ललितपुर – उपत्यकालाई चिसोले छोप्दै गएको बेला पारिलो घाममा साना खेलाडीहरु क्रिकेट ब्याट, बल समातेर अभ्यासमा मग्न छन् । जालीले घेरिएको मैदानमा कोही वारपार कुदिरहेका छन् । कोही बलिङ गर्दै छन्, कोही ब्याटिङ ।

उनीहरुसँगै छन्, पूर्वखेलाडी तथा प्रशिक्षक राजु बस्नेत र राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल । प्रशिक्षक बस्नेतका वरिपरि घेरिएकाहरु उनको निर्देशन पछ्याइरहेका देखिन्छन् । मल्ल आफ्नो वरिपरि भएका साना खेलाडीहरुलाई ‘ब्याटिङ टिप्स’ दिइरहेका छन् । ध्यानपूर्वक कुरा सुनिरहेका उनीहरु नबुझेका कुरामा प्रश्न सोध्दैछन् ।

यो दृश्य ललितपुरको सानेपास्थित काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) को हो, जहाँ बस्नेत र मल्लसँगै प्रशिक्षक मञ्जुर आलम खानसँग बच्चाहरु क्रिकेट सिकिरहेका हुन्छन् ।

उनीहरुमध्येकै एक हुन्, रौतहटका चुनचुन यादव । १६ वर्षका यादवलाई ब्याटिङ खुबै मन पर्छ ।

१० कक्षामा पढ्ने उनले गएको एक वर्षदेखि केसीटीसीकै होस्टेलमा बसेर पढाइसँगै क्रिकेटलाई अगाडि बढाइरहेका छन् । ‘९ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेको हो । पहिले जिल्लास्तरबाट पनि खेलेँ । हाम्रोतिर व्यवस्थित हुँदैन, त्यसैले काठमाडौं आएँ । खेल र पढाइ सँगै लैजान पाइरहेको छु,’ उनले सुनाए ।

चुनचुनसँगै छन् बाग्लुङका विश्व कार्की । १७ वर्षका विश्वलाई फास्ट बलिङमा रुची छ । १२ कक्षामा व्यवस्थापन पढिरहेका उनले ड्युज बल समातेको केसीटीसीमा आएपछि नै हो । अहिले भने निकै फेरिएको अनुभव गरेका छन् । ‘सुरुमा त केही थाहा थिएन । यहाँ बेसिक लेभलदेखि नै टेक्निकहरु सिक्न पाएँ । फिटनेस, स्टे«न्थ, लाइन, लेन्थ सबै राम्रो हुँदै गएको छ,’ उनले भने ।

विश्व र चुनचुनजस्तै २५ जना विद्यार्थी केसीटीसीकै होस्टेलमा बसेर क्रिकेट सिकिरहेका छन् । होस्टलमा नबस्ने समेत गर्दा झण्डै ७० जना छन् । नेपालमा क्रिकेट क्रेज बढ्दैजाँदा सिक्न चाहनेहरु पनि बढ्दै गएको बताउँछन् मल्ल ।

केसीटीसीले क्रिकेट सिकाउन थालेको भने अहिले होइन । हालै मात्र १० औं वर्षगाँठ मनाएको केसीटीसीले थुप्रै खेलाडी जन्मिएको छ । केसीटीसीमै क्रिकेट सिकेका सुमित महर्जन, आदिल खान, नन्दन यादव, सूर्य तामाङ जस्ता ८ जना खेलाडी उमेर समूहको राष्ट्रिय टिममा खेलिसकेका छन् । महिला खेलाडीहरु निमा तामाङ र करुणा भण्डारी पनि केसीटीसीकै उत्पादन हुन् ।

‘सीता रानामगर र बिनु बुढा मगर महिला राष्ट्रिय टिममा परिसकेपछि पनि अभ्यासका लागि आइरहन्थे । उनीहरु क्रिकेट बुझ्न केसीटीसीमा आएर धेरै राम्रो भएको सुनाउँछन् । त्यसले खुशी लाग्छ,’ केसीटीसीकै सञ्चालक मध्येका एक मल्लले सुनाए ।

यसरी बन्यो एकेडेमी

उसो त मल्ललाई आफैंलाई पनि क्रिकेट टे«निङ सेन्टर खोलेर केही गर्न सकिन्छ भन्ने लागेकै थिएन ।

आफैं यू–१९ को खेलाडी थिएँ, त्यसैले ठूलो काममा हात हाल्न लागियो कि भनेर उनी हच्किएका थिए । त्यो समय उनलाई हौसला दिने व्यक्ति थिए, रविदास श्रेष्ठ । रवि क्रिकेटप्रेमी थिए । उनलाई आफ्नो जेठो छोरालाई पनि क्रिकेटर बनाउने रहर थियो । त्यहि रहरले क्रिकेट सिकाउने एकेडेमीको विजारोपण गरेको हो ।

‘उहाँको छोरा सांग्रिला एकेडेमीमा क्रिकेट सिक्न जाने गथ्र्यो । भेटघाटका क्रममा मिलेर क्रिकेट एकेडेमी चलाऔँ भन्न थाल्नुभयो । एकेडेमी खोलौँ, म जिम्मा लिन्छु, तिमीहरु अभ्यास गराउ भन्नुभयो,’ मल्ल सुनाउँछन्, ‘हामीले नसकिने जस्तो कुरा गर्दा पनि हौसला दिन छोड्नुभएन । अन्ततः कन्भिन्स गराएरै छाड्नुभयो ।’

त्यसबेला क्रिकेट एकेडेमी कसरी चलाउने भन्ने थाहा थिएन । तर, टिभीमा हेरेको र सुनेको भरमा क्रिकेटलाई व्यवस्थितरुपमा अगाडि बढाउन सकिन्छ भन्ने लाग्यो । ‘उहाँले कति पर्छ म लगाउँछु, तिमीहरु जति सक्छौ त्यति लगाउ भनेपछि राज श्रेष्ठ र म तयार भयौँ । जग्गा हेर्दै जाँदा कृष्ण महर्जन र भाइरत्न महर्जनसँग भेट भयो । हामीले जग्गा नाप्यौँ र काम सुरु भयो,’ उनले पुरानो दिन सम्झिए ।

क्रिकेट टे«निङ सेन्टर खोल्न रवि, ज्ञानेन्द्र र राजसँगै जोडिए पवनसिद्धी मानन्धर र प्रसन्न शाक्य । प्रसन्नले ललितपुरबाट क्रिकेट पनि खेलिसकेका थिए । सुरुको महिना नै १५ जना प्रशिक्षार्थी आए । त्यहाँबाट सुरु भएको केसीटीसीको यात्रा अहिले सुविधासम्पन्न क्रिकेट एकेडेमी खोल्ने योजनामा पुगेको छ ।

योजनाबद्ध कामले दिएको सफलता

पहिलो ६ वर्ष खल्तीकै पैसा हालेर अभ्यास गराएको सम्झना ज्ञानेन्द्रको मनमा ताजै छ । पाँच जना मिलेर खोलेको टे«निङ सेन्टरमा तीन महिनामै चार जनाले हात झिके । त्यही बेला जोडिन आइपुगे अहिलेका मुख्य प्रशिक्षक मञ्जुर आलम खान ।

जग्गाधनीको सहयोग पनि कम नभएको ज्ञानेन्द्र सम्झन्छन् । ‘तिमीहरुले चलाउनुपर्छ । बरु भाडा पनि बिस्तारै तिर भनेर सहयोग गरिरहनुभयो,’ उनले भने ।

