पाँचखाल – काभ्रेको पाँचखाल,नमोबुद्ध,मण्डनदेउपुर, धुलिखेल र बनेपामा संचालित ईट्टा भट्टा उद्योगमा अत्याधिक बालश्रम प्रयोग हुने गरेको छ । काभ्रेमा गैरसरकारी संस्थाहरुले समेत नाममात्रैको बाल श्रम रोक्ने अभियान संचालन गरेपनि त्यही बालश्रमको कारण काभ्रेको पाँचखालमा दुई अवोध बालबालिकाले ज्यान गुमाए भने दुई जना गम्भिर घाईते बने ।

काभ्रेको पाँचखालमा संचालित कुनै पनि ईट्टा उद्योगले न्यूनतम मापदण्ड समेत पुरा गरेका छैनन् । स्थानीयहरुको निरन्तर दवाव र आन्दोलनलाई स्थानीय सरकारले मुखदर्शक बनेरमात्रै हेरिरहेको छ । जनताको आवाज उद्योगवाट हुने आम्दानीले रोक्ने काम पाँचखालमा भैरहेको पाँचखालका नागरिक अगुवाहरु बताउँछन् ।

बिहिवार पाँचखालमा घटेको घटनामा अनौठो संयोग थियो । जनताको आवाज थुन्न खोजेको भन्दै पाँचखाल नगरपालिकाको हलमा स्थानीयबासिन्दाहरु मेयर महेश खरेलमाथि प्रश्न तेस्राइरहेका थिए । ‘किन हाम्रा कुरा एक कानले सुनेर अर्काे कानले उडाउने काम गर्नुहुन्छ’ महेश खरेल आठ दिनको समय मागिरहेका थिए । ईट्टा उद्योगले पारेको असर बारे तपाईलाई ज्ञान छ । हुनत पाँचखालका मेयर खरेल कर्मचारीजस्तै हुन । वानेश्वर बस्ने भएकाले कर्मचारी आएर जसरी १० बजे आएर बेलुका ५ बजे फर्कने गर्दछन् । उनलाई उद्योगवाट धुँवा फैलिएर तरकारी खेतीमा पारेको नोक्सानीको धेरै चिन्ता पर्दैन एक नागरिक अगुवा पाँचखाल नगरको भवनभित्रै सुनाउँदै थिए ।

उता ईट्टा भट्टामा श्रम गर्ने बालबालिका बुबाआमालाई डग अर्थात इट्टा उद्योगमा लगाएको पर्खालसम्म पुग्दै थिए । नाफा मात्रै खाने तर उद्योगको संरचना मजबुत बनाउन मन नपराउने उद्योगीले डग बनाउन चासै दिएका थिएनन् । श्रममा आबद्ध बालबालिका डग नजिकै पुग्दा डग भत्कियो चार जना पुरिए । ९–१० बर्षसम्मका बालबालिका उम्किए तर अवोध ४ बर्षमुनीका बालबालिकाहरु गडमा थुप्रिएको इट्टाले पुरिए ।

एक दर्जन उद्योगवाट फैलिएको धुँवासँगै घटना फैलियो अनि उद्योगले हुन सक्ने क्षती सुनाउन पुगेका श्रीरामपाटीका स्थानीय जनता उद्धारमा लागे । पाँचखालमा रहेका ईटा उद्योगहरुले गम्भिर घटना निम्त्याउन सक्ने भन्दै पाँचखालका स्थानीयहरु नगरपालिकामा ईट्टा भट्टा हटाउन डेलिकेशन गएकै दिन इट्टा उद्योगको डग भत्किएर दुईजनाको घटनास्थलमै मृत्यु भयो । औपचारिकता पु¥याउन उपचारको क्रममा बाटोमा जाँदै गर्दा मृत्यु भएको जानकारी प्रहरीले दियो ।

जय विर हनुमान ईटा उद्योगमा रहेको डग भत्किएर उद्योगमा काम गर्ने मजदुर रोल्पाको मारीगाँउ गाँउपालिका–३ का ज्ञानबहादुर परियारका ३ बर्षिया छोरी जेनिसा परियार तथा ३ महिनाको छोरा निर्माण परियारको मृत्यु भएको हो ।

उद्योगमा अभिभावकहरु काम गर्ने अभिभावकलाई ईट्टा बोक्न बालबालिकाले सहयोग गर्ने क्रममा भाई निर्माणसँगै केही ईट्टा बोकेर जेनिसा डगमा पुगेकी थिईन् । ‘हामीलाई बालबालिका खेलेको जस्तो लाग्छ तर ईट्टा उद्योगका बालबालिकाले कहाँ खेल्न पाउँछन् र ?’ स्थानीय अगुवाहरु बताउँछन् । डगले पुरिदा उनीहरुसँगै बर्ष ३ की झरना परियार र ३५ बर्षकी सितादेवी पासवानका घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले बताए । ३ बर्षकी झरना समेत आफूले बोक्न सक्ने एउटा ईट्टा बोकेर त्यहाँ पुगेकी थिईन् ।

