• (सुरज श्रेष्ठ)

धुलिखेल । काठमाण्डौ विश्वविद्यालयको २४ औं दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ । विश्वविद्यालयको प्राङ्गण धुलिखेलमा चीनका वरिष्ठ वैज्ञानिक तथा सन यात्सेन विश्वविद्यालयका प्रेसिडेन्ट प्रो. जुन लुओको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सन यात्सेनले नेपाल र चीनको लामो समयदेखिको मित्रतालाई दीक्षित विद्यार्थीले थप उर्जा थप्ने बताए ।

दिक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं केयुका सहकुलपति गिरीराजमणि पोख्रेलको उपस्थितिमा भएको कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुले स्वागत मन्तब्य राखेको थियो । कार्यक्रममा मेनेजमेन्ट, साइन्स, इन्जिनियरिङ, आर्टस् र शिक्षा संकायका, पिएचडी, एमफिल सहित स्नातक र स्नात्तकोत्तर तहका १ हजार ३ सय जना दिक्षित भएको छ ।

दिक्षित हुनेमा मेनेजमेन्टका ४ सय ५१ जना, साइन्सका २ सय ५७ जना, इन्जिनियरिङका २ सय ७९ जना, आर्टस्का २ सय २७ जना, शिक्षा संकायका १ सय ४७ जना रहेका छन् । दिक्षित हुने विद्यार्थीहरुमध्ये पुरुष ५३.६४ प्रतिशत अर्थात ७ सय ३० जना र महिला ४६.३६ प्रतिशत ६ सय ३१ जना रहेको विश्वविद्यालयले जनाएको छ ।

दिक्षित हुने विदेशी विद्यार्थीहरु अष्ट्रेलिया, भुटान, क्यानाडा, फ्रान्स, जर्मनी, भारत, पाकिस्तान, आयरल्याण्ड, वेलायत र अमेरिकाका विद्यार्थी गरी १० देखि २० जनासम्म रहने समेत जनाइएको छ । काठमाण्डौ विश्वविद्यालयको इतिहासमा पहिलो पटक नेपाली र इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स गरी २ विधामा पिएचडी उपाधी समेत प्रदान गरिएको छ । २४ औं दिक्षान्त समारोह सम्ममा गरी काठमाण्डौ विश्विद्यालयबाट २८ हजार ७ सय ९४ जना दिक्षित भैसकेको विश्वविद्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया