पनौती – नेपाली कागज उद्योगमा संम्भावना देखेर १५ बर्षअघि सुरु भएको पनौती–१० खोपासीको कागज उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । काभ्रेमा नेपाली कागजहरुको संम्भावना तथा कच्चा पदार्थ लोक्ताको अभावमा लामो समय संचालन गरे पनि अब उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगी संचालकहरु बताउँछन् ।

पनौती नगरपालिका–१० खोपासीमा रहेको नेपाली कागज उद्योग संकटमा पर्दै गएको छ । ३ रोपनी जग्गामा सञ्चालन गरेको सो उद्योगमा फ्रेमहरू चाङ लगाएर कागज सुकाउने गर्दै आएको छ । पनौतीको खोपासीमा उत्पादन भएको कागज अमेरिका,जापान लगायत अन्य देशहरूबाट निर्यात हुँदै आएकोमा बिगत दुई तीन बर्ष यता कागजको माग हुन छाडेको सञ्चालक पुरुषोत्तम पौँजुले बताएका छन् ।

कागज उद्योगका लागि कच्चा पदार्थ(लोक्ता) पहाडी जिल्ला ईलाम, ताप्लेजुङ र दोलखाबाट ल्याउने गरेको छ । पछिल्लो समयमा ति जिल्लाहरुमा खपत हुने गरेको र बाँकी रहेको मात्रै यता पठाउने गरेकाले पनि कच्चा पदार्थको अभाव भएको सञ्चालनहरु बताउँछन् ।

सरकारले कागज उद्योगका लागि कच्चा पदार्थ सहज रुपमा उपलब्ध गर्न पहल गरीदिए कागज उद्योग पनि सञ्चालन हुने र १०÷१५ जना कामदारले पनि रोजगारी पाउने उनीहरुको भनाई छ । नेपाली कागज सरकारी कार्यालयहरुमा र हेन्डिक्राफ्टको काममा प्रयोग हुने गरेको छ ।


तपाईको प्रतिक्रिया