काठमाडौ – राष्ट्रिय समाचार समितिका फोटो पत्रकार एवं फोटो पत्रकार महासंघ केन्द्रिय कोषाध्यक्ष रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी भएको छ ।

बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाडौँ कलङ्कीस्थित एलआरआई स्कुलको संयोजनमा भएको चिनीयाँ भाषा प्रशिक्षण कार्यक्रममा सहभागी हुन चीन पुग्नुभएका उहाँले यसरी फोटो प्रदर्शनी गर्नुभएको हो । प्रदर्शनीमा तीन दर्जन तस्बीर समावेश गरिएको छ । प्रदर्शनी अवलोकन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले यस्ता गतिविधिले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदर्शनमा रहेका तस्बीरहरू दूतावासमा रहने जानकारी दिँदै अन्यत्रसमेत प्रदर्शनी गरेर दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बताउनुभयो ।

सो क्रममा दुतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपाली तस्बीर प्रदर्शनी हुनु गौरवको कुरा भएको उल्लेख गर्नुभयो ।

चीनमा श्रेष्ठको योे दोस्रो फोटो प्रदर्शनी हो । यसअघि गएको वैशाखमा पनि बेइजिङमै उहाँको फोटो प्रदर्शनी भएको थियो । प्रदर्शनीमा नेपालका ऐतिहासिक सम्पदा, पर्यटकीय स्थल, विभिन्न जातजातिका नृत्य तथा विशिष्ट व्यक्तिहरुको फोटो राखिएको फोटो पत्रकार श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया