सानैदेखिको सपना धेरैको पुरा हुँदैन । अहिलेपनि बालबालिकालाई कसैले ठूलो भएपछि के बन्ने भनेर सोधी हालेमा उसले सुरुमै पुलिस,डाक्टर,ईञ्जिनियर वा पाईलटको नाम लिन्छ । तर भविष्यमा उ आफूले बच्चामा ठूलो भएपछि के बन्ने भनेर निर्णय समेत लिन सक्दैन ।

समाजले उसलाई के बनाउन उसले चालनै पाँउदैन । तर सानैदेखि जे बन्ने सपना बोकेर हिडेका मान्छेहरु भविष्यमा पनि त्यही बन्न पुग्छन् । बालकदेखिनै फौजी बन्ने सपना बोकेका बालक अन्त्यमा फौजी बनेपछि उ भाग्यमानी ठहरिन्छ । त्यस्तै भाग्यमानी हुन्,ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक निरञ्जन भट्टराई । उमेरले उनी भर्खरै २९ बर्षका छन् । तर कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका छन् ।

फौजी जीवनवाट प्रभावित उनी अहिले फौजी जीवन बिताईरहेका छन् । उनले सोचेको र कल्पना गरेको भन्दा फौजी जीवनलाई उनले भिन्न रुपमा पाएका छन् । पाटन क्याम्पसवाट एमएस्सी सकेसँगै नेपाल प्रहरीको प्रहरी निरिक्षक पदवाट सेवा प्रारम्भ गरेको केही बर्षमै उनले नारायणघाट र बनेपा जस्तो संवेदनशिल क्षेत्रको जिम्मेवारी पाएका छन् । उनले पाएको जिम्मेवारीलाई पटक–पटक कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

जिम्मेवारीलाई कुलशतापूर्वक निर्वाह गर्ने उनको बानी व्यवहारकै कारण उनले प्रहरीसेवामा आफूलाई अब्बल दर्जाको प्रहरी अधिकृतको रुपमा स्थापित गरेका छन् । उनले बनेपा ईलाकाको जिम्मेवारी लिएपछि धेरै सुधारका कामहरु समेत गरेका छन् । हल्लाखल्ला नगरि शान्त तरिकाले काम गर्न सकिन्छ भन्ने प्रमाण उनले लागु औषधका कारोवारी र प्रयोगकर्तालाई नियन्त्रणमा लिएसँगै प्रमाणित समेत भैरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपछिको सबैभन्दा महत्वपुर्ण र जिल्ला प्रहरी सफल असफल हुने ईलाका प्रहरी कार्यालय बनेपाको जिम्मेवारीलाई सक्षम रुपमा पुरा गरेका भट्टराई सफा र सुन्दर बनेपा बनाउने अभियानमा बनेपा नगरसँग समन्वय गरेर काम समेत गरेका छन् ।

काभ्रेको बनेपा ईलाका प्रहरी कार्यालय रहेर पनि जग्गा नपाउँदा समस्यामा परेको थियो । जिल्लासँगको समन्वय र बनेपा नगरपालिकासँगको निरन्तर संवादले ईलाका प्रहरी कार्यालय बनेपाको लागि आवश्यक रहेको जग्गा नगरवाट केही दिनमै प्रहरीचौकीलाई हस्तान्तरण हुने चरणमा रहेकोमा उनी निक्कै खुसी छन् । आजवाट नगरले सुरु गरेको सफाई अभियानमा आम बनेपाबासीको साथ र सहयोगको अपेक्षा उनले गरेका छन् । उनै ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक भट्टराईसँग प्रहरीको व्यक्तिगत जीवन र सुरक्षासँग सम्बन्धित रहेर गरिएको कुराकानीको संम्पादित अंश :

० प्रहरी सेवामा किन र कसरी प्रवेश गर्नुभयो ?
– पढाईको क्रममा भोजपुरवाट काठमाण्डौ हामी आएका थियौ । म काठमाण्डौंमा एमएस्सीको पढाई सकेर जागिरको खोजीमा थिए । सो समयमा नेपाल प्रहरीले प्रहरी निरिक्षक पदमा दरखास्त माग गरेको थियो । लगत्तै लोकसेवा आयोगको परिक्षा मार्फत प्रहरी निरिक्षक पदमा सफल भए ।

