दाप्चा : दाप्चामा भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट ३१ लाख ८२ हजार रुपैयाँ संकलन भएको छ ।

अहोभाग्य हरिनाम संकीर्तन भजन मण्डल नमोबुद्ध –८, दाप्चाको आयोजनामा भएको सप्ताह ज्ञान महायज्ञ ‘दिव्यानन्द महोत्सव’ मा १ हजार १ सय ९० जनाले नगद र केही जिन्सी समेत सहयोग गरेका हुन् ।

सञ्चालन खर्च कटाएर बाँकी रहेको रकम धार्मिक वाचनालय र संरचना निर्माणमा खर्च गरिने कार्यक्रम संयोजक रामेश्वर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार, नमोबुद्ध ७ का रमेश खनालले २ रोपनी जग्गा र रामेश्वर श्रेष्ठले घडेरीको लागि आवश्यक जग्गा दान गरेका छन् । स्थानीय भाइराजा श्रेष्ठले ५१ बोरा सिमेन्टको प्रतिवद्धता जनाएका छन् ।

महायज्ञमा काभ्रे लगायतका छिमेकी जिल्लाका करिब २० हजार भक्तजन सहभागी भएको संयोजक अधिकारीले जानकारी दिए । जग्गादाता, मुर्तिदातालाई अभिनन्दन र चन्दादाताहरुलाई कदरपत्र प्रदान गरिएको छ । रामगुरु कविप्रसाद गौतमको कृपाले पण्डित चन्द्रमणि सिग्देलको स्मृतीमा आयोजना गरिएको सप्ताहमा वाचन प्रविण युवा पण्डित रामहरी सिग्देलले कथा वाचन गरेका थिए भने उपवाचक पण्डित पुरुषोतम हुुमागाई थिए ।


तपाईको प्रतिक्रिया