काठमाडौं : निर्मला पन्त हत्या प्रकरणबारे छानविन गर्न गठित  समितिले आइजीपी सर्वेन्द्र खनालसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक  धिरु बस्न्यात नेतृत्वको छानविन समितिले सोमबार आइजीपी खनालसमक्ष प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा बलात्कारपछि हत्या गरेर फालिएकी निर्मला पन्तको विषयमा अनुसन्धान गर्ने प्रहरी कर्मचारी र उनीहरुको भूमिकाउपर छानविन गरिएको विषयलाई समेटिएको छ । सो घटनालगत्तै अनुसन्धान र अनुसन्धानमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूको भूमिका माथिनै शंका उब्जिएपछि प्रहरीले बस्न्यातको नेतृत्वमा २०७५ भदौ ३१ गते उक्त छानविन समिति गठन गरेको थियो ।

कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–२ बस्ने १३ वर्षीया निर्मला पन्त साउन ११ गते सोही नगरपालिका– १८ स्थित उखुवारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । सो हत्याकाण्डबारे अहिलेसम्म सत्य–तथ्य बाहिर आउन सकेको छैन ।


तपाईको प्रतिक्रिया