काठमाडौं – रातिमात्र मादक पदार्थ सेवन (मापसे)सम्बन्धी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले दिउँसो पनि जाँच गर्न शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

यसअघि साँझ र रातिको समयमा मापसे जाँच हुँदै आएकोमा सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसोमा समेत शुरु गरिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएकाले आवश्यकताअनुसार टोली थपेर कडाइ गरिने प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति ११ बजेदेखि १ बजेसम्म दोस्रो चरणमा गरेर एक रातमा ५० बढी स्थानमा मापसे चेकजाँच हुँदै आएको थियो ।

ट्राफिक प्रहरीले राति मापसे कारबाहीमा परेका चालकबाट सवारी ऐनअन्तर्गत १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना लिई छाड्ने गरेको छ । सोही अभियोगमा दिउँसो पक्राउ पर्ने चालकविरुद्ध ‘सार्वजनिक अपराध ऐन’अन्तर्गत मुद्दा चलाइनेछ । यो ऐनअन्तर्गत मुद्दा चले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले २७ हजार रुपैयाँ जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्नसक्छ ।

मदिरा पिएका सवारी चालक भेटिए सवारी अनुमतिपत्रमा जरिवाना तिराएर प्वाल पार्दै आएको प्रहरीले पाँच पटकसम्म प्वाल परेपछि अर्को पटक भेटिएमा अनुमतिपत्र नै निलम्बन गर्ने गरिएको जनाएको छ ।

विशेषगरी राजधानी वरपर र लामो दूरीमा चल्ने सार्वजनिक सवारी चालकमाथि दिउँसो र राति दुवै समयमा निगरानी बढाइएको प्रहरीले जनाएकाे छ ।

जाँचमा दैनिक करीब ८० देखि १०० जनासम्म मापसे गरेर सवारी चलाउँदै आएका चालक भेटिने गरेको छ । अब दिउँसोमा यस्तो जाँच थालेपछि संख्या बढ्ने ट्राफिक प्रहरी महाशाखाको भनाइ छ ।


तपाईको प्रतिक्रिया