बनेपा : केही साताअघि बनेपा नगरपालिकाले फोहोर फाल्दै आएको श्रीखण्डपुरको डम्पिङमा आगो लागेपछि त्यसले बनेपामै दुर्गन्धित बनायो । बनेपा दुर्गन्धित बनेसँगै स्थानीय जनताले संर्घष समिति बनाएर श्रीखण्डपुरको डम्पिङमा फोहोर फाल्न नदिने निर्णयनै गरे । त्यसपछि बनेपाको फोहोर उठ्न सकेन । एक सातासम्म पर्ख र हेरको नीतिमा रहेको बनेपा नगरपालिकाले अन्ततः बाँध्य भएर काठमाण्डौ महानगरपालिकाले फोहोर फाल्ने सिसडोलमा लगेर बनेपाको फोहोर फाल्यो ।

बनेपा नगरपालिकामा फोहोरको समस्या पहिलो भने हैन । जेठमा एक सातासम्म निरन्तर बनेपाको फोहोर नउठेपछि बनेपा सिलाथली मार्गका महिलाहरुले नगरप्रमुख लक्ष्मीनरसिं वादेलाई घरको फोहोरनै उपहार दिएका थिए । अशोजमा त्यही समस्या दोहोरियो । बर्षादमा डम्पिङ जाने सडक भत्किएपछि पटक–पटक बनेपाको फोहोर उठ्न सकेको थिएन ।

फोहोरको समस्या बढेपछि बनेपा नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी एक नीजि कम्पनीलाई दिएको थियो । त्यतीबेला ठूलो तामझामका साथमा अब बनेपाको फोहोर दिर्घकालिन रुपमै समाधान भएको बताईएपनि बनेपाको फोहोर यतीबेला सिसडोल पु¥याउने बाँध्यता सृजना भयो । बनेपा नगरपालिकाले जिल्लाभित्र फोहोर व्यवस्थापन गर्न सकेको छैन । फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको नीजि कम्पनीले समेत फोहोर व्यवस्थापन गर्न सकेन ।

बनेपाको फोहोर व्यवस्थापनको लागि जग्गा खरिद प्रकृया ९९ प्रतिशत सकिएकाले केही दिनमा बनेपाको फोहोर नयाँ ठाँउमा खसाल्ने काम सुरु हुने बनेपा नगरपालिकाका प्रवक्ता श्याम श्रेष्ठले बताए । उनले फोहोर फाल्ने ठाँउमा जग्गा खरिदको काम अन्तिम चरणमा पुगेको बताए । ‘अब २÷४ दिनमै बनेपाको फोहोर नयाँ ठाँउमा दिर्घकालिन रुपमै व्यवस्थापनको काम हुनेछ’ प्रवक्ता श्रेष्ठले भने । नयाँ ठाँउको खोजीसँगै पुरानो डम्पिङमै केही दिनको लागि फोहोर फाल्न दिने वातावरण सृजना गराउन संघर्ष समितिसँग वार्ता भैरहेको प्रवक्ता श्रेष्ठले दावी गरे ।

बनेपा काभ्रेकै सबैभन्दा पुरानो नगरपालिका हो । स्थापनादेखिनै बनेपालाई नेतृत्व गर्नेहरुले फोहोर व्यवस्थापनको दिर्घकालिन उपाय नसोच्दा त्यसको असर अहिलेसम्म देखिएको छ । फोहोर व्यवस्थापन गर्न नसक्ने यो बनेपाको पहिलो नेतृत्व हैन । स्थापनादेखिनै बनेपाको फोहोरको सही रुपमा व्यवस्थापन हुन सकेको थिएन । त्यसको जिम्मेवारी पंञ्चायतकालदेखिनै बनेपालाई नेतृत्व गर्नेहरुले लिनु आवश्यक छ ।

विगतमा फोहोर व्यवस्थापन हुन नसकेको बिषयलाई लिएर वर्तमान नेतृत्वले दोष अरुलाई लगाएर पन्छिनभन्दा पनि फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि काभ्रे जिल्लामै उपाय खोज्नका निम्ती छिमेकी नगरहरुसँग सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प देखिदैन ।


तपाईको प्रतिक्रिया