काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाउने र हदैसम्मको कारवाही हुने बताउनुभएको छ ।

मंगलबार नेपाल स्काउटले  काठमाडौंमा आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा  बोल्दै ओलीले पन्तको बलात्कारपछिको हत्याका अपराधी पत्ता लगाउन समय लागेको भन्दै जसरी पनि पहिचान गर्ने र कारवाही गर्ने बताउनुभएको हो । पन्तको घटनाको प्रहरीले स्वतन्त्र अनुसन्धान गर्न नपाएको गुनासो पनि उहाँको थियो ।

‘केही मानिस अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’ घटना आश्चर्यजनक भइरहेको छ प्रधानमन्त्रीको भनाई थियो । ‘घटनाको छानबिन गर्ने संस्थाले स्वतन्त्र ढंगले गर्न पाएको अवस्था पनि छैन, त्यसभित्र कतिपय शक्तिहरुले आफ्नो स्वार्थ त्यहाँ मिसाएर त्यसलाई झण्डा बनाएर कुदेको पनि देखिन्छ । फलानोलाई समानुर्पयो, फलानोलाई किन समातिस्, किन यता लग्यो यता लगेन आदि, जसले गर्दा पनि अध्ययन अनुसन्धानको काममा ब्यवधान भएको छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले प्रहरीले निर्मला पन्तको घटनामा सुरुमा केही गल्तीहरु गरेको देखिएकोले  प्रहरीले त्यो गल्ती किन र्गयो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको बताउनुभयो । ‘पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेका छौं’ । अपराध अनुसन्धानमा नेपाल प्रहरी आम रुपमा सक्षम भए पनि निर्मला पन्तको घटनामा भने अपराधी पत्ता नलाग्नु दुखद हो’ उहाँले भन्नुभयो ।

‘नेपाल प्रहरीले ९५ प्रतिशतभन्दा बढी अपराध पत्ता लगाएका छन् ।  आम रुपमा अपराध अनुसन्धान गर्न, अपराधी पत्ता लगाउन, कारबाही गर्न नेपाल प्रहरी सक्षम छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यस बीचमा भएका यसै प्रकारका घटनामा आम रुपमा पत्ता लागेका छन् । बलात्कारका घटना, बलात्कारपछिका घटनाहरु प्रहरीले पत्ता लगाएको छ । तर दुःखलाग्दो कुरा आश्चर्यजनक कुरा निर्मला पन्तको यथार्थ अन्तिम रुपमा टुंगो लाग्न सकेको छैन । यो दुखद पक्ष हो ।’ प्रधानमन्त्रीले भन्न्ुभयो ।

प्रधानमन्त्री ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने दावी गनुभयो ।  ‘अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजाय दिलाएरै छाड्छौ, सरकार यसमा गंभिर ढँगले लागिरहेको छ ।’प्रधानमन्त्रीको भनाई थियो ।

कार्यक्रममा  प्रधानमन्त्री ओलीले  लाखौ युवाहरु  रोजगारी खोज्दै विदेश जानुपर्ने बाँध्यता हटाउन सरकारले कृषिमा आधुनिकीकरण, सिपमुलक तालिम, विदेशमा सिप सिकेर आएकाहरुलाई सहुलियतमा ऋण उपलव्ध गराउने कार्यक्रम पनि सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

नेपाली युवाहरुलाई  नेपाल चिनाउन, नेपालले हासिल गरेको उपलब्धिहरु साँट्न मात्रै विदेश जाने वातावरण बनाउन सरकार लागिपरेको भन्दै प्रधानमन्त्री ओलीले अब विस्तारै वैदेशिक रोजगारमा जानेहरुको संख्या घटाइने बताउनुभयो ।


तपाईको प्रतिक्रिया