भकुण्डेवेशी – नमोबुद्ध नगरपालिकामा संञ्चालित भएका ईट्टा उद्योगवाट निस्किएको धुँवाको मुस्लोसँगै नगरको लाखौं रकम उठेको छ ।

मानवीय स्वास्थ्यमा असर पारेको भन्दै नमोबुद्ध नगरपालिकाको नगरसभा र कार्यपालिकाको बोर्ड बैठकले नमोबुद्धमा संञ्चालित इट्टा उद्योग बन्द गर्ने निर्णय २०७४ चैत्र ९ गते गरेको थियो । सो बैठकले भएका ईट्टा उद्योगको नविकरण रोक्काको निर्णय गरेको थियो ।

त्यो निर्णयलाई कार्यान्वयन गराउनभन्दै नगरपालिकाले लाखौैं रकम सो परियोजनका लागि खर्च गरिसकेको छ । तर शनिवार जिल्ला समन्वय समितिको हलमा नगरपालिका र उद्योगीहरुबिच ईट्टा भट्टा संचालन गर्ने सहमती भयो ।

नगरपालिका रोक्ने र उद्योगी चलाउने रणनीतिमा उत्रिएपछि काभ्रेको भकुण्डेवेशीका ईट्टा उद्योगी र नमोबुद्ध नगरपालिकाबिच ठूलै विवाद भयो । नमोबुद्ध नगरको रेकर्डमा भकुण्डेवेशीमा कुनै पनि ईट्टा उद्योगनै छैनन् । तर तिनै उद्योगीहरुसँग नगरपालिकाले सम्झौतापछि पत्रकार सम्मेलनको आयोजना गर्यो ।

नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ सम्म नविकरण भएका इट्टा उद्योग र २०७५÷०७६ नविकरण नगर्ने निर्णय गरेको छ । नविकरण नहुँदा स्वतः उद्योग दर्ता रोकिएको नगरको दावी रहँदारहँदै उद्योगीहरुले सयौं कामदार झिकाएर उद्योगको काम सुरु गरेर नगरलाई चुनौतीनै दिए र अन्ततः उद्योगीहरुले स्थानीय सरकार नमोबुद्ध नगरपालिकालाई घुँडा टेकाए । कुनै पनि हालतमा व्यापारीका सामु घुँडा नटेक्ने दावी गर्दैै आएका मेयरको नेतृत्वमा रहेको नमोबुद्ध नगरपालिका र उद्योगीहरुबिच सहमती भयो । त्यो पनि जिल्ला समन्वय समितिको हलमा काभ्रेका प्रहरी प्रमुख समेतको उपस्थितीमा ।

सम्झौतापत्रमा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा, काभ्रेमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा,जिल्ला समन्वय अधिकारी कोमल धमला,नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईराला, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख माधवप्रसाद गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नेपाल वार एशोसिएनका सचिव मधुसुधन वाग्ले, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष वसुनारायण श्रेष्ठ, संघ संस्थाका प्रतिनिधी हरिहर अधिकारी, राष्ट्रिय कृषक महासंघका अध्यक्ष उद्धवप्रसाद हुँमागाई, अखिल नेपाल ट्रेड युनियन महासंघका जय केसीको नाम उल्लेख छ । तर रोहवरमा राखेपनि काभ्रेमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष वसुनारायण श्रेष्ठले हस्ताक्षर गरेका छैनन् ।

ईट्टा उद्योग नविकरण नगर्ने र उद्योगलाई जग्गा समेत भाडामा नदिन नमोबुद्ध नगरपालिकाले सूचना जारी गरेपनि नमोबुद्धको भकुण्डे बजारमा संचालित ईट्टा उद्योगहरुले ईट्टा बनाउने काम सुरु गर्दा द्वन्द्वको खतरा बढेको थियो । ईट्टा पारेसँगै भट्टामा आगो लगाउन कोईला समेत ढुवानी थालेपछि मेयर तिमल्सिनाले यो बर्षलाई दिने गरि आफ्नो निर्णयवाट व्याक हट्ने निर्णय गरेर शनिवार जिल्ला समन्वय समितिको हलमा पत्रकार सम्मेलनको आयोजना गरेर २०७६ साल असार मसान्तसम्मलाई समय सिमा थप्ने निर्णय गरे । इट्टा पार्न थालेसँगै व्यापारी नगरप्रमुखलाई गलाउन तिर लागे । यो क्रममा नगरले उद्योग हटाउनको निमित्तमात्रै २५ लाख खर्चियो । त्यसमा पत्रपत्रिकामा सूचना प्रकाशनदेखि माईकिङसम्मका कार्यक्रमहरु थिए ।

अधिकार सम्पन्न स्थानीय सरकार र आर्थिक रुपमा सम्पन्न उद्योगीहरु बिचको विवाद के बिन्दुमा आएर टुंग्गियो त्यसको जवाफ भविष्यमा आँउला तर जिल्ला समन्वय समितिमा यो बर्षसम्म उत्पादन भएको ईट्टा सोही ठाँउमा र आगामी बर्षमा नगरपालिकाले उपयुक्र्त स्थान खोज्ने भद्र सहमतीको पत्रकार सम्मेलनमा सार्वजनिक भयो ।

उद्योग एक बर्षका लागि मात्रै नभएर बर्षाैसम्मको लागि लगानी गरिसकेको हुनाले उद्योग विस्थापन गर्न नहुने अडान व्यवसायीको थियो भने कुनैपनि हालतमा नमोबुद्ध नगरपालिकाको भकुण्डेमा संचालन भैरहेका उद्योगहरुको व्यवस्थापन हुन नसक्ने अडानमा नगरपालिका देखिएपछि विवाद उत्कर्षकमा पुगेको थियो तर एकाएक सहमती तयार भएकोमा स्थानीयहरु समेत अचम्मित छन् ।

नगरपालिकाले सार्वजनिक रुपमा ईट्टाभट्टा दर्ता तथा नवीकरण रोक्का र सञ्चालित ईट्टा भट्टालाई जग्गा दिने जग्गादाताहरुलाई अनुरोध सम्बन्धी सूचना जारी गर्दै ईट्टाभट्टाबाट निस्केका धुँवा, धुलो र ध्वनीबाट जनस्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पारी श्वासप्रश्वासका साथै आँखाको राग समेत बढेको भन्दै त्यसप्रकारको काम अगाडी नबढाउन र त्यस विपरित अगाडी बढेमा सम्पूर्ण असरको जिम्मेवार स्वयं उद्योग व्यवसायि नै रहने बताउँदै आएको थियो । भकुण्डेवेशी क्षेत्रमा कृषिजन्य कार्यक्रमलाई प्रोत्साहन दिन नगरपालिकाबाट प्याकेज कार्यक्रम लागु गरिने भएको हुँदा ईट्टा उद्योगहरुलाई जग्गा उपलब्ध नगराउन नगरपालिकाले नागरिकहरुमा आग्रह गरेपनि नागरिकले भने उद्योगीलाईनै जग्गा उपलब्ध गराएका थिए ।

नमोबुद्ध नगरपालिकाले उद्योगलाई संचालन गर्न दिनुनै थियो भने हतारमा निर्णय गर्न आवश्यक थिएन । उसले सबै पक्षसँग राय सल्लाह र सुझाव लिएर निर्णयमा पुगेको भए आज यो अवस्था आउने थिएन एक स्थानीयले बताए । हाम्रो नगरको नेतृत्वले हतारमा निर्णय गर्दै आएको छ । आजको खबर चौतारीमा प्रकाशित छ ।

 


तपाईको प्रतिक्रिया