तामाघाट – प्रदेश नंम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले ईन्द्रावती नदीको पानी मण्डन उपत्यकाहुँदै पाँचखाल ल्याउने बताएका छन् । शनिवार काभ्रेको पाँचखालमा रहेको आर्थिक विकास साकोसको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले ईन्द्रावतीको पानी पाँचखालमा ल्याएर सिंचाई गर्ने बताएका हुन ।

पाँचखालमा सिंचाईको व्यवस्था मिलाउन हामीले योजना बनाइसकेका छौ मुख्यमन्त्री पौडेलले भने । उनले सहकारीले कृषिको विकासमा सहयोग गरेको बताउँदै सहकारीको विकासले समग्र ग्रामीण समुदायको विकासमा उल्लेख्य भुमिका खेलेको बताए । कार्यक्रममा बोल्दै प्रदेश सभाका सांसद लक्ष्मण लम्सालले पाँचखालको सिचाई र खानेपानीको विकासमा आफूले पहल गर्ने बताउँदै आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको विकासमा सदैव प्राथमिकतामा रहेर काम गरिरहेको बताए ।

कार्यक्रममा प्रदेशसभाका सदस्य दीपक निरौला नेपाल रेडक्रस सोसाईटी काभ्रेका सभापति रघुवरचौ प्रधान, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, मण्डन देउपुर न पा वडा न ८ का अध्यक्ष झलक प्रसाद पौडेल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव सुरेन्द्रप्रसाद पौडेल लगायत बिशिष्ट ब्यक्तिहरुको सहभागीता रहेको थियो । सभाको सभापतित्व संस्थाका अध्यक्ष सरोज सापकोटाले गरेका थिए ।

संस्थाका सचिव बाबुकाजी पराजुलीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष सत्यदेवी भट्टराइले स्वागत मन्तव्य राखेका थिए । कोषाध्यक्ष राजन कार्कीले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममा लेखा समितिका संयोजक प्रभुराम कोइरालाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

भवन बनेपछि सेवामा विस्तार

१८ जना कर्मचारी छन् आर्थिक विकास साकोसमा । सहकारीको भवन बनेसँगै अब राम्रोसँग काम गर्न सकिने भएको सहकारीका अध्यक्ष सरोज सापकोटाले बताए ।

भाडाको घरमा कार्यालय साँघुरो तरिकाले संचालन भएको अब आफ्नो भवनमा संचालन हुने भएपछि सहकारीका सदस्यहरुमा समेत खुसी भएका छन् । ६० लाख खर्चिएर बनेको भवनवाट अब सबै कामहरु संचालन हुनेछन् ।

खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया