाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको बताए । प्रदर्शनीको प्रमुख आकर्षण रोबोट, भौगोलिक बनावटमा ‘पाँचखाल ग्रीन सिटी’ र पानीजहाज तथा ड्रोन रहेका छन् ।
पाँचखालको ग्रिन सिटी कस्तो रहने भन्ने समेत विद्यार्थीहरुले सो मेलामा प्रर्दशन गरेका छन् । उनीहरुले धरहरासँगै केही महत्वपुर्ण बस्तुहरुको समेत प्रदर्शन गरेका छन् ।

मण्डनदेउपुरवाट अवलोकन गर्न आएका अभिभावक नारायण ढकालले विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएको बताए । सानासाना वालवालिकाहरुले मेहनत गरेर प्रतिभा सार्वजनिक गरेको सुनाउँदै आगामी दिनहरुमा समेत यस्तै कार्यको आयोजना हुनेमा उनले विश्वास व्यक्त गरे ।


तपाईको प्रतिक्रिया