‘काव्य गुञ्जन’ र नेपाली साहित्यको सेरोफेरोमा रहेर ‘काव्य गुञ्जन’ कार्यक्रमका संयोजक अदिप अधिकारी कुराकानी :

१. आफ्नो बारेमा भन्नुपर्दा !
-नमस्कार , काभ्रेकाे कर्णाली भनिने तर प्राकृतिक रुपमा सुगम भुम्लु गाउँपालिका वडा नं १ सापिङ रिठ्ठेमा जन्मने अवसर पाएकाे भाग्यमानी नागरिक हुँ । अदिप अधिकारी नामले चिनिन्छु ।

२. पछिल्लो समयको व्यस्तता कता र के मा?
-स्नातकोत्तर अध्ययनमा विहानी समय , सामान्य तयारी पाेसाक बिक्रीमा दिउँसोकाे समय, शनिवारकाे बिहानी समय रेडियाेकाे लागि र दिउँसोकाे समय साहित्यिक कार्यक्रमकाे लागि यसैगरि दैनिकी चलिरहेकाे छ ।

 

३. ‘काव्य गुञ्जन’ के हो ?
-काभ्रेकाे साहित्यिक अाधार हाे काव्य गुञ्जन । याे सस्था हैन, प्रतिष्ठान हैन । याे मात्र एउटा अभियान हाे । यसले अब्बल सिर्जना गर्ने तर प्रचार प्रसारकाे पहुँचमा नआएका सर्जकहरूलाई स्टेज दिने र वर्तमान समयले मागेका सिर्जनाहरू सिर्जने सर्जकहरूलाई प्रस्तुत गर्दछ । याे काभ्रेमा जन्मिएकाे तर देशकाे साझा कार्यक्रम हाे । जुन त्रैमासिक रुपमा चल्दै अाएकाे छ । यस कार्यक्रममा तीन प्रकारका सिर्जनाहरू प्रस्तुत हुन्छन् । कविता, गजल र मुक्तक तीनै प्रकारका सिर्जनाहरूले स्थान पाउनेछन् । याे विधागत गुटहरूकाे विराेध अभियान पनि हाे । विधा जुन भएपनि त्याे साहित्य हाे त्यसैले एकअर्कामा समन्वय र अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ सुरु भएकाे अभियान पनि हाे ।

 

४. कसरी सुरुवात भयो ? कहाँ आइपुग्यो ? अनि के छन् योजनाहरु ?
-मिडियाले कवर गरेका सर्जकहरूकाे मात्र चर्चा हुँदैगर्दा यस्ता सर्जकहरू पनि भेटिए जाे मिडियाभन्दा पर रहेर निरन्तर साहित्यमा साधना गरिरहेका थिए । उनिहरूका सिर्जना पनि उत्कृष्ट तर बाहिर नअाएकाे कुरा जब जानियाे तब लाग्याे कि हामीले एउटा अभियान सुरु गर्नुछ ।

हातेमालाे साहित्य संगमकाे शाखा काभ्रेमा राखेर आफु अध्यक्ष भई निरन्तर रचनावाचनकाे कार्यक्रम चलाउदै अाएका रमेश घिमिरे `कर्मशिल´ र त्यही संस्थाका सचिव छवि श्रेष्ठसँग याे अभियानकाे चर्चा गरियाे । तत्कालीन समयमा काभ्रेमा यही एउटा संस्था थियाे । जसले निरन्तर कार्यक्रम गर्दै थियाे । कुरा हुँदै गर्दा हातेमालोकाे नयाँ श्रृङखला सुरु गर्नेसम्म कुराकानी भयाे । अन्तिममा याे साझा कार्यक्रम हाे यसलाई संस्थागत नबनाउने निष्कर्ष निस्कियाे र ‘काव्य गुञ्जन’ नामाकरण भयाे । पाँचजनाकाे प्रत्यक्ष र काभ्रेका अन्य साहित्यकारहरूकाे प्रत्यक्ष अप्रत्यक्ष सहयाेगमा कार्यक्रम निरन्तर हुनथाले ।