मेरो फौजी सेवाप्रतिको रुची सानै उमेरदेखि रहेको थियो । मलाई फौजीका कृयाकलापले औधी आकर्षित गर्दथ्र्याे । राष्ट्रसेवामा लाग्ने र फौजमा आकर्षित भएकाले मैले प्रहरीमा निवेदन दिएको हो । मेरो बालपनदेखिनै मेरो फौजीको तरिका र उनीहरुको रहनसहन र जागिरको काम गराईको देखेर म औधी आकर्षित भए । त्यसैमा प्रवेशको मौका समेत मिल्यो ।

० फौजीमा प्रवेश गर्नुभन्दा पहिला र अहिले के अन्तर पाउनु भयो ?
– धेरै अन्तर रहेछ । मैले पहिला प्रहरी हो । प्रहरीले हतियार हुन्छ । सबै अधिकार हुन्छ । प्रहरीमा चाहेमा जे पनि हुन्छ भन्ने सोचेको थिए । तर त्यस्तो होईन रहेछ । प्रहरीलाई हतियार सुरक्षाको निम्ति दिएको भन्ने थाहा पाए । प्रहरीको हतियारले धेरै जनताले आनन्दसँग निदाउन सक्ने वातावरण रहेको मैले नजिकवाट हेर्ने मौका पाए । त्यो कार्यान्वयन गराउने अधिकार मैले भेट्टाए ।

प्रहरी कानुन,नियमको आधारमा संचालित हुने रहेछ । प्रहरी संगठनभित्र अधिकारसँगै त्योभन्दा धेरै दायित्ववोध समेत हुन्छ । त्यो दायित्ववोध कसरी पुरा गर्ने भन्ने काममा म निरन्तर आफ्नो जिम्मेवारीमा लाग्ने गरेको छु ।

० ईलाका प्रहरी कार्यालय बनेपालाई तपाईले अवसर र चुनौतीका रुपमा कसरी लिनु भएको छ ?
– मेरो करियरमा ईलाका प्रहरी कार्यालय बनेपा मेरा लागि अवसर र चुनौती हो । हाम्रोमा जनशक्तिको कमी,भौतिक स्रोत र साधनको अभाव भएपनि हामीले उपलब्ध जनशक्तिको आधारमा काम गरिरहेका छौ । हाम्रो क्षेत्राधिकार भित्र शान्ति सुरक्षालाई सक्षम रुपमा राख्न सकेका छौ । हाम्रो समस्या भनेको राजमार्गकै हो । हामीले दुर्घटनाका धेरै समस्या रहेका छन् । ती समस्याहरुको समाधान गराउनको लागि हामीले काम गरेका छौ । बलात्कार महिला हिसाका घटनाहरु कम गराउन काम गरिरहेका छौ ।

हामीले समुदाय प्रहरी साझेदारी ,महिला हिंसा न्यूनिकरणका लागि जनप्रतिनिधीसँग मिलेर काम गरिरहेका छौ । हामी चेतनामूलक कार्यक्रम गर्ने र अपाराध भएपछि अपराधी खोज्न हिड्ने भन्दा पनि अपराधनै कसरी कम गर्न सकिन्छ भनेर काम गरिरहेका छौ ।

० ईलाका प्रहरी कार्यालयले जग्गा कसरी पायो ?
– हाम्रो ईलाका प्रहरी कार्यालय बनेपा रहेको स्थानको जग्गा एकदमै साँघुरो भयो । यसवाट हामीले नियमित काम गर्ने कुरामा समेत समस्या सृजना हुन गयो । अहिले हाम्रो ४÷५ आनामात्रै जग्गा बाँकी रहेको अवस्था छ ।

