स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्‍वार्टरफाइनलमा पुगेको छ ।

बिहीबार बिहान भएको दोस्रो लेगमा लेगानेससँग १–० ले पराजित भए पनि रियल समग्रमा ३–१ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो। अघिल्लो साता खेलिएको पहिलो लेग खेलमा निकालेको नतिजाका आधारमा रियलको क्‍वार्टरफाइनल यात्रा सम्भव भएको हो। पहिलो लेग खेलमा रियलले लेगानेसलाई ३-० गोलले हराएको थियो। सोही नतिजाका कारण रियल ३-१ कूल गोल भिन्नताका आधारमा अगाडि बढेको हो।

रियललाई पराजित गर्न लेगानेसका मार्टिन ब्रेथवेटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। प्रतिस्पर्धात्मक बनेको खेलको ३०औं मिनेटमा रियलको कमजोर डिफेन्सको फाइदा उठाउदै मार्टिनले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

१–० ले पछि रियलले खेलमा दवाव सिर्जना गरेपनि थप गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यसैगरी बलियो टोली एट्लेटिको म्याड्रिड भने उपाधि होडबाट बाहिरिएको छ। घरेलु मैदानमा बिहीबार बिहान खेलिएको दोस्रो लेग खेलमा एथलेटिको म्याड्रिडलाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गिरोनाले ३-३ गोलको बराबरीमा रोक्यो।

अघिल्लो साता गिरोनाको मैदानमा खेलिएको पहिलो लेग खेल पनि १-१ को बराबरीमा सकिएकाले यी दुबै टोलीबीचको कूल गोल भिन्नतामा ४-४ भएको थियो। त्यसपछि अवे गोलका आधारमा एट्लेटिकोलाई स्तब्धः पार्दै गिरोना क्‍वार्टरफाइनलमा पुग्न सफल भयो। यता सेभिल्लाले एथलेटिको विल्वाओलाई समग्रमा ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ।

घरेलु मैदानमा बिहीबार बिहान खेलिएको दोस्रो लेग खेलमा एथलेटिक बिल्बाओसँग १-० गोलले पराजित भए पनि अघिल्लो साता खेलिएको पहिलो लेग खेलको नतिजाका आधारमा सेभिल्ला अगाडि बढेको हो। पहिलो लेग खेलमा सेभिल्ला ३-१ गोलले विजयी भएको थियो।


तपाईको प्रतिक्रिया