डग भत्किएर मान्छे पुरेको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पाँचखालको टोली घटनास्थलमा पुगेको थियो । केही समयदेखि त्यहाँ संचालित उद्योगवाट जोखिम बढेको भन्दै स्थानीयले भट्टा हटाउने अभियान सूरु गरेका थिए ।

बिहिवारमात्रै पनि स्थानीय नगरपालिका पुगेर भट्टा हटाउन अनुरोध गरिरहेका थिए । पछिल्लो समय श्रीराम पाटी आसपासमा प्रकृया पुरा नगरेको भट्टाको कारणले जोखिम बढेको भन्दै केही बर्षदेखि नागरिक समाजका अगुवाहरुले आन्दोलन गरिरहेका छन् ।

अप्रिय घटना नहोस् भन्दै हामीले शान्तिपुर्ण आन्दोलन गरिरहेको समयमा पाँचखाल नगरका मेयरले वेवास्ता गरेपछि बिहिवार डेलिकेशन गएका थियौ त्यही दिन अप्रिय घटना सुन्नु पर्याे पाँचखालका अगुवा श्रीकृष्ण धिमालले भने, अब समयमै भट्टालाई विस्थापित गरिएन भने यस्ता घटना दोहोरिने छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले भट्टा संचालक सानु कोजुलाइ प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

नगरको पत्रलाई वेवास्ता गर्दै भट्टा संचालन हुँदा दुर्घटना

यो घटना अब पैसासँग मिल्छ नागरिक अगुवाहरु बताउँछन् । माटोलाई पैसा बनाउन आएका व्यापारीहरु आफू जोगिन जे पनि गर्छन् उनले नाम नबताउने शर्तमा भने । अब काभ्रे ईट्टा उद्योग व्यवसायी संघ काभ्रेको अध्यक्ष जितेन्द्र खायमलीको नेतृत्वमा यो घटनालाई दुर्घटना बनाउन प्रहरीदेखि स्थानीय तहका नागरिकसम्म पैसा बाँडिन्छ । स्थानीय सरकारका जनप्रतिनिधीहरु समेत बिक्नेछन् उनले भने ।

तर नगरपालिकाले २०७५ साल अशोज २० गतेनै विर हनुमान ब्रिक फ्याक्ट्रीलाई काम नगर्नु भनेर पत्र काटेपनि उसले पेलेर काम गरेकै कारण दुर्घटना भएको कारणले यो हत्या भएको स्थानीय नागरिकहरुको दावी छ ।

नागरिक समाजका अगुवा सुर्यबहादुर भेटवालले पटक–पटकको नागरिक अगुवाहरुको आन्दोलनमा गर्छु भन्ने तर कृषकको समस्याको लागि मेयर महेश खरेलले केही पनि नगरेको गुनासो गरेका छन् । हामीलाई पटक–पटक उद्योग विस्थापनको लागि गर्छु भन्ने तर समय उपलब्ध नगराएपछि बाध्य भएर पाँचखाल नगरपालिकामा डेलिकेशन गएको भेटवालले बताएका छन् ।

‘हामीले लामो समयदेखि भट्टाको कारणले कृषकहरुको उपज बिक्न छाँडेको बताउँदै आन्दोलन गरिरहेका छौ’भेटवालले भने हामीलाई हटाउँछौ भन्ने तर अन्त्यमा केही पनि नगर्ने मेयरको प्रवृत्तिका बिरुद्धमा समेत अब आन्दोलनको विकल्प नभएको उनले बताए । ‘हाम्रो शान्तिपुर्ण आन्दोलनलाई वेवास्ता गरेमा हामीले अब नगरपालिकामा ताला मार्ने समेत योजना बनाएका छौ’ भेटवालले भने ।

एम्बुसजस्ता उद्योग

केही दिनअघि पाँचखालमै उद्योगले खनेको पोखरीमा डुबेर एक बालकको मृत्यु भयो । तर त्यो कुरा बाहिर आएन । हरेक बर्ष पोखरीमा डुबेर डग भत्किएर दर्जनको हाराहारीमा कामदारको मृत्यु भए पनि उद्योगीहरुले सो कुरा बाहिर ल्याउँदैनन । पाँचखालका उद्योग संचालित बडाहरुका जनप्रतिनिधी वडाअध्यक्ष र उद्योगीहरुको मिलोमतो रहेको स्थानीयको आरोप छ । केही समय अघि धुलिखेलमा भएको उद्योगीहरुको अधिवेशनमा समेत पाँचखालमा उद्योग भएका वडाका अध्यक्षहरु सो कार्यक्रममा सहभागी भएका थिए । आजको खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया