पनौती । प्राकृतिकसँगै विभिन्न रोग सुन्तलाको बोटमा लाग्दा विगत केही बर्षदेखि काभ्रेमा सुन्तलाको उत्पादन घट्दै गएको छ । फोहोरसम्म लटरम्म फल्ने सुन्तला यो बर्ष कम फलेपछि सुन्तलाको बिक्रीको मुख्य सिजनमा किसानहरुमा चिन्ता थपिएको हो ।

काभ्रेको शंखु उपत्यका आसपास, नमोवुद्ध ,पनौती, बल्थली, शारदाबतासे, कुशादेवी, रयाले, पस्थली र खरिबोट लगायतका स्थान सुन्तला उत्पादनको पकेट क्षेत्र रहेका छन् । तर किसानका बोटहरुमै समस्या आउन थालेपछि काभ्रेमा सुन्तला उत्पादनमा गिरावट आउने भएको हो ।

काभ्रेमा उत्पादित सुन्तलाको मुख्य बजार राजधानी काठमाण्डौंनै हो । काभ्रेमा उत्पादन भएको कुल उत्पादनको १० प्रतिशत स्थानीय बजारमा खपत हुने गरेको छ भने काठमाण्डौंमा ९० प्रतिशत बिक्री हुने गरेको छ । काभ्रेमा एक सिजनमा १० करोडभन्दा धेरैको सुन्तला बिक्री हुने लामो समय काभ्रेको साविक जिल्ला कृषि विकास कार्यालयमा काम गरेका कृष्ण धितालले बताए ।

‘रुख रोपेपछि आवश्यक स्याहार नगर्दा काभ्रेमा सुन्तला उत्पादनमा कमी आउन थालेको छ ’धितातले भने । बोटहरु पुराना हुन थालेकै कारण टुप्पोवाट कुहिने,ऐजेरु फैलदा उत्पादनमा कमी आएको धितालले बताए । सुन्तलालाई नियमित स्याहार आवश्यक पोषण र पानीको मात्रा पु¥याउन नसक्दा काभ्रेमा सुन्तला उत्पादनमा कमी आएको धितालले बताए ।

काभ्रेको रयालेका किसान ऋषिराम सापकोटाले आफ्नो बगानमै ऐजेरीले समस्या पारेको कारणले उत्पादनमा कमी आएको बताए । सुन्तलालाई तरकारी खेती जसरी समय दिन पनि नसक्ने र नियमित रुपमा राम्रो उत्पादन नदिएको कारणले अब सुन्तलाको विकल्प खोज्ने तयारीमा आफूहरुले लागेको उनले बताए ।

काभ्रेको शंखुपाटीचौरका किसान मुकुन्द आचार्यले सुन्तलाको बोटमा फर फरक संक्रमण लाग्ने कारणले यो बर्ष सुन्तला उत्पादनमा भारी रुपमा गिरावट आएको बताए ।

यो बर्ष प्रकृतीले समेत कृषकहरुलाई ठगेको किसानहरु बताउँछन् । सुन्तलाको फूल फुलेर फल लाग्ने वेलामा झरी पर्नुका साथै असिनाले फल झारेका कारण राम्रो दाना नबसेको किसानहरुको अनुभव छ । फल लाग्ने समयमा असिनाले क्षति पु¥याएको कारणले उत्पादनमा कमी भएको होला कृषक आचार्यले सुनाए ।

सुन्तला बेचेर छोराछोरी पढाउने र घरपरिवार चलाउने किसानहरुको योजना यो बर्ष पुरा हुन नसक्ने अवस्थामा देखिएको छ । हरेक एक बर्ष बिराएर अर्काे बर्ष धेरै सुन्तला उत्पादन हुने भएपनि यो बर्ष सुन्तला फल्ने बर्षमा समेत सुन्तला नफल्दा किसानहरुमा चिन्ता थपिएको छ ।

२०७० सालमा आएको महाभुकम्पपछि काभ्रेमा सुन्तला उत्पादनमा कमी आएको थियो । किसानहरुले घर गोठनै भत्किएको कारण खेतीमा ध्यान दिन सकेका थिएनन् । विस्तारै जिविकोपार्जनतिर अघि बढेका किसानहरुले सिंचाई र सुन्तलाको बगानको सुधार गरेपनि उत्पादन घट्दा समस्या परेको बताउन थालेका छन् ।

काभ्रेको पाँचखालका किसानले माघ फागुन लागेपछि मात्रै छोराछोरीको विद्यालयको शूल्क बुझाउने गर्दछन् । त्यस्तै सुन्तला उत्पादन हुने ठाँउका किसानले सुन्तला बेचेपछि मात्रै छोराछोरी पढाएको शूल्क बुझाउने गर्दछन् । घरपरिवार चल्ने सुन्तला उत्पादनमा कमी आएपछि किसानहरुमा पछिल्लो समय समस्या बढेको छ ।

  • आजको  खबर चौतारी साप्ताहिकमा प्रकाशित 

तपाईको प्रतिक्रिया