राम्रोसँग काम गर्नको लागि हामीलाई जग्गा आवश्यक रहेको थियो । पहिलादेखिनै ईलाका प्रहरी कार्यालयले जग्गाको खोजी गरिरहेको थियो । भर्खरै बनेपा नपाले आफ्नो नाममा रहेको जग्गा हामीलाई उपलब्ध गराउने कार्यापालिका बैठकवाट निर्णय गरेको छ । बनेपा–८ मा रहेको जग्गा २ रोपनी जग्गा हामीलाई दिने निर्णय भैसकेको छ । हालसाबिकको काम भैरहेकाले हामीलाई केही दिनमै हाम्रो नाममा जग्गा हस्तान्तरण हुन्छ ।

० भवन नहुँदा ईलाका प्रहरी कार्यालयले कस्तो समस्या पाईरहेको छ ?
– धेरै समस्याहरु रहेका छन् । हाम्रा कर्मचारीहरु बस्ने व्यारेक हामीसँग छैन । कर्मचारीहरु बाहिर भाडाको घरमा बस्ने समस्या रहेको छ । त्यस्तै खानेपानीको राम्रो व्यवस्था हुन सकेको छैन । थुनुवा कोठाको राम्रो व्यवस्था हुन सकेको छैन । थुनुवा धेरै भएमा अन्य चौकी र जिल्लामा थुनुवा लिएर जाने अवस्था सृजना भएको छ । हाम्रोमा सेवाग्राहीलाई दिने सेवाकक्षहरुको अभाव रहेको छ । एउटै कोठावाट धेरै सेवा दिनुपर्ने कारणले समस्या सृजना भएका छन् ।

यो समस्याको समाधान अब जग्गा प्राप्ती भएसँगै नयाँ भवन बन्ने भएकाले हामीले भोग्दै आएको ब्यारेकदेखि भवनसम्मको समस्या समाधान हुने विश्वास हामीले लिएका छौ ।

० ईलाका प्रहरी कार्यालयवाट दिएको शान्ति सुरक्षामा जनताहरु सन्तुष्ट छन् जस्तो लागेको छ ?
– हामीले जनतालाई सकेसम्म सुरक्षित रहने ढंङ्गवाट काम गरिरहेका छौ । हामीले हामीसँग रहेको स्रोत र साधनको उच्चतम् प्रयोग गरेर काम गरेका छौ । हामीलाई गुनासो आएका छैनन् । हामीले घटना घटेलगत्तै क्यूक रेसपोन्सको नीति अपनाएका छौ । घटना घटेको सूचना पाए लगत्तै बाटोको समय बाहेक हामीले त्यहाँ पुगेर जनताको सेवामा हाजिर भएका छौ ।

० तपाईले यो दावी गरिरहदा समय समयमा चोरी र आपराधिक घटनाहरु बढेका छन् नी ?
– अपराध न्यूनिकरणको लागि अपराध घटेपश्चात प्रहरी पुग्ने कुरा छँदैछ । तर अपराध घट्न नदिन राजमार्गको सुरक्षा कसरी गर्न सकिन्छ भनेर काम गरिरहेका छौ । दुर्घटना न्यूनिकरण, चोरीलाई कसरी निरुत्साहित गर्न सकिन्छ भनेर काम गरिरहेका छौ । त्यसका साथी हुन सक्ने संभ्भाव्य अपराध नियन्त्रणमा हामीले विशेष चासोका साथमा काम गरिरहेका छौ ।

हामी प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण लिन नसक्ने भएकाले हामीले सबै क्षेत्रको सहयोग लिएर काम गरिरहेका छौ । हामीले विद्यालयस्तरदेखि समुदायस्तरसम्मका सचेतना कार्यक्रम संचालन गरेका छौ । हाम्रो दायित्व शान्ति सुरक्षा कायम गराउने हो । तर सबैको सहयोगले मात्रै सामाजिक रुपमा शान्ति कायम हुन्छ । अपराध हुँदैन । त्यसका लागि हामी सबैको सहयोग लिएर अपराध कम गर्ने प्रयासमा छौ । विशेष गरेर घटनाहरु ठूलाठूला चोरीका घटनाहरु, संगठित अपराधहरु यो कार्यालय मातहत भएका छैनन् ।

