दोलालघाट । हरेक वडाका किसानहरुवाट माटो संकलन गरेर भुम्लु गाँउपालिकाले दोलालघाटमा ल्याएर माटो परिक्षण सुरु गरेको छ ।

काभ्रेको भुम्लु गाउँपालिकाले गाउँमै किसानहरुको लागि माटो परिक्षणको ब्यवस्था गरिदिएको छ । काभ्रेको कोशीपारि भुम्लु गाँउपालिकाको १० ओटानै वडाका किसानहरुको माटो परिक्षण आजबाट सुरु भएको छ ।

भुम्लु गाँउपालिकाले केही महिनादेखि कृषकहरुलाई माटो परिक्षण पश्चातहुने फाईदाको बारेमा वडामै पुगेर जागरुक बनाएपछि आज आइतबार देखि गाउँपालिकाको ८ नं वडा दोलालघाटमा माटो परिक्षण सुरु गरिएको छ ।

भुम्लु गाँउपालिकामा व्यावसायिक र उन्नत जातका कृषि उपज वृद्धिका लागि ३ दिनसम्म बृहत माटो परिक्षण गर्न लागेको हो । कृषकहरूको जग्गा जमिनको माटो परीक्षण, माटो अनुसार मलको प्रयोग, मौसमअनुकूल खेती गर्ने विधिलगायतका ज्ञान प्राप्त र जानकारीको लागि गाउँमै यस्तो ब्यवस्था गरेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरले बताए । तीन दिनमा ६ सय किसानको माटाको परिक्षण गरिने छ ।

उक्त माटो परिक्षण गर्ने ठाउँमा पौषको १५ देखि १७ गतेसम्म हरेक वडा–वडावाट कृषकहरुले संकलन गरेको माटोको परिक्षण छ । काभ्रेको विकट क्षेत्रमा पर्ने कोशीपारिको भुम्लु गाँउपालिकाले हरेक वडाका किसानहरुको माटोको अवस्थाको अध्ययन गरेर सोही अनुसारको खेती प्रणालीमा सहभागी हुने योजना गाउँपालिकाले अघि सारेको छ ।

भुम्लु गाँउपालिका कृषि शाखाका ज्ञानेन्द्र दाहालले सबै वडामा पुगेर कृषकहरुलाई खेती प्रणालीका लागि माटोको आवश्यकता बारे जानकारी गराई सकेको बताउँदै परिक्षणमा गाँउपालिकाभरीका स्थानीयले सहभागीता जनाउने बताए ।


तपाईको प्रतिक्रिया