काठमाडौं – ललितपुरको फुलचोकी डाँडामा बुधबार हिउँ खेल्न जानेहरुको लर्को लागेको छ । तर, अत्यधिक सवारी साधनको आवागमनका कारण बाटो बिग्रिँदा धेरै मानिस बीचबाटै त्यसै फर्किन बाध्य भएका छन् ।

भिडका कारण दिउँसो ट्राफिक व्यवस्थापनमा समस्या परेको बाडेगाउँ प्रहरी चौकीले जानकारी दिएको छ । चौकीका इन्सपेक्टर श्याम कुमार कटवालका अनुसार अहिले भने आवागमन सहज भएको छ ।

‘डाँडातिर जाने बाटो बिग्रिँदा दिउँसो जाम बढेको थियो, अहिले फर्किनेहरु सहज तरिकाले फर्किँदैछन्’, उनले भने । मनोरम पर्वत फुलचोकी डाँडा पाटनदेखि झण्डै १० किलोमिटर दक्षिण पूर्वमा पर्दछ । समुन्द्री सतहदेखि २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको यो डाँडा काठमाडौं उपत्यकाकै सबभन्दा अग्लो स्थान समेत हो ।

मंगलबार रातीदेखि नै वर्षा भएपछि फुलचोकीसँगै चन्द्रागिरी डाँडामा समेत बुधबार विहानैबाट हिउँ परिरहेको छ ।


तपाईको प्रतिक्रिया