सुरुमा म अदिप अधिकारी, छवि श्रेष्ठ र रमेश घिमिरे’कर्मशिल’को योजना मुताविक सुरु भै निर्भिकजङ्ग रायमाझी र समर्पण श्री समेतको सक्रियतामा ३ ओटा सम्म शृङ्खला चल्यो । त्यसपछि निर्भिक जी र समर्पण जी कार्य व्यस्तताको कारण निष्क्रिय हुनुभो र उहाँहरुको ठाउँमा रामचन्द्र लम्साल र अशिम काभ्रेली सकृय भएर लाग्नुभएको छ । यही पाैष २८ गते शनिबार हामी पाँचाै श्रृङखला लिएर बनेपा नगरपालिका हल, बनेपामा आउने भएका छाैँ । अहिलेसम्म २० स्रष्टालाई सुनिसकेका छाैँ ।हामी यही क्रमलाई निरन्तरता दिने मुख्य याेजनामा छाैँ ।

 

५. काभ्रेमा थुप्रै साहित्यिक संस्थाहरुको भिडमा के हुनसक्छ ‘काव्य गुञ्जन’को छुट्टै पहिचान ?
-अरु सस्थाहरूले रचनावाचन , सम्मान लगायतका कार्यक्रम गर्दै आएको छ तर काव्य गुञ्जनले मात्र पाँच स्रष्ट्राकाे सिमित तर उत्कृष्ट रचना सुन्ने गर्दछ । त्यसैले याे अभियान पृथक छ ।

 

६. साहित्यलाई अनुत्पादक क्षेत्र भनिन्छ । तपाईहरु त अभियाननै चलाइरहनुभएको छ । थोरै भन्दिनुहोस् न ‘काव्य गुञ्जन’ कसरी चलिरहेको छ ? आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?
-साहित्यलाई अनुत्पादक क्षेत्र भन्न मिल्दैन । कतिले यसलाई अाधार बनाएर पनि जिविकाेपार्जन गरेका छन् । कतिले अाफुलाई स्थापित गराएकाछन् । उत्पादन हुनु भनेकाे आर्थिक उत्पादन मात्र नहाेला । हामी अार्थिक व्यवस्थापनकाे सन्दर्भमा भने व्यक्तिगत अझ भन्नुपर्दा अभियान कर्ताहरूकाे बगलीबाट लगानी गरेकाछाैँ । हाम्राे मुख्य उदेश्य भनेकाे खर्च न्युनिकरण गर्नु र लगानी घटाउनु हुन्छ । यसरी हामी चलिरहेका छाैँ ।

७. नेपाली कला, साहित्यको क्षेत्रमा सरकारले पनि अन्याय गरेको, उचित कदर गर्न नसकेको, बजेट व्यवस्थापनमा कन्जुस्याइँ गरेको भन्ने सुन्नमा आउँछ बेलाबेला । उसो त राष्ट्रिय स्तरमा सरकारी निकायबाटनै सञ्चालित ४ ओटा प्रतिष्ठानहरु छन् । अहिले त गाउँगाउँमा सिंहदरबार भनेर स्थानिय स्तरमै सम्पुर्ण अधिकार प्राप्त सरकार छ । स्थानिय सरकारबाट कत्तिको सहयोग छ ?
-याे दु:खकाे कुरा हाे । म यस्ता बिषयहरूमा कम बाेल्छु । यस्ता प्रश्न आउदा म गुनासाे गर्न थाल्दछु । तर म अाफैँलाई गुनासाे मन पर्दैन । सरकारले गरेन भन्नूभन्दा पहिला अाफूले गरिरहेकाे गतिविधिकाे बारेमा जानकार हुनुपर्छ ।

 

८. पछिल्लो पटक राजधानीमा वाचनका शृङ्खलाहरुले माहोल तात्न थालेका छन् । च्याउसरी उम्रिएका छन् संस्थाहरु । काभ्रेमा पनि संस्था नभएका होइनन् । कसैले मासिक, कसैले त्रैमासिक, अर्धवार्षिक, वार्षिक त कसैले विशेष शृङ्खला चलाइरहेका छन् । छापा तथा अनलाइन मार्फत पनि साहित्य सलबलाइरहेकै छ । यो भिडमा अग्रज देखि अनुज सम्मलाई समेटेर लैजान कत्तिको कठिनाई महसुस गरिरहनुभएको छ ? समकालीन साहित्यिक व्यक्तित्वहरुबाट कत्तिको साथ पाइराख्नुभएको छ ?
-काभ्रेमा मात्र मैले नाम सुनेका १० वटा भन्दा बढी साहित्यिक सस्थाहरू छन् । अनि सरकारले कसलाई बजेट दिने । यसरी बजेट दिनुभन्दा एउटा कार्यक्रम गरेर बजेट सक्ने परम्परा छ । यसाे गर्दा नाम चलेका सस्थाहरूकाे प्रतिनिधि बाेलाउने र हाेटलमा गाेष्ठी र तालिम शीर्षक दिएर दुईतीन दिनकाे कार्यक्रम गर्ने चलन छ । राजनितीक र व्यक्तिगत सम्बन्ध भएका संस्थाहरूले केही सुविधाहरू पाइरहेका हाेलान् ।

जुन काव्य गुञ्जनकाे सन्दर्भ छ । बनेपा नगरपालिकाकाे अनुसार याे बनेपाकाे लागि आवश्यक कामनै हैन । हामी अार्थिक सहयाेगकाे अपेक्षामा हैन, नगरपालिका हल सहुलियतका लागि कुरा गर्न पुगेका थियौँ । उनिहरूबाट यस्ताे जवाफ अायाे कि खासमा साहित्यिक गतिविधिनै अनावश्यक छन् । यस्ताे जवाफ अन्य ठाउँमा पनि आउने गर्छ । सरकारबाट बजेट त आउछ तर बजेटले सार्थक हुन भने पाउँदैन । यस्ताे साना सहयाेगकाे लागि त गाउँका सिंहदरबार तयार रहेनन् भने सरकारबाट छुट्टिएकाे बजेट अपेक्षा निरर्थक छ । तर हामीले प्रयासलाई निरन्तर गरेका छाैँ ।साहित्यिक संस्थाहरू पनि छन् । कार्यक्रमहरू पनि छन् । युवाकाे छुट्टै , अलि अर्धबैसेँहरूकाे छुट्टै र नयाँ अाएकाहरूकाे छुट्टै यसरी कार्यक्रम भएका छन्। यसाे हुँदा साेच मिल्ने र रचनाकाे स्थर मिल्ने गर्दछ । तर काव्य गुञ्जनले सबैलाई समेट्ने जमर्काे गर्दछ यसाे हुँदा पुस्तालाई बुझ्ने अवसर त पाइन्छ न‌ै नयाँ पुस्ताहरूले सिक्ने अवसर पनि पाउँछन् । यसरी एउटै कार्यक्रममा सबैलाई ल्याउनु भनेकाे समुन्द्र पाैडिएर पार गर्नुजस्तै हाे ।समकालीन व्यक्तिबाट साथ पाएकाे भएरै काव्य गुन्जन आजसम्म चलेकाे छ । उनिहरूकाे साथकाे प्रशंसा गरेर पूर्ण हुनेछैन ।

९. अन्तिममा छुटेका कुराहरु संक्षेपमा भन्दिनुहोस् ।
-काव्य गुञ्जन सम्पूर्ण साहित्यिक रुचि भएका व्यक्तिकाे कार्यक्रम हाे । यसलाई अाफ्नै कार्यक्रम सम्झेर साथ दिनुहुन अनुराेध गर्दछु ।सबै क्रियाशिल संघ, संस्थालाई हातेमालोको लागि अनुरोध गर्दछु । हामी अक्षय कोष स्थापना गरेर दीर्घकालीन योजना सहित जाँदैछौ । इच्छुक सहयोगी महानुभावहरुलाई समेत साथ, सहयोग, समन्वय र एकताको लागि अपिल गर्दछु । काव्य गुञ्जनकाे हरेक श्रृङखलाकाे लागि सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछु ।
आफ्नो भनाइ राख्ने अवसर दिनुभएकाेमा बेथानचाेक खबरलाई धन्यवाद ।

 


तपाईको प्रतिक्रिया