द्वन्दग्रस्त वाहेक कै एक सामान्य देश ‘मेक्सिको’ को यथार्थता । शहरमा प्रहरीको हैन, अपराधिक समुहको नियन्त्रण । कुटपिट, हप्ता असुली, लुटपाट, खुल्ला पकेटमारी, अपहरण, मानब बेचबिखन, रेलमा डकैती, सरकारी तेल पाइबलाईनबाटै जबरजस्ती तेल चोरी र संगठित अपराधको निरन्तरता । धेरै अपराधहरू प्रहरीमा रिपोर्ट नै नगरिने । निरीह प्रहरी । सुरक्षाको कुनै नयाँ अभियान सञ्चालन हुँदा शहरभरीका प्रहरी कार्यालयमा एकैचोटी आक्रमण हुने ।

ठुला अपराधिक समुहहरूलाई कानूनको दायरामा ल्याउनै नसकिने । प्रहरीले तोकिएको स्थानबाट अपराधी पक्राउ गरेर ल्याउन युद्ध जिते सहर । सुरक्षाको लागि गएको प्रहरीको हेलिकप्टर अपराधीहरुबाटै खसालिने । अपराधीले जेलबाटै अपराध गर्न शुरु गरेपछी त्यसलाई स्थानान्तरण गर्न खोज्दा नसकिने । कारागार भित्रै अपराधिबाट छ जना प्रहरीको बिभत्स हत्या । यस सम्बन्धी समाचार लेख्ने दर्जनौ पत्रकारको समेत हत्या ।

मेक्सिकोका राष्ट्रपतिका नयाँ ‘चिफ अफ स्टाफ’ ‘एल्फोसो रोमा ले भनेका छन, चालिस प्रतिशत मेक्सिको देश हिंसा र असुरक्षाले ‘प्यारालाइज्ड’ भएको छ । रेकर्डले देखाउँछ, अपराधिक समुहको कारण २००६ देखि हालसम्म मेक्सिकोमा ८० हजार प्रहरी, सेना, स्थानीय नेता र सरकारसम्वद्ध सर्वसाधारणको हत्या भएको छ । २०१८ को आधा बर्षमा नै १५ हजार ९७३ जनाको हत्या भयो । २०१२ देखि २०१८ सम्म स्थानीय राजनीतिकर्मी उपर भएको अपराधमा २४ सय प्रतिशत बढोत्तरी भएको छ ।

लस एन्जेल्स टाइम्सका पत्रकार ‘रुबेन सालाजार’ भन्छन्, मेक्सिकोको संघीय सरकारले स्थानीय सरकारमाथि नियन्त्रण क्रमश गुमाउँदैछ । यो सब हुनुको पछाडि हाल मेक्सिकोका संगठित अपराध समूहहरू नै हुन् । अहिलेको यो अवश्या आउनुमा त्यहाँ बिगतको गुण्‍डागर्दी, त्यसको ‘मिनी माफिया’ मा बढोत्तरी र त्यसपछिको ‘माफियाकरण’ ले गर्दा हो । ठुलो छिमेकी देश अमेरिकाको सबै क्षेत्रको ‘पोटेन्सियालिटी’ र खुला सिमानाले गर्दा मेक्सिकोमा अपराध संगठित हुन मदत पुग्यो ।

यसै सन्दर्भमा नेपाललाई हेर्दा, दुई ठुला छिमेकी देश । भारतसँग खुल्ला सिमाना जुन सधै ‘भलनेरेबल र पोटेन्सियल’ । अपराधिक संस्कार बढ्दो । गुण्डागर्दी उत्तिकै । जनसंख्या वृद्धि, न्यून रोजगारीका अवसर र आय, वढ्दो आवश्यकता, बढ्दो हतियारधारी समूह, ‍विभिन्न आन्दोलनले सृजना गरेको ‘द्वन्दग्रस्त मानसिकता’ र त्यसको पूर्ण समाधान हुन नसकेको अवस्था । त्यसैलाई नयाँनयाँ समूहका नाममा एकतृत गरिने प्रयास भैरहेका छन् । विभाजित राजनीतिक र भौगोलिक मनस्थिती, महँगी, बेरोजगारी, सजिलो पैसा (इजीमनी) को खोजी, डिस्को, क्यासिनोले अपराध क्षेत्रतर्फ ‘फ्युलिङ’ गरिरेका । आर्थिक विश्रृंखलताहरुमा गिर्दो अनुशासन, वढ्दो कानून उल्लंघन गर्ने संस्कार, फैलदो अपराध उन्मुख कृयाकलाप, युवा पुस्तामा बढ्दो उश्रृंखलता र दण्डहिनता जस्ता सामाजिक विकृतीहरु मिसिएर अपराध बढिरहेका छन् ।

नेपाली समाज उश्रृंखलता बन्दैछ । विज्ञान र प्रविधिको विकास, बिस्तार तथा विश्‍वव्यापीकरणका कारण अपराधका नयाँ स्वरुप र प्रकृयाको सामना गर्नु परिरहेको छ । अपराध गर्ने शैली झन जटिल बनिरहेको छ । यहाँ संस्थागत गुण्डागर्दी शुरु भैसकेको छ । अपराध र अपराधीहरू संगठित हुन थालिसेकेका छन् । यी सबै भोलिको लागि खतरनाक संकेत हुन् ।

कतिपयहरू प्रहरीहरु गुण्डागर्दी नियन्त्रणमा ‘लिनियन्ट’ देखिन्छन् भने कतिपय आक्रामक । त्यसमध्ये हालका आइजीपी सर्वेन्द्र सुरुदेखि नै गुण्डागर्दी विरुद्ध निकै आक्रामक छन् । आम प्रहरी अधिकृतभन्दा फरक शैली र स्वभावका सर्वेन्द्रको तत्कालदेखि नै बेग्लै पहिचान थियो । तस्वीर आफै बोल्छ भनेझै सर्वेन्द्रको विगत गुण्डागर्दी नियन्त्रणको लागि काफी छ । दरबारमार्गमा कार्यरत हुँदा उनले राजसंस्था हुदा कै अवस्थामा तत्कालीन युवराज दीपेन्द्र दाहिने हात भनौदो गुण्डालाई पनि जेलमा जाकेका थिए । काठमाडौ जिल्ला प्रमुख हुँदा समाजका कुलंघार गुण्डाहरू के को डन हुनु भनेर गुण्डालाई कुकुर झै खेदेका थिए ।”

उनी तुरून्तै ‘बोल्ड’ निर्णय लिने व्यक्ति हुन् । उनले तराईमा कुख्यात डाँकाको डफ्फा नै सफाया गरेका छन् । सशस्त्र समूहलाई नै निस्तेज पारेका थिए । जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष, सैन्य कमाण्डर राजनमुक्ति, गोइत समूहका ‘अभिताभ’ लाई भारतबाट ल्याएर ठिक पारे । ३० भन्दा बढीको ज्यान मारेर नेपालमा लुक्न आएका बब्लु दुबे, ‘बोर्डर डन’ सुनील जैसवाल लगायत सयौं अपराधी र अपहरणकारीका जरा उखालेका छन् । प्रशस्त अपहरणकारीलाई उडाएका अनुभव उनीसँग छन् । कर्मचारी हुँदा होस वा कार्यालय प्रमुख हुँदा होस, गुण्डागर्दी विरुद्धको कार्य सम्पादनको उनको ‘स्पिड’ कहिल्यै घटेन ।

उनी अपराध महाशाखामा हुँदा ‘सामाकोशी टेरर’ घैंटेलाई उडाए । उनकै पालामा गत असार ४ गते रौतहटमा राजदेवी नगरपालिकामा भारत मुजफ्फरपुर, झपहांको हतियार कारोबारी इंद्रजीत गिरि प्रहरीसँगको मुठभेडमा मारिए । हालै भैरहबामा बिगतदेखि नै मोष्ट वान्टेड र बालक अपहरण गरी मार्ने भारतीय डाँका केदार सहनी उडे । रुपन्देहीका डन मनोज पुनसहित उनका एक सहयोगीको इन्काउन्टरको चर्चा छदैछ । ललितपुर, कुपण्डोल स्थित युएन पार्कमा प्रहरीले सर्च अप्रेशनको क्रममा गुण्डा नाइके अशोक लामामाथि गोली चलायो । प्रहरीको गोली लागेर लामा घाईते भए । अहिले उनी जेलमा छन । शायद, यसै कारणले गर्दा पनि काठमाडौँ र नेपालमै अहिले गुण्डागर्दी शुन्य छ । हिजो काठमाडौमा ‘डन’ भनि टोपलिएका गुण्डाहरु अहिले मुसा बनेका छन र ती आफ्नो दुलो छाडी भागेका छन् । नयाँ जनेरेशन गुण्डागर्दीमा पस्न तर्सिइरहेको छ ।

