बनेपा – २० बर्षदेखि बनेपा बसपार्कमा आफूहरुले पसल संचालन गरेकोमा आफूहरुलाई विस्थापित गर्ने उदेश्यले बनेपा नगरपालिकाले ६० ओटा पसलहरुको टेण्डर माग गरेको भन्दै बनेपा बसपार्कमा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् ।

शुक्रवार बनेपा बसपार्कमा पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाले सार्वजनिक टेण्डर आव्हान गरेसँगै नगरपालिकाले विचौलिया खडा गर्न लागेको भन्दै नगरपालिकाले व्यापारीहरुसँग सिधै भाडा लिएर काम गर्न व्यापारीहरुले अनुरोध गरेका छन् ।‘हामी नगरपालिकाले भनेको भाडा तिर्न तयार छौ, टेण्डर प्रकृया रोकेर नगरपालिका आएमा हामी संघलेनै सबै पसलहरुको भाडा उठाएर दिन तयार छौ’बनेपा बसपार्क व्यवसायी समाजका संयोजक राधेश्याम काफ्लेले बताए ।

काभ्रेको सबैभन्दा पुरानो नगरपालिका बनेपाको बसपार्कमा दैनिक सयौं गाडी बसपार्कमा छिर्ने र त्यहाँवाट आफ्नो गन्तव्यसम्म पुग्ने गर्दछन् । बसपार्कमा चारओटा व्यवसायिक भवनहरु समेत छन् । व्यवसायिक भवनमा नुनदेखि सुनसम्मको कारोवार हुने गरेको छ । हरेक क्षेत्रमा बिचौलियाको दवदवा छ । तर बनेपा बसपार्कका चारओटा व्यावसायिक भवनभित्रका व्यापारी व्यवसायी र बनेपा नगरपालिकाबिच बिचौलियाको डर छैन । व्यापारीहरुले नगरले तोकेको भाडा मासिक रुपमा नगरपालिकामै लगेर बुझाउँछन् । यो क्रम २० बर्षदेखि निरन्तर चल्दै आएकाले त्यसलाई रोक्ने काम भैरहेकोमा व्यापारीले विरोध जनाएका छन् ।

यो अभियानलाई क्रमभंङ्गता गर्न बनेपा नगरपालिकाले बिचौलिया प्रवेश गराउने सार्वजनिक सूचना प्रकाशित गरेसँगै बनेपा बसपार्कमा व्यापारीहरुले त्यसको कडा प्रतिवाद गरेको बताएका छन् । प्रतिवादको दुईओटा कारण रहेको उनीहरु सुनाउँछन् । कारण एक राम्रो भैरहेको सम्बन्ध र नगर–व्यापारीले सिधै नगरको आन्तरिक आम्दानीलाई बढाउने हिसावले मासिक नियमित तोकिएको भाडा बुझाउँदा समेत बिना जानकारी टेण्डर आब्हान गर्नु र हरेक क्षेत्रवाट बिचौलिया हटाउने अभियान चलिरहँदा कहिल्यै छिर्न नसकेको बिचौलिया बसपार्कमा छिराउन खोजेपछि उनीहरुले विरोध जनाएका हुन् ।

बनेपा बसपार्कका पसलहरुमा ठेकेदार र पेटी ठेकेदार नहुँदा काभ्रेमै सस्तोमा सामानहरु व्यापारीले बिक्री वितरण गरेका छन् । काठमाण्डौमा सामान नकिनी सिधै बनेपा आएर सामान किन्ने धेरै छन् । अब बसपार्कमा ठेकेदार प्रवेश गरेपछि भाडा ह्वात्तै बढ्दा त्यसले बसपार्ककै व्यापारलाई मंहङ्गो बनाउने निश्चित छ । जसवाट आम उपभोक्ता मारमा पर्नेछन् । बर्षाैदेखि बनेपा बसपार्कमा पसलहरु संञ्चालन गर्दै आएका व्यवसायीहरुले रोजिरोटी समेत खोस्ने गरि बनेपा नगरपालिकाले टेण्डर आब्हान गरेपछि बनेपा बसपार्कका व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन् ।

बनेपा नगरपालिकाले व्यवस्थित रुपमा भवन नबनाएको समयमा समेत टहरावाटै काभ्रे तथा आसपासका जिल्लाहरुका उपभोक्ताहरुको दैनिक जीवनमा आवश्यक पर्ने सामाग्रीहरु बिक्री गरेर सेवा दिदै आएका ६० ओटा पसलहरुलाई विस्थापित गराउने उदेश्यले नगरपालिकाले टेण्डर आब्हान गरेसँगै बनेपा बसपार्कका व्यापारीहरुले व्यवसायवाट विस्थापित बन्दा घर परिवार संचालन समेत नहुने देखेकै कारण अब आन्दोलनको विकल्प नरहेको भन्दै बसपार्कमै पत्रकार सम्मेलनको आयोजना गर्दै चरणबद्ध आन्दोलनको तयारीमा जुटेको बताएका छन् ।

तर नगरपालिकाले भने आफूहरुले प्रकृया मार्फत टेण्डर आब्हान गरेको बताउँछन् । नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले‘२० औं बर्षसम्म एकै व्यक्तिलाई पसल दिनु ठिक हो त ?’ उनले प्रश्न गरे । मेयर वादेले सबैलाई प्रकृयामा ल्याउन टेण्डर आब्हान गरेको बताए । एकै व्यक्तिले एकै ठाँउमा २० बर्षसम्म व्यापार गर्नु ठिक हो भनेर आन्दोलन हुँदैमा नगरले मान्नु पर्छ भन्ने केही छैन मेयर वादेले भने ।


तपाईको प्रतिक्रिया