काठमाडाैं – शहीद स्मारक ए डिभिजन लिगमा कीर्तिमान राख्ने लक्ष्यसहित अगाडि बढेको मनाङले लगातार १२ औं जित निकालेको छ ।

सशस्त्र प्रहरीको मैदान हलचोकमा बुधबार भएको खेलमा लिगमा अपराजित एक्लो टिम मनाङले हिमालयन शेर्पाविरुद्ध दुई – एकको जित निकाल्यो ।

बारम्बार गोलको प्रयास गरेपनि मनाङले ३६ औं मिनेटमा पुगेर अग्रता बनायो । उसका अफिज ओलाओलेले गोल गर्न सफल भए । तर ४५ औं मिनेटमा शेर्पाले खेल बराबरीमा पुर्यायो । उसका लागि विश्वास श्रेष्ठले गोल गर्न सफल भए ।

पहिलो हाफमा बराबरीमा रोकिएको मनाङले ६४ औं मिनेटमा फेरी अग्रता बनायो । उसका लागि विशाल राइले दिपक राइको पासको सदुपयोग गर्दै गोल गरे । ७० औं मिनेटमा मनाङ र शेर्पा १० खेलाडीमा झरे ।

खेलमा अभद्र व्यवहार देखाएको भन्दै मनाङका मुहम्मद आरिफ र शेर्पाका विश्वास श्रेष्ठलाई रातो कार्ड दिइयो । त्यसपछि दुवै टिमबाट गोल भएन र मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्यो ।


तपाईको प्रतिक्रिया