० राम्रो कमाई हुने प्रहरी कार्यालय भनेर बनेपा प्रमुख बनेर आउन आन्तरिक र बाह्य ठूलो शक्ति केन्द्रीत हुन्छ रे हो ?
– मलाई त्यस्तो लाग्दैन । मलाई त्यस्तो हुन सक्छ जस्तो पनि मलाई लाग्दैन । म यो पहिलो पटक सुन्दैछु । बनेपा च्यालेन्जिङ ठाँउ हो । तर पहिला धेरै अपराध हुने, क्षेत्राधिकार धेरै रहेको ठाँउ हो । तर यहाँ आउन पैसा खुवाउनु पर्ने, भनसुन गर्नु पर्ला जस्तो लाग्दैन । म नियमित प्रकृयावाट यहाँ आएको हो । सुरुमा प्रहरी संगठनले मलाई काजमा यहाँ पठायो अहिले दरबन्दीमा म कार्यरत रहेको छु । पहिला पनि म ईन्चार्जको रुपमा वडा प्रहरी कार्यालय नारायणघाट र पछि पनि ओखलढुंगा गएर यहाँ आएको हो । म तपाईले भनेको जस्तो आर्थिक लेनदेन होला जस्तो लाग्दैन ।

० बनेपाका चुनौती के रहेका छन् ?
– बनेपा राजधानीसँगै जोडिएको जिल्ला हो । भ्यालीसँग नजिक भएसँगै भ्यालीको अपराध काभ्रेको बनेपासम्म आँउछ । हाम्रो ईलाकाले भ्यालीलाई जोड्छ ।
भ्यालीमा ठूलाठूला अपराध गर्ने अनि काभ्रेमा लुक्न काभ्रे आउने, राजमार्ग भएर भ्यालीमा अपराधी छिर्ने, अपराधी र ईलिगल व्यापार भ्यालीमा भित्रने र बाहिरिने काम हुन्छ । त्यसको चुनौती हामीसँग छ ।

काभ्रेमा भ्यालीका अपराध लुकाउने र भ्याली नजिकैका जिल्लाहरुमा भएका अपराध छेक्न काभ्रेको बाटो प्रयोग हुने भएकाले हामी त्यस्ता अपराधीलाई नियन्त्रणमा लिनको लागि दिनरात मेहनत गरिरहेका छौ । त्यसमा हामीले सफलता समेत हात पारेका छौ । हामीले भएका जनशक्तिलाई परिचालन गरेर हामीले अपराध कम हुने काम गरिरहेका छौ ।

० समय समयमा प्रहरी र अपराधीको साँढगाँढ हुने चर्चा बजारमा सुनिन्छ नी ?
– त्यस्तो केही पनि छैन । ईलाका प्रहरी कार्यालयले अपराधी, आपराधिक मनोवृत्ति भएकाहरुसँग तस्करी,गुण्डागर्दी गर्नेसँग हामी सम्बन्ध विस्तारको कल्पना समेत गर्न सक्दैनौ । त्यो आरोप हो ।  हामीले साना ठूला जस्तोसुकै अपराधी हुन् । राजनीतिक संरक्षणमा लुकेकाहरु हुन् । अपराध गरेको छ र अपराधमा संम्लग्न रहेको छ भने कानुनी कठघरामा ल्याउने छौ ।

० बनेपा नपासँगको सहकार्यमा सफाई कार्य के हो ?
– हामीले अरनिको राजमार्गको सफाईमा बनेपा नपाासँग समन्वय गरेर काम सुरु गर्दै छौ । हामीले नपासँग समन्वय गरेर सफा नगर कसरी बनाउन सकिन्छ भनेर सामाजिक काममा कृयाशिल रहेका छौ । हामीले बनेपाको पुलबजारवाट यो कार्य सुरु हुनेछ । विशेष गरेर राजमार्गमा आफ्नो सटरभन्दा बाहिर सामान निकाल्ने सार्वजनिक सडकलाई आफ्नो व्यापार गर्ने थलो बनाउनेहरुलाई निरुत्साहित गर्नको लागि अभियान सुरु गरेका छौ । यो समयमा पार्किङलाई व्यवस्थित बनाउन सहकार्य गरेर अघि बढेका छौ ।