सुरुमा बिहान र बेलुका मात्रै सिकाइन्थ्यो । अहिले बिहान, दिउँसो र बेलुका गरेर तीन चरणमा कक्षा भइरहेका छन् । नियमित आउन नभ्याउनेका लागि शनिबार र बिदाको दिन छुट्टै कक्षा हुन्छ’ उनले भने, ‘अहिले सिक्न आउनेहरु ७० जनाको हाराहारीमा पुगेका छन् । बिदामा पनि ५० जना जति छन् । सबै गरेर झण्डै १०० जना छन् । गएको ७÷८ वर्षदेखि लगातार सिक्नेहरु पनि छन् ।’

विद्यालयको समयअनुसार मिलाएर सिकाउनु पर्ने हुँदा सबैको एउटै स्तर भने भएको छैन । सामान्य अभ्यास गरेपछि उनीहरुको क्षमताअनुसार स्तर बढाएर सिकाउने काम भइरहेको ज्ञानेन्द्र सुनाउँछन् । प्रतियोगिता खेल्ने क्षमतामा नपुगेकाहरुलाई अझै थप अभ्यास गराएर त्यसका लागि तयार पार्ने काम भइरहेको छ ।

कुनै पनि प्रतियोगिता अुन्दैछ भने उनीहरु छुटाउँदैनन् । दुईवटा टिम लिएर जाने गरेको ज्ञानेन्द्रले बताए । ‘भारतको हरियाणा र नयाँ दिल्लीमा पनि क्रिकेटका लागि भ्रमण गरिराखेका हुन्छौँ । खेलहरु खेलाउने हिसाबले लैजान्छौँ । त्यसलाई हामीले सकभर धेरै खेल खेलौँ भनेर सोचेका हुन्छौँ’ उनी भन्छन् ।

सबैको चाहना बढेको छ

अहिले ५ वर्ष उमेर पुगेका बच्चादेखि ३० वर्ष टेकेकाहरु पनि केसीटीसीका विद्यार्थी बनेका छन् । ‘केही दिनअघि मात्रै छोरा लिएर आएका एकजना बुबाले आफू पनि सिक्छु भनेर सुरु गर्नुभएको छ । रमाइलोका लागि पनि खेलाइरहेका हुन्छौँ । तर, धेरै १२ वर्षदेखि १८ वर्षसम्मका छन्’ ज्ञानेन्द्रले भने ।

सानो बच्चा आउँदा भर्ना नगरे पनि यत्तिकै पठाइरहनु भनेर बोलाउँछन् । जसले गर्दा एकैचोटी दबाव दिनेभन्दा केही कुरा बुझुन्, खेललाई माया गरुन् भन्ने सोच बनेको देखिन्छ ।

राष्ट्रिय टिमको खेलमा व्यस्त हुनुपर्ने हुँदा आफूले नियमित सिकाउन नपाउने ज्ञानेन्द्रले बताए । ‘मैले रेगुलर क्लास लिन भ्याउँदिन । मिलेको बेला भने आइहाल्छु,’ उनी भन्छन्, ‘नेपाली राष्ट्रिय टिमलाई पनि असिस्ट गरिसक्नु भएका मञ्जुर आलम खान मुख्य प्रशिक्षकमा हुनुहुन्छ । अनुभवी राजु बस्नेत पनि हुनुहुन्छ । जे होस्, विद्यार्थीहरुले राम्ररी सिक्न पाएका छन् ।’

गल्फुटारस्थित रोयल इन्डोर क्रिकेटसँग मिलेर गएको तीन वर्षदेखि रोयल केसीटीसी इन्डोर क्रिकेटको नाममा अभ्यास गराउन थाल्नुले पनि उनीहरुको सफलता बुझ्न सकिन्छ । ‘गएको तीन वर्षदेखि हामीले टाइअप गरेर मिलेर काम गरिरहेका छौँ । त्यहाँ श्यामसङ जंग थापा सर जानुहुन्छ’ ज्ञानेन्द्रले भने ।

केसीटीसीमा क्रिकेट सिक्न सुरुमा २५ हजार भर्ना शुल्क तिर्नुपर्छ । त्यसमा अभ्यासको बेला लगाउने लुगा पनि समावेश हुन्छ । त्यसपछि मासिक १२ सय रुपैयाँ तिर्नुपर्छ । शनिबार र छुट्टीमा आउनेका लागि मासिक ८ सय रुपैयाँ लिने गरिएको छ ।