कतिपय मानव अधिकारकर्मीहरू यसको विरोध गर्लान् । यस सम्बन्धमा सर्वेन्द्रको व्यवहार अमेरिकी राष्ट्रपति जेम्स मेडिसिनसँग मिल्छ । पहिला कानून कार्यान्वयन गर्ने निकाय बलियो हुनुपर्छ । त्यसपछि मात्र त्यसलाई व्यवस्थित बनाउने हो । जे सुकै भएपनि गुण्डासँग प्रहरी डराउने अवस्था आउँनु हुँदैन । त्यसको लागि सर्वेन्द्र चुनौती मोल्न तयार भएको बताउँछन् । जहा गए पनि भन्दछन्, ‘प्रहरी र अपराधी एकै ठाउमा बस्न सक्दैनन् । प्रहरी कर्मचारीले निडर र निर्धक्क भई काम गर्नुपर्छ । प्रहरी देखेपछि अपराधी थरर काप्नु पर्दछ । सके गुण्डालाई सपार्ने कुनै हालतमा नभएमा नडराइकन कानून बमोजिम यात्रा गराउने हो । कानून बमोजिमको काम गर्दा कुनै पनि अप्ट्यारो परे म आवरण बन्नेछु ।’

सर्वेन्द्र भन्छन्, ‘केबल प्रहरी महानिरीक्षकको जागिर खान मात्र आएको होइन । प्रहरीको असल कामले अपराधीको मुटुमा ढ्याङ्ग्रो ठोकिनुपर्छ । जो गुण्डासँग तर्सन्छ, त्यो प्रहरी हुन लायक छैन । आवश्यक परे कानून बमोजिम बल प्रयोग गर्न पनि पछी पर्नु हुदैन । आफ्नो परिवारका अन्य सदस्यको समेत प्रतिष्ठा बढेको महशुस हुने गरी काम गर्नुपर्छ । देशमा शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न प्रहरीबाट कुनै मोलाहिजा र कमी कमजोरी भयो त्यो सुधार्ने अरु कोही हुँदैन । प्रहरीमा नेतृत्वको निर्देशन र उत्प्रेरणाको ठुलो महत्व रहन्छ ।’ उनको यो निर्देशन र स्वाभावले प्रहरीलाई तलैदेखि र भित्रैदेखि बलियो बनाएको छ । उनले लुला भैसकेका प्रहरीलाई तंग्र्याउन कुनै कसर बाँकी राखेका छैनन् । वास्तवमा सर्वेन्द्रको यो व्यवहार समयको माग हो ।”

दुई दशक पूर्वको नेपाल र अहिलेको नेपालमा धेरै फरक भैसकेको छ । नेपाल धेरै कुराहरूमा अगाडि छ तर, दुःखको कुरा राम्रा कुरा भन्दा नराम्रा कुरामा । गुण्डागर्दी त्यस मध्येको एक हो । हिजोको सामान्य गुण्डागर्दीले हाल ‘मिनी माफिया’ को रुप लिइसेको छ । यिनै भोलिका ‘माफिया’ हुन् । यो अहिले नै रोकिएन र अरु फैलन पायो भने मेक्सिको हुन बेर लाग्दैन ।

गुण्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा पारेको प्रहरीको सत्प्रयासलाई जनताले पनि सहयोग गर्नुपर्छ । कुनै अपहरित बालकको अपहरण र हत्या गर्ने अपहरणकारीहरु पक्राउ गर्दा प्रहरीको गोली चल्नु समयको आवश्यकता हो । हालै सुनसरीको भुताहामा हत्या गरेर भाग्दै गरेको अभियुक्तले पक्राउ गर्न खटिएको प्रहरी जवानलाई नै गोली हानेर गम्भीर घाइते बनायो । प्रहरीबाट असल नियतले गरेको काममा कुनै कमजोरी हुन पुगेमा पनि कुनै कारवाही नहुने विश्वास दिलाउन सकिएको भए प्रहरीले अपराधीलाई पहिले गोली प्रहार गर्ने थियो । त्यसैले सर्वेन्द्रको नेतृत्वले गुण्डागर्दीमा गरेको प्रहार आवश्यक छ । यसलाई विवादित बनाउनु हुँदैन ।

 


तपाईको प्रतिक्रिया