विनोद घिसिङ, प्रवक्ता

चौरीदेउराली गाँउपालिका, काभ्रेपलाचोव्क

हक्की, स्वभाव स्पष्ट वक्ता सबैबिच लोकप्रिय विनोद घिसिङ शसस्त्र द्वन्द्वको समयमा माओवादीका जनकलाकार थिए । साविक माझिफेदा गाविसमा जन्मिएका क्रान्तिकारी स्वभाव भएकै कारण माओवादीको शसस्त्र युद्धमा होमिए । उनले युद्धमा धेरै कुरा सिके अनि त्यसलाई व्यवहारमा उर्ताने मौका स्थानीय तहको निर्वाचनपछि पाएका छन् । उनले चौरीदेउराली गाँउपालिकामै सबैभन्दा धेरै मत ल्याएर वडा नं ३ को वडाअध्यक्षमा निर्वाचित बनेपछि उनलाई गाँउपालिकाले समेत चौरीदेउराली गाँउपालिकाको प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ ।

उमेर ३५ बर्षमात्रै पुगेका उनी परिपक्क छन् । सोचेर बुझेर मात्रै निर्णय दिन्छन् । काभ्रेको विकटमध्येको एक गाँउपालिका चौरीदेउरालीमा सिंहदरवार तल्लो तहमा आयो भनेको जसरी काम गर्न सक्ने अवस्था समेत छैन । तर योजनाबद्ध रुपमा कामको थालनी गरेकै कारण चौरीदेउरालीमा विकासको मूलनै फुटेको छ ।

गाँउमा स्वास्थ्य,शिक्षामा छलाङ मारेको छ भने यातायातको संञ्जालले पुरै चौरी देउराली जोडिन लागेको छ । चौरीखोलामा तीनओटा पक्की पुलहरु निर्माण भैरहेका छन् । एक किलो गोलभेडा किन्न दोलालघाट जानु पर्ने स्थानीयहरु गाँउमै आफ्नै बारीमा तरकारी फलाउन थालेका छन् । पशुपालनमा उन्नत नश्लको प्रयोग गरेर उत्पादनमा बृद्धि गराउने कार्यमा लागेका छन् ।

यो सबै काममा घिसिङको टिमले राम्रोसँग काम गरिरहेको छ । सबैभन्दा ठूलो कुरा चौरीदेउराली गाँउपालिकाका प्रमुख दिनानाथ गौतमले युवालाई प्रशस्तै अवसर प्रदान गरिरहेका छन् । त्यो अवसर पाउनेमा विनोद घिसिङ समेत हुन् । गाँउपालिकाले दिएको जिम्मेवारीलाई घिसिङले योजनाबद्ध रुपमा अगाडी बढाएर चौरीदेउराली गाँउपालिकालाई नमूना गाँउपालिकाको रुपमा अगाडी बढाउने काममा घिसिङ परिवार अघि बढेका छन् । उनै घिसिङसँग खबरचौतारी साप्ताहिकका कार्यकारी सम्पादक केशवराज पौडेलले गरेको संवादको अंश :

० तपाईको गाँउपालिकामा विकासमा काम कसरी भैरहेको छ ?

लोकतन्त्र गणतन्त्र त्यसपछि संविधान सभाको निर्वाचन र त्यसले कल्पना गरेको संघियताको आधारमा तीनओटा तहको निर्वाचन सम्पन्न गराउने काम गरेको छ । हामी तीन तहमध्येको तल्लो तर महत्वपुर्ण तहको रुपमा रहेको स्थानीय तहको निर्वाचनपछि त्यसको नेतृत्वमा आएका छौ ।

 

२० बर्षभन्दा लामो संक्रमणपछि जनप्रतिनिधी आएर काम सुरु भएको छ । यो समयमा हामीले बिग्रेको ठाँउमा बनाउने बाहेक थप काम गर्न सकेका छैनौ । तर पनि बिग्रेको छ नराम्रो छ भनेर छाड्ने हैन भनेर हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौ । जसले समग्र विकासलाई छोएको छ ।

 

हाम्रो गाँउपालिका विकासको दृष्टिकोणवाट काभ्रेमा सबैभन्दा पछाडी छ । त्यसमा भौगोलिक विकटताकै कारणले सोचेको जस्तो विकास हुन नसकेको हो । हामी र हाम्रो सिंगो टिमले हाम्रो गाँउपालिका कसरी विकास गराउन सकिन्छ भनेर गुरु योजना बनाएर काम गरिरहेका छौ ।

 

हामीले हाम्रो गाँउपालिकाभित्र सडक संञ्जाल बिस्तारको लागि काम गर्न चौरीदेउराली गाँउपालिका भित्र काम गर्ने गरि स्काभेटर संचालकहरुको सूचीकृत गर्ने काम गरेका छौ । हामीले गरेको सूचीकृत अनुसार एक घन्टाको सबै रकम चार हजार पाँच सय रुपैयामा सडक विस्तारको काम गरेका छौ । यसले हाम्रो चौरीदेउराली हेर्दा विकट देखिएपनि अब हामी आएसँगै सडक संञ्जालमा अब्बल रुपमा अघि बढ्नेछ । त्यसले सम्पुर्ण विकासका पूर्वाधारहरुलाई अगाडी बढाउनेछ ।

 

० सुनकोशी र चौरीखोलामा के भैरहेको छ ?

हाम्रो गाँउपालिकाको स्रोतको रुपमा हामीले चौरी खोला र सुनकोशी नदीलाई हेरेका छौ । त्यहाँ रहेका सामाग्रीहरुलाई वातावरणमा समेत असर नपार्ने हिसावले काम काम भैरहेको छ । त्यहाँको स्रोतलाई कसरी सही रुपमा सदुपयोग गर्न सकिन्छ भनेर हामीले सुरुमै सुनकोशी नदी र चौरी खोलामा प्रारम्भिक वातावरणीय परिक्षण आईईई र अआईई सम्पन्न गरेका छौ । हाम्रो गाँउपालिका भएर मध्यपहाडी लोकमार्गको काम भैरहेको छ । त्यसको निर्माण सम्झौताको आधारमा स्थानीय स्रोतको प्रयोग स्थानीय स्तरवाट गर्ने भनेपछि हामीले सो काम अघि बढाएका छौ । हामीले गाँउपालिकाको आन्तरिक आयस्रोत बढाउनको लागि अधिकतम् प्रयास गरेका छौ । हामीले आय बढेसँगै गाँउको विकास आफ्नो ढंगवाट गर्न सकिने हाम्रो लक्ष्य हो ।

 

० गाँउमा सिंह आयो तर दरवार आएन भन्ने आरोप छ नी ?

हामीले हिजो एउटा व्यवस्थाको परिकल्पना गरेका हौ । त्यो व्यवस्थाले सबै अधिकार तल्लो तहमा पठाउने निर्णय पनि गर्याे । तर अहिले तल्लो तहमा सबै अधिकार आएकी आएनन् । आम जनताले बुझ्नु भएको छ ।

स्थानीय तहमा आएको अधिकारीलाई कसरी प्रयोगमा ल्याउने र त्यसको सफल कार्यान्वयनको कसरी गर्ने भन्ने चरणमा हामी छौ । त्यसले दिएको अधिकारको कार्यान्वयन र त्यसको मूलमन्त्र अनुसार लागु भयो की भएन भन्ने अहम् प्रश्न हामीमाझ रहेको छ । हामीले बुझेको कुरा के हो भने अझै सबै अधिकार गाँउमा आउन सकेको छैन । त्यो व्यवस्थाको अझैपनि संक्रमणकाल छ ।

हामीले निर्वाचनमा भाषण गरेका थियौ, जनतालाई झुक्याएको जस्तो भएको छ । तर हामीले केही पनि ढाँटेको र जनतालाई गुमराहमा राख्ने काम भएको छैन । हामीलाई हिजो केन्द्रीय सरकारले आश्वासन दिएको थियो । हिजो सबै कार्यालय जिल्लामा नरहने कुरा थियो । तर अहिले जिल्लामा एउटा एउटा कुराको बहानामा जिल्लामै कार्यालय रहने गरि छलफल चलेको छ । त्यसले के परिकल्पनाले संविधान जारी भएको थियो । स्थानीय तहको निर्वाचन भएको थियो । त्यो कुरा पुरा हुन सकेको छैन । जनताको विश्वासमा ठेस पुग्ने काम भएको छ ।

हामीले गरेको कल्पनाभन्दा ठिक्क उल्टौ भैरहेको छ । हामीले भनेको मालपोत,नापी, कृषि र पशुको सेवा गाँउमा आउन नसक्दा हामीलाई सिंह आएको र दरवार नआएको भनेर लगाएको आरोप कसरी पुष्टि होला । जनताकै गुनासा भएपछि हामीले गुनासो कहाँ गएर गर्ने ।

हामी आफै समस्यामा भएको समयमा कसरी सिंह बन्न सकिन्छ होला । अझैपनि जिल्लामानै कृषि ज्ञानकेन्द्रको नाममा शिक्षा इकाइको नाममा भेटेरीनरी अस्पतालको नाममा पुराना सबै कार्यालय कायम हुँदा जनताले पाउने सेवा कसरी पाउन सक्छन् ।

अहिले एकातिर अधिकार तल दियो जानेर भनेर जनतालाई भ्रम पार्ने काम भैरहेको छ भने अर्काेतिर अहिले गाँउपालिकाभित्र शिक्षकको आवश्यकता गरेर शिक्षक नियुक्ती गर्नु प¥र्याे भने गाँउपालिकासँग सरोकार नरहने स्थिती छ । सबै हेर्नुपर्ने चाही गाँउपालिकाले अनि काम चाही धुलिखेलवाट भएर आउँछ । अनि कहाँ आयो सिंहदरवार हामीलाई देखाउनु पर्याे नी ? यसको उत्तर कोहीसँग पनि छैन । हामीलाई अधिकार दिएको भनेर हल्ला फैलाएर हात गोडा बाँध्ने काम भएको छ ।

 

० तपाईले यो दावी गरिरहँदा तपाईकै गाँउपालिकाको सेवा कार्यालयको रुपमा धुलिखेलमा कार्यालय छ नी ?

बाहिर आएको जस्तो कुरा केही पनि हैन । हाम्रो जिल्लाका धेरै महत्वपुर्ण कार्यालय समेत धुलिखेलमा रहेको कारणले हामीले केही सेवा दिने हिसावले धुलिखेलमा सम्पर्क हुने हिसावको सामान्य भेटघाट गर्ने ठाँउ होला । तर अहिले नीजि आवासका काम भैरहेको कारणले सबै बैंकहरु धुलिखेलमा रहने र बैंङ्गिक कारोवार उतैवाट हुने भएकाले हाम्रा उपस्थिती यता पनि देखिएको हो । तर बाहिर आएको जस्तो केही पनि हैन ।

जनताको कामलाई सहज बनाउन एकाध वडाहरुले सेवा दिने कुरा रहेको छ । तर अहिले भनेजस्तो कामनै उता हुने यता केही पनि नहुने भन्ने छैन । हामीले कोशीपारिवाट सम्पुर्ण सेवा दिएका छौ । अझ भर्खरै कार्यपालिकाको बैठकले सम्पुर्ण सेवाहरु वडा कार्यालयवाट अनिवार्य रुपमा गर्ने निर्णय समेत गरेको छ । हामीले वडामा के आवश्यक रहेको छ । के पुगेर प्रत्येक वडामा कम्युप्टरको व्यवस्था, फ्रि वाईफाइको व्यवस्था समेत मिलाउन लागेका छौ ।

 

० तपाईको स्थानीय तहमा बैैंक छैन र ?

बैंक हिजो एक गाँउपालिका एक बैंकमा हाम्रोमा एनसीसी बैंक स्थापना भएको छ । यसको एउटा प्रकृया छ । यसले सबै काम गर्न सक्छ की सक्दैन । पुन निर्माणको सबै भुक्तानी गाँउवाटै हुनु पर्याे नी ।

अहिले हाम्रो चौरीदेउरालीमा एक वडा एक बैंक रहेका छन् । त्यो भनेको भुकम्पको पैसा लिन एक एक वडाका फरक फरक बैंक छन् । त्यो ठूलो समस्या रहेको छ । गाँउपालिकाको सबै बजेटको काम गर्न सक्छ की सक्दैन बैंकले । हामीले आफ्नो गाँउमा आएको बैंकको स्वागत गरेका छौ । योजना सुनाएका छौ । तर उतावाट सबै कुरा आएको छैन । त्यसैले बैकिङ कारोबार अझैपनि गाँउवाटै भएको छ ।

 

० जनप्रतिनिधी कर्मचारी वा सेवक हुन् ?

तपाईहरुलाई के लाग्छ । हामी जनताले मतदान गरेर निर्वाचित भएको व्यक्ति कर्मचारी कसरी होला । यो हामी जनप्रतिनिधीलाई कमजोर पार्ने खेलमात्रै हो ।

जनप्रतिनिधीका आफ्नै पिडा छन् । जनताका समस्या छन् । यस्तो अवस्थामा संक्रमणकालको फाईदा उठाउँदै जनप्रतिनिधीमाथि हिलो छ्याप्ने काम भैरहेको छ ।

अधिकार प्रत्यायोजनको कुराले पनि जनप्रतिनिधीले पाउनु पर्ने सबै अधिकार पाएका छैनन् । कागजमा सिफारिसमा हस्ताक्षर गर्ने मात्रै हाम्रो काम हैन । विशेष गरेर वडा अध्यक्षहरु पुनः निर्माणको काम तथा त्यसवाट उत्पन्न भएका समस्याहरुको समाधान गर्ने काममा हामी लागेका छौ । त्यो कस्तो गाह्रो काम छ पुन निर्माण प्राधिकरणलाई थाहा छ । तर हामी जिम्मेवारीवाट कहिल्यै पनि बिचलित भएका छैनौ ।

हामीलाई सबै अधिकार र कार्यालय तल गयो भनिएको छ । तर सबै अधिकार तल गएको अवस्था पनि छैन । सबैतिर बिचमा राखेर काम गर्दा अवस्था जटिल रहेको छ । हामीलाई पाएको अधिकार हामीले पुर्ण रुपमा कार्यान्वयन गरेका छौ । तर नदिएको अधिकार हामीले कसरी पुरा गराउ ।

 

० तपाईको गाँउपालिकामा कति प्रतिशत पुन निर्माण सकियो ?

अहिले चौरीदेउराली गाँउपालिकामा राम्रोसँग अघि बढेको छ । नेपाल सरकारले समेत कडाईका साथ जानु पर्ने भएकाले सरकारले निर्देशन अनुसार हामीले काम गरेका छौ । हामीले तोकेको समयमा हामीले काम सम्पन्न गर्ने अवस्था गरेका छौ । हामीले ८ सय ३६ धरधुरीका ४ सय ५० भन्दा धेरै काम सम्पन्न भएको छ ।सरकारले पनि पौष मसान्तमा डिपिसी गर्ने कुरा गरेको छ । डिपिसी मात्रै धेरै किन भयो भन्दा कामदारको अभाव हो । एउटै टोलीले ३० ओटा घर डिपिसी गर्नु पर्छ । हाम्रोमा अहिले राम्रोसँग काम भैरहेको छ ।

शहरमा समेत कामदारको अभाव धेरै रहेको समयमा गाँउमा कसरी दक्ष कामदार पाउन सकिएला । अघिल्लो बर्ष कारितास नेपालले दक्ष कामदार उत्पादन गर्नको लागि सिकर्मी र डकर्मीको तालिम दिएपछि कामदारको अभाव कम भएपनि अझैपनि कामदारको अभावमा जुन गतीमा पुनः निर्माणको काम अघि बढ्नु पर्ने हो सो अनुपातमा काम भैरहेको छ ।

 

० जनआन्दोलनको उपलब्धी गणतन्त्र संघियता अनि स्थानीय निकायले दिएको उपलब्धी के ?

हामी लामो समयसम्म स्थानीय जनप्रतिनिधी विहिन अवस्थामा रहेका थियौ । त्यो समयमा के कस्ता काम भए घामझै छर्लङ्ग छ । स्थानीय निकायको निर्वाचन जनताको आन्दोलनको उपलब्धी हो । निर्वाचनपछि हिजो अव्यवस्थित संरचना व्यवस्थित हुन थाल्यो । त्यो भित्र रहेर जनताको आधारभुत आवश्यकतामाथि जनताको क्रमागत योजनाहरुलाई हामीले हल गर्ने प्रयास गरेका छौ । अरुको स्थानीय तहमा के परिर्वतन भयो हामीलाई जानकारी छैन तर हाम्रो ठाँउमा जनताले प्रत्यक्षरुपमा उपलब्धी पाउने हिसावले हामीले काम गरिहेका छौ । हाम्रो गाँउपालिकामा के के काम भएका छन् । त्यसको उत्तर जनताले दिनेछन् । खानेपानी, सडक,शिक्षा र वातावरण संरक्षणमा हामीले गरेको काम हाम्रा जनतालाई सोध्यो भने उहाँहरुले बताइदिनु हुन्छ ।

 

० कर्मचारीको सहयोग कस्तो छ ?

हामीले कार्यपालिकामा निर्वाचित भएर आएपछि पहिलो बैठकमा कर्मचारी र हाम्रो सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भनेर प्रयास थालेका छौ । सेवा सुविधासँगै उहाँहरुको आवश्यकतामा हामीले सकेको जत्ति सहयोग गरिरहेका छौ । त्यो समयमा हामीले उठाएको कुरा अहिले क्रमशः प्रमाणित भैरहेका छन् । ती कुराहरु अहिले राष्ट्रिय समाचारमा आएको कुरा के छ भने कर्मचारी विच तालमेल हुन नसकेको कुरा आएको छ । त्यो कुरा मैले एक बर्ष अघिनै भनेको कुरा हो ।

एउटा गाविस सचिव कति बर्ष अध्यक्षको भुमिका पायो । एउटा सचिव त्यो बेलाको गाविस अध्यक्ष । उसले लामो समय गाविस चलायो । उसले सबै सेवा सुविधा लियो । स्थानीय निर्वाचनको चुनाव पछि किन गाँउ छाडेर हिडे । उहाँहरु चुनाव पछि हिड्नु भयो । किन भागाभाग गर्नु भयो उहाँहरुले । भनेपछि उहाँहरुले हामी आएपछि पाउने सेवा सुविधा खोसिने त्रासले हिड्नु भएको हैन । उहाँहरुको सेवा कस्तो रहेछ । तर सबै सचिव त्यस्ता रहेनन् । धेरैले अझैपनि साविककै बडामा काम गरिरहनु भएको छ ।

 

० कर्मचारी व्यवस्थापनमा कस्तो योजना बनेको छ ?

कर्मचारीको तलब सेवा सुविधा राज्यले तोकेको छ । सुगम र दुर्गमको आधार हेरेर कर्मचारीलाई दिन आवश्यक रहेको सेवा सुविधा हामीले दिएका छौ । हामी र कर्मचारीको भावनात्मक कुरामा केही छैन । यो समग्र राज्यको समस्या हो । तर अहिले हाम्रो गाँउपालिकामा कर्मतचारीको अभावमा काम रोकिएको छैन । कर्मचारीहरु नियमित रुपमा गाँउमै बस्नु भएको छ । सेवा दिनु भएको छ ।

 

० व्यावहारिक रुपमा विकासमा समस्या के छ ?

राजधानीसँग नजिक रहेरपनि ठूलो समस्याको रुपमा कोशीपारिमा सडक समस्या रहेको छ । सडक भनेकै विकासको आधार रहेछ । हामीलाई ट्याक्र खोल्ने मात्रै हैन । १२ महिनानै सडकमा गाडी चल्ने सडक निर्माण गरिरहेका छौ ।

कोशीपारिका दुईओटा रोड प्राथमिकतामा दोलालघाट चौवास,झुले, ढाडखर्क सडकमा कालोपत्रे हुने काम भैरहेको छ । दोलालघाट ढाडखर्क गुराँसे सडक निर्माणको लागि एडिबीले निर्माणको जिम्मा लिएको छ । गाँउपालिकाले कुन वडामा गाँउपालिकासँग जोडिने सडकलाई योजना बनाएर काम गरेका छौ । त्यसमा राम्रोसँग काम भैरहेको छ । हामीले त्यतीमात्रै नभएर चौरीदेउरालीभित्र रिङरोडका लागि छुट्टाएका छौ । त्यो काम धमाधम भैरहेको छ ।

 

० शिक्षाको विकास कस्तो भैरहेको छ ?