सुरुमा होस्टल थिएन । अभ्यास गर्न आउनेहरु आफैं भाडामा बस्थे । गएर खाना बनाएर खानुपर्ने हुँदा समयको बचत गर्न तीन वर्षदेखि होस्टेल सुरु गरेको उनी बताउँछन् ।

‘आफूले अभ्यास गर्ने दिनहरु सम्झिएँ । ज्यान थाकिरहेको हुन्छ । त्यस्तो बेलामा खाना बनाएर खान सजिलो हुँदैन । त्यसैले होस्टल सुरु गरेका हौं’ उनले भने ।

यससँगै केसीटीसीले क्रिकेटसम्बन्धी अरु काममा हात हालेको छ । ‘हामी अहिले क्रिकेटसम्बन्धी अरु काम पनि गरिरहेका छौँ । जर्सीहरु बनाउँछौं, इभेन्ट अर्गनाइज गर्छौं । क्रिकेट सामाग्री बच्ने पनि गरेका छौं’ ज्ञानेन्द्रले भने ।

नजोडिएको दुई पुस्ता

आफूहरुले क्रिकेट सुरु गर्दा सामान्य कुरा पनि थाहा नभई सुरु गर्नुपरेको दिन सम्झिरहेका प्रशिक्षक राजु बस्नेत अहिलेको पुस्ताले अवसरहरु राम्रो पाएको बताउँछन् । ‘हाम्रो समयमा खेल सिक्न पठाउने भन्ने हुँदैनथ्यो । बरु लठ्ठी लिएर लखेट्न आउँथे । आजभोलि अभिभावकले डोहोर्‍याएर खेल्न ल्याइदिन्छन्,’ उनले भने ।

घरेलु क्रिकेटको संरचना नहुँदा नयाँ खेलाडीले आफ्नो प्रतिभा देखाउने अबसर भने कम पाएका छन् । ‘क्षेत्रीय र जिल्ला स्तरमा खेलहरु हुने हो, डिभिजन क्रिकेट हुने हो भने अझै राम्ररी खेलाडीहरु आउने छन्,’ प्रशिक्षक बस्नेत भन्छन् ।

त, घरेलु क्रिकेटको अवस्था दयनीय छ । यसले अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने र घरेलु क्रिकेट खेल्ने खेलाडीको स्तरमा ठूलो अन्तर देखिन थालेको छ । त्यो फरक बढ्दै जाने हो भने झनै भयानक अवस्था आउन सक्ने ज्ञानेन्द्र सुनाउँछन् । ‘दुई स्तरका खेलाडी घुलमिल हुन सकेका छैनन् । तलको तल नै खेलिरहेका छन्, माथिको माथि नै खेलिरहेका छन् । क्यान आएपछि केही होला कि ?’ ज्ञानेन्द्रले भने ।

राष्ट्रिय खेलाडी क्रिकेट खेलेर बाँच्ने अवस्था भएपनि घरेलु संरचना बलियो नहुँदा सयौं खेलाडीको अवस्था राम्रो छैन । भविश्यलाई लिएर चिन्ता कायमै छ । नयाँ पुस्ताका खेलाडीहरु धैर्यताको पनि कमी रहेको अनुभव ज्ञानेन्द्र र राजुको छ ।

‘अहिले छिटो नतिजा खोज्छन्, धैर्य गर्न नसक्ने स्वभाव छ हाम्रो समयमा यस्तो थिएन,’ ज्ञानेन्द्र भन्छन्, ‘शारीरिक रुपमो अहिलेका बच्चाहरु राम्रो हुन्छन् । स्किलफुल पनि छन् तर, सबै कुरा एकैचोटी हुँदैन, धैर्यता चाहिन्छ ।’


तपाईको प्रतिक्रिया