
काठमाडौं – जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकटोक पहुँच दिने शैली बदल्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
बुधवार संसद भवन सिंहदरबारमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुबाट आएको गुनासो सुन्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
सांसदहरुले मन्त्रीलाई भेट्नका लागि ढोकाको छेउमा कुरेर बस्नुपर्ने र कर्मचारी जुनसुकै तहको भए पनि बिना रोकटोक भित्र जाने कुरा उठाएसँगै मन्त्रीलाई राखेर जनप्रतिनीधिलाई सम्मान गर्न निर्देशन दिनुभएको हो । सांसदहरु द्वारपाले होइनन्, मन्त्रीहरु पनि आकाशबाट खसेका अलौकिक मान्छे होइनन् । पहिलो प्राथमिकता जनप्रतिनिधिले पाउनुपर्छ ।’ प्रधानमन्त्रीको भनाई थियो ।
मन्त्रीहरुले भेट नदिएको र जनताको काम गर्न नसकिएको भन्ने अधिकांश सांसदहरुको गुनासो सुनुवाई गर्दै प्रधानमन्त्रीले दलको बैठकमा सबै मन्त्रीलाई राखेर निर्देशन दिनुभएको हो । नेकपा सांसद झपट रावलका अनुशार प्रधानमन्त्रीले सांसदको गुनासोलाई गम्भीरतपूर्वक लिंदै मन्त्रीहरुलाई निर्देशन दिनुभएको जानकारी दिनुभयो ।
संसदीय दलको बैठकमा दलका नेता ओली र पार्टी अध्यक्ष प्रचण्डले सांसदहरुलाई सम्बोधन गर्नुभएको थियो । दुवै नेताले सरकारको बचाउमा सशक्त ढंगले संसदमा प्रसतुत हुन सांसदहरुलाइ निर्देशन दिनुभएको छ । बैठकले नेकपाको संसदीय दलको विधान समेत पारित गरेको छ ।