काठमाडौं : शनिबारदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सोमबारबाट सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् ।

सोमबारको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । बोल्नेमध्ये अधिकांश  नेताहरु नेतृत्व (अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड) विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

बैठकमा बोल्ने क्रममा नेता घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको भन्दै सरकार र नेतृत्वको कडा आलोचना गरे । उनले पार्टी नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके पार्टीलाई ठूलो नोक्सान पुग्ने खतरा औंल्याए ।

बैठकमा सहभागि एक नेताका अनुसार नेता हरिबोल गजुरेल र अग्निप्रसाद सापकोटा नेतृत्वको सवालमा केही नरम जस्तो देखिएपनि सरकारको ‘परफर्मेन्स’को सवालमा भने खुलेर विरोधमा उत्रिएका थिए । उनीहरुले नेतृत्वले आत्मआलोचना गर्दै पार्टीलाई एकजुट भएर अघि बढाउन पहल गरिनुपर्नेमा जोड दिएका थिए ।

यस्तै नेता बामदेव गौतम आफैंले पूरक प्रस्तावको रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्यामा केन्द्रीत रहेका थिए । उनको प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिइएको छ ।                                                                          


तपाईको प्रतिक्रिया