काठमाडौ – प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराको सुनुवाइ आज हुँदैछ ।

बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा सुनुवाइका लागि जबरालाई बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । आइतबार नै सुरु भएको सुनुवाइ कर्मचारीको आन्दोलनका कारण पूरा हुन सकेको थिएन । आइतबारको बैठकमा उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गरिसक्नुभएको छ ।

संसदका कर्मचारीहरुले संविधानसभा र अघिल्लो व्यवस्थापिका संसदमा ८० प्रतिशत भत्ता बुझ्ने गरेका थिए। तर, सरकारले यस पटक उक्त भत्ता कटौती गरेपछि संसदका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।

बैठक प्रभावित भएपछि समिति सभापति लक्ष्मणलाल कर्णले सोमबारका लागि बैठक आह्वान गरेका थिए। तर, कांग्रेस सांसदहरुले सोमबार मेलमिलाप दिवस रहेको जनाउँदै बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि बैठक मंगलबारका लागि सारिएको थियो ।

राणा प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दावी गर्दैै समितिमा नौवटा उजुरी परेका छन् ।

न्याय परिषदले सिफारिस गरेका जबराको नाम संसदीय समितिले अनुमोदन गरे उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्ने बाटो खुल्नेछ ।


तपाईको प्रतिक्रिया