सिन्धुली – जिल्ला ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

बीपी राजमार्गको सिन्धुली सडक खण्डअन्र्तगत कमलामाई नगरपालिका–४ हिरापानीमा गरिएको जाँचका क्रममा आज चोरीको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको हो । जाँचमा शङ्का लागेपछि सवारी दर्ता प्रमाणपत्र अनुसार मोटरसाइकलको नम्बर प्लेट नभएपछि तीनपाटन गाउँपालिका–२ भीमस्थानका १९ वर्षीय रोशन सुनुवारलाई नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक विष्णु बस्नेतले जानकारी दिनुभयो ।

बा९३प ८५१७ नम्बरलाई परिवर्तन गरी बा८७प ८९७४ नम्बर बनाई चलाएको अवस्थामा मोटरसाइकल पक्राउ गरिएको हो । नुवाकोटको थानापति गाउँपालिका–८ घर भएका केदार पाठकको नाममा रहेको २२० सीसीको पल्सर मोटरसाइकल २०७५ साउन २८ गते पशुपति क्षेत्रबाट हराएको भनी ट्राफिक प्रहरी महाशाखा काठमाडौँमा उजुरी परेको थियो । पक्राउ परेका सुनुवारले साथीको मोटरसाइकल मागेर आफूले चलाएको बताएको प्रहरीको भनाइ छ ।


तपाईको प्रतिक्रिया