धुलिखेल – निर्देशिकामा उल्लेख भए अनुसार नगरपालिका र गाउँपालिकाले सहभगातिामूलक योजना तर्जुमा प्रक्रिया अवलम्बन गर्ने गरि आर्थिक वर्षको योजना, कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्नेहुन्छ । सरकारले स्थानीय तहलाई दिने अनुदानमा महिला, दलित, अपाङता, आदिवासी, जनजातीका लागि खर्च गर्नुपर्ने व्यवस्था छ । कुल बजेटमा महिलाका लागि प्रतिशत, दलित, सीमान्तकृत, लोपउन्मुख, जनजातीका लागि १५ प्रतिशत र बालबालिकाका लागि १० प्रतिशत अनिवार्य खर्च गर्नुपर्ने कानुनी व्यवस्था भए पनि कार्यन्वयनमा भने लागू हुन् सकेको छैन ।

गत वर्ष लक्षित वर्गको लागि छुट्याईएको बजेट कति छ र कहाँ कसरी प्रयोग भईरहेको छ भन्ने विषयमा जनप्रतिनिधि नै अनभिज्ञ थिए । तर यस वर्ष भने अधिकांश स्थानीय तहहरुले प्राथमिकताका साथ लक्षित वर्गलाई वार्षिक कार्ययोनामा समावेश गरेका छन् । लक्षित वर्गको लागि छुट्याएको बजेट केही स्थानीय तहले कार्यन्वयनमा ल्याउँदैछन् भने केही केही स्थानीय तह त्यसैको तयारीमा लागी परेका छन्  ।

पनौती नगरपालिकाले आर्थिक वर्षको लागि कुल बजेट मध्येको १ करोड ८५ हजार लक्षित वर्गको लागि छुट्याएको छ ।  जुन काभ्रे जिल्लाका स्थानीय तहहरुमध्येकै सबैभन्दा बढि रकम हो । नगरपालिकाले बिनियोजन गरेको उक्त बजेट कार्यन्यवन हुदैँ गरेको नगरपालिकाका उप–प्रमुख गीता बन्जराले बताईन् । उनले भनिन्, बालबालिका र महिलाका लागि कार्यक्रमहरु सुरु गरिसकेको र अरु बाँकीको तयारी भईरहेको छ ।

त्यस्तै मण्डन देउपुर नगरपालिकाले यस आर्थिक वर्ष ०७५/७६ को लागि कुल बजेटको ६४ लाख लक्षित वर्गको लागि छुट्याएको छ । नगरमा देखिएको आवश्यकता र नगरमा आएको सम्झौता अनुसार नगरपालिकाले उक्त रकम लक्षित वर्गको लागि छुट्याएको नगरपालिकाका प्रमुख टोक बहादुर वाईबाले बताए । नगरबाट तर्जुमा भएको उक्त बजेटबाट अहिले बालबालिका, जनजाति, महिला, दलित, आदि वर्गहरु लाभान्वित हुने नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको जानकारी अनुसार लक्षित वर्गहरुको सम्झौता भए अनुसार पहिलो चौमासिकको कार्य सकिएको र दोस्रो चौमासिकको लागि तयारी भईरहेको छ ।

अर्को स्थानीय तह खानीखोला गाउँपालिका, जसले लक्षित वर्गको लागि भनेर यस आर्थिक वर्षमा गाउँपालिकाको कुल बजेटमध्ये १० लाख छुट्याएको छ । जुन अरु स्थानीय तहकोभन्दा निकै कम देखिन्छ । तर गाउँपालिकाले महिलाको लागि भनेर छुट्टै ५ लाख बजेट पनि बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले बताए । खुलालका अनुसार तर्जुमा गरिएको बजेट विभिन्न कारणले कार्यन्वयन नभए पनि छिट्टै कार्यन्वयन गरिनेछ ।

बेथानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि कुल बजेटको ३४ करोडमध्ये ५२ लाख लक्षित वर्गको लागि छुट्याएको छ । स्थानीय स्तरमा देखिएको आवश्यकतालाई मध्यनजर गरेर गाउँपालिकाले लक्षित वर्गको लागि बजेट तर्जुमा गरेको गाउँपालिकाका उपाध्यक्ष सरिता लामिछानेले बताईन् । उनका अनुसार अहिले पूर्वाधार विकासको लागि प्राथमिकता दिईएकाले लक्षित वर्गको लागि छुट्याईएको बजेट कार्यान्वयनमा ढिलाईल भईरहेको छ । उपाध्यक्ष लामिछानेले भनिन्, ‘यस वर्ष हामीले लक्षित वर्गको लागि छुट्याएको बजेट तल्लो तहबाट कार्यान्वयनमा ल्याउने तयारी गरिरहेका छौँ । मंसिर महिनासम्ममा कार्यन्वयन सुरु भईसक्ने छ ।

काभ्रेको अर्को स्थानीय तह भुम्लु गाउँपालिका, जसले यस आर्थिक वर्षमा विशेष प्राथमिकताका साथ लक्षित वर्गको लागि बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले कुल बजेटको ५० लाख लक्षित वर्गको छुटाएको छ । गाउँपालिकाको प्रत्येक वडामा ३ लाख बजेट लक्षित वर्गको लागि जनाएको छ । त्यस्तै गाउँपालिकाले लैङ्गिक बजेट भनेर छुट्टै ३० लाख बजेट यस आर्थिक वर्षको लागि तर्जुमा गरेको छ । उक्त बजेट कार्यन्वयनको लागि गाउँपालिकाले स्थानीयलाई समिति बनाउन पटक पटक जानकारी गराउँदा पनि कुनै चासो नदिएको गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले बताईन् ।

स्थानीय स्तरबाटै राज्यले दिएको सेवा सुविधा प्राप्त गर्न सकिन्छ भन्ने कुरामा आम नागरिक अनविज्ञ नै छन् । यसका साथै आफूले पाउनुपर्ने सेवा सुविधा नपाएको खण्डमा उजुरी गर्नुपर्छ भन्ने कुराको ज्ञान नभएकाले पनि उपभोक्ताहरु राज्यले दिएको सुविधाहरुबाट बञ्चित छन् ।


तपाईको प्रतिक्रिया