हेटौँडा – पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटाँैडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् ।

अभियुक्तद्धयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । हत्यारासँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गत पुस २५ गते ढकाललाई राप्ती पुल नजिकै जङ्गलमा गम्भीर घाइते अवस्थामा भेटाइएको थियो । तत्काल हेटौँडा अस्पताल पु¥याइएका उहाँलाई अस्पतालले मृत घोषित गरेको थियो । विगत १५ वर्षदेखि विभिन्न रेडियोमा काम गर्दै आउनुभएका ढकाल रेडियो अनमोलमा कार्यरत हुनुहुन्थ्यो ।

बुद्धमाध्यामिक विद्यालय हेटौँडा–१२ का शिक्षकसमेत रहनुभएका ढकालको हत्यामा संलग्न व्यक्तिको गिरफ्तार गर्न सफल भएकामा प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालले प्रहरीलाई धन्यवाद दिनुभएको छ ।


तपाईको प्रतिक्रिया