काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिवार १ बजे स्थायी कमिटी बैठक बस्दै छ । त्यसअघि नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ ।

वालुवाटारमा बसिरहेको सचिवालय बैठकमा नेता वामदेव गौतमले भिन्दै प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । सचिवालय सदस्यसमेत रहेका नेता गौतमले उक्त प्रतिवेदन स्थायी कमिटीको बैठकमा पेश गर्ने तयारी गरेको उनी निकट एक स्रोतले बतायो ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट साझा प्रस्ताव पेश गर्ने तयारी गरिरहेको बेला नेता गौतमले आफ्नो तर्फबाट भिन्दै प्रतिवेदन पेश गर्न थालेका हुन् ।

नेता गौतमले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वयओली र प्रचण्डलाई बुझाईसकेका छन् ।

अध्यक्षद्वयलाई बुझाएको प्रतिवेदन पहिला सचिवालयमा र त्यसपछि स्थायी कमिटीमा बुझाउने गौतमको तयारी रहेको उनी निकट नेकपा एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेता गौतमले प्रस्तुत गरेको प्रतिवेदन सचिवालयको बैठकमा अध्यक्षद्वयले तयार गरेको दस्तावेजमा नसमेटेको हकमा उक्त प्रतिवेदन स्थायी कमिटीमा प्रस्तुत गर्ने छन् ।

मंसिर २२ गते बसेको नेकपाको सचिवालय बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले समयमा ध्यान नदिएको भन्दै गौतमसहित माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले बैठक नै बहिस्कार गरेका थिए ।

गौतमको प्रस्तावमा पार्टीलाई विधि अनुसार चलाउनुपर्नेदेखि सरकारको कामको समीक्षासम्म समेटिएको छ । गौतमको प्रस्तावले बैठकमा प्रवेश पाए नेकपाभित्र फरकमतसहितको प्रतिवेदन पेश भएको पहिलो घटना हुनेछ ।

यसअघि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए ।


तपाईको प्रतिक्रिया