काभ्रेपलाञ्चोक – ईट्टा उद्योग संचालनमा आए राजिनामा गर्ने बताउँदै आएका काभ्रेको नमोबुद्ध नगरपालिकामा प्रमुख टंकप्रसाद तिमल्सिना(टिपी) ले यो बर्षलाई उद्योग संचालन गर्न दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रमुख तिमल्सिना उद्योगलाई संचालन गर्ने दिने निर्णयवाट ब्याक हटेसँगै नमोबुद्ध नगरपालिकाभित्र आर्थिक चलखेलकै कारण नगर ब्याक हटेको चर्चा सुनिन थालेको छ । ‘हामीलाई नगरप्रमुखमाथि पुरा विश्वास थियो तर एक्कासी किन कसरी ब्याक हट्नु भयो थाहा भएन,त्यसमा आर्थिक चलखेलको आशंका गरेका छौं’ नमोबुद्ध नगरपालिका एक स्थानीयले भने । नगरसभा आफैले गरेको निर्णयलाई उल्टाउँदै नमोबुद्ध नगरले गरेको निर्णयलाई यो सिजनमा उत्पादित भएका ईट्टालाई पोल्न दिने निर्णयमा नगरप्रमुख तिमल्सिनाले हस्ताक्षर गरेका छन् । यो निर्णयवाट ब्लाक हटाउन नगरपालिकाका कार्यपालिका सदस्यहरुकै सहजीकरणमा आर्थिक चलखेल भएको हुन सक्ने नमोबुद्धका स्थानीयले गरेका छन् ।

‘यसअघि जनप्रतिनिधीलाई खसीबाख्रा किनेको जसरी भएपनि उद्योग चलाएरै छाड्ने सार्वजनिक घोषणा गरेका उद्योगीहरुले यो निर्णयवाट नगरलाई ब्याक हटाउने आर्थिक चलखेल गरेको आभाष हामीले गरेका छौ’ एक स्थानीयले नाम नबताउने शर्तमा भने । एकातिर आफ्नो निर्णयवाट पछि हट्ने निर्णयले आर्थिक चलखेलको आशंका पैदा गरेको छ भने भट्टा हटाउने निर्णयलाई कार्यान्वयन गराउनमात्रै नगरको २५ लाख खर्च भएसँगै पछि ब्याक हट्ने निर्णय कार्यान्वयन गराउन नगरको लाखौं रुपैया खर्चिएर नगरले गल्ती गरेको स्थानीय बासिन्दा बताउँछन् ।

प्रारम्भिक वातावरणीय परिक्षण(आईइ) तथा नेपाल सरकारको उद्योग मापदण्ड अनुसार काम नगरेको भन्दै उद्योगको दर्ता रोक्ने तथा नविकरण नगर्ने निर्णय गरेको थियो । मानवीय स्वास्थ्यमा असर पारेको भन्दै नमोबुद्ध नगरपालिकाको नगरसभा र कार्यपालिकाको बोर्ड बैठकले नमोबुद्धमा संञ्चालित इट्टा उद्योग बन्द गर्ने निर्णय २०७४ चैत्र ९ गते गरेको थियो । सो बैठकले भएका ईट्टा उद्योगको नविकरण रोक्काको निर्णय गरेको थियो । तर शनिवार जिल्ला समन्वय समितिको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले यो बर्षसम्मको उत्पादन गरेका ईट्टा पोल्न दिने सहमती गरेको हो ।

‘ हामीले पटक–पटक सचेत गराउँदा समेत ईट्टा पारेर यो पटक ईट्टा पोल्न दिन बाध्य भयौ,अर्काे बर्षवाट आफैले ईट्टा नपोल्ने बिषयमा उहाँहरुले हस्ताक्षर गर्नुभएको छ’ नगर प्रमुख तिमल्सिनाले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा सम्झौतापत्रमा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद तिमल्सिना,काभ्रेमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा,जिल्ला समन्वय अधिकारी कोमल धमला,नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईराला, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख माधवप्रसाद गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नेपाल वार एशोसिएनका सचिव मधुसुधन वाग्ले, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष वसुनारायण श्रेष्ठ, संघ संस्थाका प्रतिनिधी हरिहर अधिकारी, राष्ट्रिय कृषक महासंघका अध्यक्ष उद्धवप्रसाद हुँमागाई, अखिल नेपाल ट्रेड युनियन महासंघका जय केसीको नाम उल्लेख छ ।