राजमार्ग काभ्रेको शान हो । तर काभ्रेको मुख्य बजार बनेपामा फोहोरको अवस्था धेरै जटिल बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्का सरले समेत राजमार्ग व्यवस्थापनमा विशेष चासो राख्नु भएको छ । यो अभियानमा उहाँको सकृयता धेरै छ । त्यसैले हामीले पुलबजारदेखि फोहोर व्यवस्थापन,पार्किक व्यवस्थापन, फुटपाथको व्यवस्थापनमा कसरी राम्रो गर्न सकिन्छ भनेर काम गरिरहेका छौ ।

० बनेपाको सबैभन्दा धेरै मुद्धा के मा चल्छ बनेपा ईलाका प्रहरीवाट ?
– हाम्रो कार्यालयमा सबैभन्दा धेरै सवारी ज्यानका समस्याहरु रहेका छन् । राम्रोसँग फुटपाथको व्यवस्थापन हुन नसक्दा दुर्घटनाको जोखिम उच्च रहेको छ । त्यसैले हामीले राजमार्ग व्यवस्थापनको लागि नगरसँग समन्वय गरेर काम अघि बढाएका छौ ।

हाम्रोमा लागु औषधको घटना, छिटपुट रुपमा महिला हिंसा र केही सार्वजनिक अपराधको मुद्धा रहेको छ । विशेष गरेर राजमार्गको कारणले काठमाण्डौ भित्रने र बिपी राजमार्गमा सवारीको चाप भएकाले सवारीको समस्या रहेको छ । महिला हिंसामा बलात्कार, श्रीमान श्रीमतीको घटनाहरु समस्या छन् ।

० काभ्रेमा नाईट्रोभेटको समस्या के हो ?
– काभ्रे राजधानी भित्रने र बाहिरने मुख्य नाकाको रुपमा विकास भैरहेको छ । पूर्वका भन्सारहरुवाट ल्याउने र काभ्रेको वाटो प्रयोग गर्ने भएकाले काभ्रेमा लागु औषधको समस्या दैनिक रुपमा बढेको छ । काभ्रेमा लागु औषधको कारोवार गर्ने,प्रयोग गर्ने र काठमाण्डौंमा हुने अपराध र अपराधी लुकाउने ठाँउको रुपमा काभ्रे विकास हुने संम्भावना रहेको छ । त्यो संम्भावना देखेर हामीले विशेष सुराकीको आधारमा नाईट्रोभेट–१० नामक अवैध लागु औषधका कारोवारीलाई नियन्त्रणमा लिएका छौ ।

यो एक महिनामा मात्रै हामीले ८ जना कारोवारीलाई मुद्धा चलाएका छौ । नाईट्रोभेट–१० को प्रयोगले मान्छे लट्टिने भएकाले त्यसको प्रयोगकर्ताहरु बढीरहेका छन् । नाईट्रोभेट–१० को मुख्य बजार काठमाण्डौनै हो । तर त्यसको लागि काभ्रेको बाटो प्रयोग भैरहेकाले त्यो रोक्न हामीले काम गरिरहेका छौ । त्यसमा हामीले सफलता समेत पाएका छौ ।

काभ्रे जिल्लामा सात महिनामै १० वटा लागु औषध सम्बन्धी मुद्दा चलेको छ । इलाका प्रहरी कार्यालय बनेपाले ८ वटा मुद्दा चलाएको मध्ये ६ जना १८ देखि २४ वर्ष उम्मेरका रहेका छन् । जिल्ला प्रहरीले चलाएको मुद्दामा पनि २ जना किशोर अवस्थाका छन् । लागुऔषध प्रयोग कर्ताहरुले नेट्रोभेट,गांजा, यामपुल,नाइट्रोसन ट्यावलेट, सिरिञ्जको प्रयोगकर्ता बढेका छन् ।

खबर चौतारी साप्ताहिकमा कार्यकारी सम्पादक केशवराज पौडेलले लिएको अन्तर्वार्ता ।


तपाईको प्रतिक्रिया