सुशीला बिष्ट, धुलिखेल-१०, काभ्रेपलान्चोक-

 

‘कविता’

“नारी फूल र शक्ति”
आहा !बाग यहाँ मनोहर थियो हाँस्थ्यो खुसीले मन
पीडा हुन्छ अघोर आज लुटियाे त्यो फूलको यौवन
बस्छन् फूल रुँदै अचेल भमरा हाँस्छ्न रमाएर ती
बाँच्ने नैतिकता कहाँ अलप भो खै त्यो छँदै छैन कि।

आए मानिस यी कयौँ तरहका राक्षसरूपीहरू
लाखौँ यत्न गरेँ बचाउन हरे मैले अरू के गरूँ
मान्छेको गुण एक भेटिनँ कतै पापी थलो झैँ छ यो
देख्दा चिन्तित हुन्छु लौन दुनियाँ औधी बिमारी भयो।

हेपाहा नर छन् धरातलभरी बग्दै छ उल्टो नदी
यो सङ्क्रामक रोग हो जगतको छैनन् कुनै औषधि
यस्तै हुन्न सधैँ चलाख रविले तातेर जल्छ्न् चिता
हुन्छन् ध्वस्त सबै बिषालु बिरुवा ब्रह्माण्डमा उम्रिँदा।।।।

धर्ती देख्दछु गर्भिणी अब भइन् जन्माउँछिन् वीरता
आफैँ देखिन थाल्दछ्न् पवनमा आनन्दको शूरता
फूल्छे फूल कडा सुगन्ध बिषको कोही रहन्नन् सुखी
जल्छ्न् कौरव यी दुशासनहरू फुट्दैछ ज्वालामुखी।।।।

धर्तीमा जब धीरता अति भयो उत्पन्न भो शक्ति यो
सारा पाप समाप्त पार्न नभ झन् सङ्गै खडा भैदियो
छैनन् है कमजोर हेर सबले ताकेर आयो घडी
नारी फूल र शक्ति एकजुट भै मच्चाउँछ्न् हुण्डरी ।


तपाईको प्रतिक्रिया