तर रोहवरमा राखेपनि काभ्रेमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष वसुनारायण श्रेष्ठले हस्ताक्षर गरेका छैनन् । पत्रकार महासंघलाई रोहवरमा राखिएको जानकारी समेत दिइएको थिएन । उद्योग एक बर्षका लागि मात्रै नभएर बर्षाैसम्मको लागि लगानी गरिसकेको हुनाले उद्योग विस्थापन गर्न नहुने अडान व्यवसायीको थियो भने कुनैपनि हालतमा नमोबुद्ध नगरपालिकाको भकुण्डेमा संचालन भैरहेका उद्योगहरुको व्यवस्थापन हुन नसक्ने अडानमा नगरपालिका देखिएपछि विवाद उत्कर्षकमा पुगेको थियो तर एकाएक सहमती तयार भएकोमा स्थानीयहरु समेत अचम्मित छन् ।

नगरपालिकाले सार्वजनिक रुपमा ईट्टाभट्टा दर्ता तथा नवीकरण रोक्का र सञ्चालित ईट्टा भट्टालाई जग्गा दिने जग्गादाताहरुलाई अनुरोध सम्बन्धी सूचना जारी गर्दै ईट्टाभट्टाबाट निस्केका धुँवा, धुलो र ध्वनीबाट जनस्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पारी श्वासप्रश्वासका साथै आँखाको राग समेत बढेको भन्दै त्यसप्रकारको काम अगाडी नबढाउन र त्यस विपरित अगाडी बढेमा सम्पूर्ण असरको जिम्मेवार स्वयं उद्योग व्यवसायि नै रहने बताउँदै आएको थियो । भकुण्डेवेशी क्षेत्रमा कृषिजन्य कार्यक्रमलाई प्रोत्साहन दिन नगरपालिकाबाट प्याकेज कार्यक्रम लागु गरिने भएको हुँदा ईट्टा उद्योगहरुलाई जग्गा उपलब्ध नगराउन नगरपालिकाले नागरिकहरुमा आग्रह गरेपनि नागरिकले भने उद्योगीलाईनै जग्गा उपलब्ध गराएका थिए ।

नमोबुद्ध नगरपालिकाले उद्योगलाई संचालन गर्न दिनुनै थियो भने हतारमा निर्णय गर्न आवश्यक थिएन । उसले सबै पक्षसँग राय सल्लाह र सुझाव लिएर निर्णयमा पुगेको भए आज यो अवस्था आउने थिएन एक स्थानीयले बताए । हाम्रो नगरको नेतृत्वले हतारमा निर्णय गर्दै आएको छ । शनिवार गरिएको पत्रकार सम्मेलनमा भुकम्प पिडित स्थानीयलाई ६ हजार ईट्टाको खरिदमा ३ रुपैया छुटमा ईट्टा उपलब्ध गराउने सहमती भएको छ तर स्थानीयबासिन्दासँग त्यहाँका उद्योगीहरुले ६ रुपैया छुट दिने सम्झौता गरिसकेका छन् । यसवाट यो आर्थिक बर्षसम्म उद्योगको म्याद थप्नुमा आर्थिक चलखेलको आशंका गरिदै आएको छ । स्थानीयलाई एउटै इट्टामा अब ३ रुपैया धेरै तिर्नु पर्ने अवस्था आएको छ । नमोबुद्ध नगरपालिकामा ८ ओटा उद्योगहरु संचालित छन् । कसैले पनि आधारभुत मापदण्ड पुरा गरेका छैनन् ।

 


तपाईको प्रतिक्रिया