रमेश घिमिरे ‘कर्मशील’

मुक्तक-१
दुई मध्ये एउटा नाता तोड्नु पर्ने भयो भने,
कि त आमा कि त उनी रोज्नु पर्ने भयो भने,
यो संसारको कुन तराजु तौल पत्ता लगाउला
ममता र साँचो प्यार जोख्नु पर्ने भयो भने ।।

मुक्तक-२
लाग्छ अचेल मान्छेहरुको रगत स्वार्थी भएको छ ।
एक दुई मात्र होईन सारा जगत स्वार्थी भएको छ ।
तेरो मेरो भन्दा भन्दै पत्तै नपाई धर्ती छोड्छ मान्छे
के गुमाउनु के छ पाउनु फगत स्वार्थी भएको छ ।

मुक्तक-३
अचेलका मान्छे कोहि आलु छन् कोहि पिँडालु छन् ।
कोहि अति विश्वसनीय त कोहि अति शङ्कालु छन् ।
अप्ठ्यारोमा मात्र हो नुन खाएको कुखुरा जस्तै लत्रिने
ठाउँ परे सिध्याउँछन् सर्प भन्दा पनि विषालु छन् ।।


तपाईको प्रतिक्रिया