कोशीपारिमा विगतदेखिनै शिक्षित जनशक्तिको उत्पादन हुने थलो हो । हामीले समेत कोशीपारिलाइ शैक्षिक हवको रुपमा विकास गरिरहेका छौ । गाँउवाट शहरमा बसाई सर्ने कारणले विद्यार्थीको संख्यामा कमी आएपनि हाम्रो गाँउपालिकामा शिक्षाको ठूलो फड्को मारेको छ ।

गाँउपालिकाभित्र भुगोलको आधारमा शिक्षाको संञ्जाल बनेको छ । हामीले आईटीको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौ । मादनकुँडारीमा रहेको सृजनशिल माविमा आइटी अध्ययन गर्न सकिन्छ । यसले आइटी पढ्न शहरसम्म जानुपर्ने बाँध्यताको अन्त्य भएको छ ।

कृषिको आइस्सी पढ्न खाँडादेवी माविमा सुरु भएको छ । अघिल्लो बर्षवाट सुरु भएको शिक्षा लिने क्रम यो बर्ष १० कक्षामा पुगेको छ । अब निरन्तर रुपमा कक्षा १२ सम्म कृषिमा आईएस्सी गाँउवाटै अध्ययन गर्न सकिन्छ ।

हामीले लामो समयदेखि काभ्रेको कोशीपारिको रहेको जागृती माविमा १५ महिनाको कृषि जेटिएको अध्यापन सुरु गरेका छौ । हाम्रो काभ्रे विकट भनेर भनिन्छ नी तर त्यस्तो हैन हाम्रो स्कूल जागृती माविमा १५ महिनाको कृषि जेटिए अध्ययनका लागि रोल्पा,रुकुम जाजरकोटवाट समेत विद्यार्थीहरु पढ्न आउने गरेका छन् ।

प्राविधिक शिक्षामा हामीले ध्यान केन्द्रीत गरेर अध्ययन गराउने काम गरेका छौ । सरस्वती मावि गोठपानीमा पशु भेटेरिनरी अध्ययन सुरु भएको छ ।

हिजो हामी विज्ञान पढ्न काठमाण्डौ जानु पर्दथ्यो । तर अब साईन्स पढ्न काठमाण्ठौं जानु पर्दैन प्रभा उमावि बिज्ञानको कक्षा सुरु भएको छ । त्यसको लागि हामीले जनशक्ति नभएको ठाँउमा व्यवस्थापन गरेको छ । भैरहेकोलाई व्यवस्थित गरेर अघि लाने कुरा भएको छ । पूर्वाधार प्रयोगशालानै बनाउने कामम भएको छ । शिक्षामा अब्बल रुपमा अघि बढेको छ ।

 

० स्वास्थ्यको अवस्था कस्तो रहेको छ ?

विगतका स्वास्थ्यचौकीवाट हामीले सेवा प्रदान गरेका छौ । सुत्केरी गराउन शहर जानु पर्ने अवस्था छैन । सबै खालका सेवा कोशीपारिमै सुरु भएको छ । त्यसको अलावा सामुदायिक अस्पतालले सेवा प्रदान गरेको छ ।

भर्खरै सरकारले एक गाँउपालिका १५ शैप्याको अस्पतालको निर्णय अनुसार काम गरिरहेको छ । डाक्टरको नियुक्ती भएको छ । हामी अब गाँउपालिकामै डाक्टरको सेवा सहितको अस्पताल स्थापना गर्ने चरणमा छौ ।

 

० गाँउपालिकाका गौरवका आयोजना के के हुन् ?

हामीले सडक, कृषि, पशुपालन र पुर्वाधारसँगै शिक्षा र स्वास्थ्यलाई अघि बढाएका छौ । त्यसमा केही जटिलताहरु समिेत रहेका छन् । हामीले अहिले कृषि उत्पादनमा जोड दिएका छौ । गाँउमा मान्छे छैन । त्यसका लागि हाम्रो ध्येय भनेको सामुहिक उत्पादन हो । पशुमा समेत सामुहिक उत्पादनमा हाम्रो जोड रहेको छ । उत्पादन कृषकहरुले गरेमा हामीले हरेक बडामा कृषि उपज संकलन केन्द्र मार्फत बजारसम्म उत्पादन लाने योजना बनाएका छौ । हामीले कृषिमा उन्नत प्रयोग ल्याउन र रैथाने बिउको संरक्षण गदैै अघि बढाउन कृषि पाठशालाको अवधारणा समेत सुरु गरेका छौ । उन्नत नश्लको विस्तारको लागि हामीले बिज कार्यक्रम समेत सुरु गरेका छौ ।


तपाईको प्रतिक्रिया